गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुचारु गर्न पहल «

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुचारु गर्न पहल


गण्डकी प्रदेशसभाको स्थगित भएको विशेष अधिवेशन बोलाउने विषयमा बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने निर्णय भएको छ । सभामुख नेत्रनाथ अधिकारीले मंगलबार दलका नेताहरुलाई सर्वदलीय बैठकमा बोलाएर छलफल गरेपछि उक्त बैठकले बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने विषयमा सहमति भएको नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।
वैशाख १५ गतेदेखि स्थगित भएको गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बिहीबार बस्ने कार्यव्यवस्था परामर्श समितिले मिति तय गर्न सक्ने भएको नेपालीले जनाए । उनका अनुसार थप छलफल गर्न इच्छुक पार्टीले बुधबारसमेत सभामुख अधिकारीसँग छलफल गर्न सक्नेछन् । मंगलबारको बैठकमा प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान, राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र जनता समाज पार्टीका हरिशरण आचार्यलगायतको सहभागिता रहेको थियो ।
वैशाख १५ गते प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची समेत भएको दिन राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही हराएपछि स्थगित भएको विषेश अधिवेशन एक सातादेखि पुनः सञ्चालन हुन सकेको छैन। विषेश अधिवेशन सञ्चालनकै क्रममा सभामुख अधिकारीले २० मिनेटको लागि स्थगित गरेको अधिवेशन केही घण्टापछि जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले हराएका सांसद शाहीको खोजी गरी सार्वजनीक गरेर मात्र सदन अघि बढाउन दिएको निवेदनको आधारमा सदन स्थगित गरेका थिए ।
स्थगित भएको विषेश अधिवेशन बोलाउने विषयमा सोमबार संसद् सचिवालयमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्न सकेको थिएन। वैशाख १५ गते हराएका भनिएका सांसद शाही चरक मेमोरियल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अहिले अस्पताल नजिकैको एक होटलमा बस्दै आएको जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले बताइन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव पारित हुन ३१ मत आवश्यक पर्छ । ३ जना सांसद रहेको जनमोर्चाको हातमा सत्ता जोगाउने वा नयाँ सरकार बनाउने चाबी छ । प्रदेश सभामा नेकपा एमालेका २७, १ जना स्वतन्त्र, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जसपाका २ र जनमोर्चाका ३ जना सांसद छन् ।
यसैबीचमा सरकारले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनलाई हटाएर सीता पौडेललाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्