Logo

सुनसरीका सीमा नाकामा तस्करी


सुनसरीमा भारतसँग सीमा जोडिएका मुख्य नाकाहरु बन्द भए पनि अन्य भित्री खेतको बाटो प्रयोग गरेर आवतजावत गर्ने क्रमसँगै नाकामा तस्करी बढेको छ ।
सुनसरी प्रशासनले १ हप्ताका लागि निषेधाज्ञा जारी गरेको छ । नेपालसँग सिमा जोडिएका भारतिय नाकाहरु पनि सिल गरिएको छ तर सिमाक्षेत्रमा हुँदै आएको तस्करी रोकिएको छैन ।
दिनभर लकडाउनको राम्रै प्रभाव परे पनि रात परेसँगै भारतसँग जोडिएका नाका वसन्तपुर, भोक्राहा, साहेवगंजलगायतका नाका आसपासमा चहलपहल बढ्ने गरेको छ । जब रातको ९ बज्छ त्यसपछि भारततर्फबाट नाका बन्द भए पनि खेतको बाटो प्रयोग गरेर भारतीय बजारबाट सुर्ती, बिँडी, चिनी, रजनीगन्धा, प्याज, कपडा, सिमेन्ट, माछा लगायतका सामानहरु मोटरसाइकलमा लोड गरेर नेपालतर्फ भित्र्याउने क्रम करिब बिहानको ४ बजेसम्म चल्ने गरेको सिमा क्षेत्रका स्थानियहरुले बताएका छन् ।
तस्करहरुले खेतको बाटो प्रयोग गरेर सामानहरु भित्र्याउने गरेको बुझिएको छ । सिमा क्षेत्रका कतिपय नेपालीहरु लोड अनलोडको काम गर्न रातको समयमा भारतिय क्षेत्रमा जाने गरेका छन् । लोड अनलोडकै काम गर्ने एक कामदारले आफ्नो नाम नबताउने शर्तमा लकडाउनले तस्करीमा प्रभाव नपरेको बताए ।
एक स्थानीयले आफूले लोड अनलोड गरे बापत नेपाली ५ सय रुपैयाँ पाउने गरेको बताए । कोरोना संक्रमणको जोखिम उच्च भएको समयमा सिमानाकामा हुने तस्करीसँगै हुने आवतजावतले जोखिम अझै बढाएको छ । रातको समयमा नेपालतर्फबाट पनि भारततर्फ मदिरा तस्करी हुने गरेको छ ।
सिमा क्षेत्रका स्थानीय अहिले पनि दैनिक उपभोग्य बस्तु खरिद गर्न भारतिय बजारमा जाने गरेका छन् । जिल्लाका मुख्य मुख्य नाकाहरुमा सुरक्षाकर्मी परिचालित भए पनि खेती क्षेत्र तर्फ सुरक्षाकर्मीको उपस्थिति नभएकाले मानिसहरु पनि सोहि बाटो प्रयोग गरेर भारत आउजाउ गर्ने र भारतिय हरु पनि नेपाल प्रवेश गर्ने गरेका छन् । बिहारमा कोरोना संक्रमणको पुष्टी भएको भारतिय मिडियाहरुले बताएसँगै सुनसरीको भोक्राहा, कोशी, हरिनगर, बर्जु, देवानगंज गाउँपालिका भारतसँग सिमा जोडिएकोले उच्च जोखिममा रहेको भन्दै स्थानीय त्रसित भएका छन् ।
यता नाकामा एन्टिजेन विधीबाट कोरोना परिक्षण गरेर कडाई गरेर खेतको बाटोमा तस्करी र भारतीय नागरिकको प्रवेश बढेपछि स्थानीयले सिमामा थप कडाई गर्न तथा भित्री बाटोमा प्रहरी परिचालन गर्न माग गरेका छन् ।

सञ्जिता धमला

प्रतिक्रिया दिनुहोस्