५० लाख बराबरको काठ खेर जाने अवस्थामा
सडक निर्माण गर्ने क्रममा काटिएका रुखका काठ समयमै व्यवस्थापन नहुँदा ५० लाख बढीको काठ खेर जाने अवस्थामा पुगको छ । चरिकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक विस्तारको क्रममा काटिएका वन क्षेत्रको काठ खेर जान लागेको हो ।
सडक विस्तारको क्रममा विभिन्न वन क्षेत्रबाट १७ हजार क्युफिट काठ निस्केको छ । सडक विस्तारको क्रममा रुख काटेर निर्माण व्यवसायी आफैंले घाटगद्दी गरेको छ । त्यसको व्यवस्थापन नहुँदा बेवारिसे काठजस्तै बनेको हो ।
२०४४ साल अगाडि सडक निर्माण हुँदा सडकको दुवै किनाराको ३० मिटर चौडाइ जग्गा सडककै नाममा ल्याएको थियो । सडकको आफ्नै नाममा भएको जग्गाको काठ सामुदायिक वनको नहुने भएपछि कानुनी रूपमा उपभोक्ता समितिले पाएनन् । सिमाना समूहलाई हस्तान्तरण गरेको वन क्षेत्र भए पनि सडकको जग्गाको सार्वजनिक नै भएको डिभिजन वन कार्यालय चरिकोटका प्रमुख शिवप्रसाद सापकोटाले बताए ।
सडक विस्तारका क्रममा काटिएका काठ व्यवस्थापनका लागि दुई पटक लिलामीको सूचना निकाल्दा पनि बिक्री हुन नसकेको सापकोटाले बताए । २ वर्षअघि काटिएका काठहरू कुहिने अवस्थामा पुगेका छन् । यो वर्षात्अघि व्यवस्थापन गर्न नसक्ने हो भने अब दाउरामा पनि काम नलाग्ने अवस्थामा पुगेको प्रमुख सापकोटाको भनाइ छ ।
लिलामी हुन नसकेका काठ सम्बन्धित क्षेत्रको सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको उनले बताए । कानुनी झण्झटका कारण टिप्पणी उठाएर बागमती प्रदेश उद्योग, वन मन्त्रालयमा पठाएको छ । मन्त्रालयबाट निर्णय हुने बित्तिकै समूहलाई काठ हस्तान्तरण गर्ने डिभिजन वनको योजना छ ।
चरिकोटदेखि जिरीसम्मको सडक क्षेत्रमा ९ वटा वन उपभोक्ता समूह रहेका छन् । उपभोक्ता समूहलाई दिँंदा आफ्नै उपभोक्तालाई समूहले दिन्छ । काठ कुहाएर फाल्नुभन्दा समूहलाई हस्तान्तरण गर्नु नै उपयुक्त देखिएको छ ।
सडक किनारमा काटिएका अधिकांश रुख सल्लो र उत्तिसका छन् । तिनको प्रचलित बजार मूल्यअनुसार ५० लाखभन्दा बढीको छ । केही ठाउँमा केही दिनअघि वनमा डढेलो लाग्दा घाटगद्दी गरिएका ती काठसमेत जलेका छन् । सडक किनारको चरिकोटदेखि नाम्दूसम्मको वन क्षेत्रमा यस वर्ष डढेलो लागेको छ ।
यस वर्ष लामो समय खडेरी परेकाले पनि धेरै वन क्षेत्रमा डढेलो लागेको छ । कानुनी रूपमा कारबाही फितलो हुँदा ९० प्रतिशतभन्दा बढी डढेलो मानवीय कारणले लागेको वन अधिकारीहरू नै स्वीकार्छन् । डढेलोका कारण वन्यजन्तु र चराको बासस्थान पनि नष्ट भएको छ ।