असिनाले किवि बालीमा क्षति
किवि उत्पादन हुने प्रमुख स्थान इलामको सन्दकपुर ३ स्थित तालगाउँ (किवीवस्ती), जीतपुरे र पुवामझुवा क्षेत्रमा असिनाले व्यापक क्षति पुर्याएको छ । फूल्न र चिचिला बस्न सुरु गरेको किवि फलमा गत वैशाख १५ गते परेको असिना पानीले क्षति पुर्याएको हो । जिल्लाका केही स्थानमा आएको असिनाले किविबाहेक चिया, मकै, तरकाली बालीमा समेत असर गरेको छ ।
जिल्लाको किवि उत्पादन क्षेत्र लक्षित गरी आएको असिनाले किवि बालीमा व्यापक क्षति पुर्याएको किसान ठाकुर खतिवडाले बताए । उनका अनुसार एकैपटक धेरै क्षति पुर्याउने गरी विगत १४ वर्ष यताकै ठूलो र धेरै असिना आएको उनको भनाइ छ । पानीसँगै आएको ठूलो असिनापातबाट फूल खेल्दै गरेको किवि र बिरुवामा विशेष क्षति पुर्याएको किसान तारामणी खतिवडाले बताए ।
किविसहित अलैंची र चियामा असिनाले क्षति पुर्याएको छ । तरकारी बाली र आलुबालीमा पनि क्षति पुगेको छ । जिल्लाको सन्दकपुर गाउँपालिका, देउमाई नगरपालिका र इलाम नगरका केही क्षेत्रमा असिनाको असर देखिएको छ । असिनाले घर र गोठका जस्ताका छाना प्वाल पारेको किसानहरुको भनाइ छ ।
असिनाले पुर्याएको क्षतिले आगामी वर्ष किवि उत्पादन घट्ने मात्र नभएर सो क्षेत्रमा उत्पादन नै शुन्य हुने अवस्था आएको सो क्षेत्रका किसानहरुको भनाइ छ । किसान बेनुप खतिवडाले ठूलो लगानी गरेर विरुवा उत्पादन गर्न सुरु गरिए पनि असिनाको क्षतिबाट समस्या भएको बताए । तीन तहका सरकार भए पनि क्षतिबारे कुनै सरकारले पहल नगरेको किसानहरुको भनाइ छ । सरकारले यस विषयमा किसानहरुको क्षतिको तथ्यांक लिएर सहयोग गर्नुपर्ने पीडित किसानको भनाइ छ ।
। फूल फूल्ने सिजनमा असिनाले किवि पूर्ण क्षति गर्नेे भएकाले राहतका कार्यक्रम ल्याउन किसानको माग रहेको छ । कृषि बालीमा बिमा र बाली संरक्षणका लागि अनुदान प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने किसानको भनाइ छ । बिमा र बाली संरक्षणमा प्रभावकारी काम नहुने गरेको किसानहरुको भनाइ छ । बिमा र बाली संरक्षणमा किसानको क्षति अनुसारको मूल्यांकन भए नभएको र किसानले पाए नपाएको सरकारी क्षेत्रबाट अनुगमन हुनु पर्ने उनीहरु बताउँछन् ।
कृषि ज्ञान केन्द्र इलामले असिनाको क्षतिबारे तथ्यांक संकलन सुरू गरेको छ । जिल्लाका करिव एक हजार ६ सय रोपनी क्षेत्रमा लगाइएको किवि बालीमा क्षति भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाको भनाइ छ । उनले तथ्यांक लिएर माथिल्लो निकायमा पठाउने र राहतका लागि पहल गर्ने समेत बताएका छन् ।