मेरिङदेन गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण बन्द
फुङलिङ नगरपालिका–४,५ र ६ मा वैशाखयता आसपासमा कोरोना संक्रमणका कारण ३ जनाको ज्यान गएकाले फुङलिङ नगरपालिकामा वैशाख १७ गतेदेखि सञ्चालित कक्षा–८ को नगरस्तरीय परीक्षा मंगलबारदेखि स्थगित गरेको छ । वैशाख १७ गते नेपाली, १८ गते अंग्रेजी,१९ गते गणित र २० गते विज्ञान विषयको परीक्षा सम्पन्न भएको छ । बाँकी विषयको परीक्षा गर्ने वा नगर्ने भन्ने विषय नगर कार्यपालिकाको बैठकले निर्णय गर्ने नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए ।
फुङलिङ नगरपालिका–६ का ५२ वर्षीय शिवकुमार गुरुङको वैशाख १० गते,फुङलिङ नगरपालिका–५ का ८५ वर्षीय भक्तिमाया नेयोङ लिम्बुको वैसाख १८ गते र फुङलिङ नगरपालिका–४ का ६० वर्षीय तिलहाङ केदेम लिम्बुको बैसाख १७ गते निधन भएको थियो ।
समुदायस्तरमै कोरोना फैलिएको आंशका गरिएकाले वैशाख १९ गते १ सय ८३ जना र वैशाख २० गते ५८ जनाको स्वाब संकलन गरिएको छ । बैसाख १९ गतेको स्वाब परीक्षणका लागि विराटनगर र वैशाख २० गते स्वाव परीक्षणक लागि भद्रपुर पठाइएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । फुङलिङ नगरपालिकामा वैशाख २० गते बेलुकी साँझ ६ बजेदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञा अवधिमा सरकारी तथा वित्तीय कार्यालयमा अत्यावश्यक बाहेकका सेवा प्रवाह नगर्न निषेधाज्ञामा उल्लेख छ ।
उता मेरिङदेन गाउँपालिकाले वैशाख १९ गतेदेखि लागू हुने गरी गाउँपालिका तथा वडा कार्यालयबाट प्रवाह गर्ने सेवा बन्द गरेको छ । वडा तथा पालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेक सबै बन्द गरिएको प्रमूख प्रशासकीय अधिकृत डम्बर बहादुर आङदेम्बेद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । नेपाल क्रेडिट एण्ट कमर्श बैंक मेरिङदेन गाउँपालिका शाखाबाट प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पनि अर्को सूचना जारी नहुन्जेल बन्द गरिएको छ ।
यसैगरी आठराई त्रिवेणी गाउँपालिकाले वैशाख २० गतेदेखि २६ गतेसम्म स्वास्थ्यसँग सम्बन्धित सेवा तथा अत्यावश्यक सेवा बाहेक सबै बन्द गरेको छ । यद्यपी तोकिएको सेवाका लागि आएका सेवाग्राहीले मास्क अनिवार्य प्रयोग गर्नुपर्ने तथा स्वास्थ्य सावधानीका नियम पालना गर्नुपर्ने सर्त राखेको छ । योजना सम्बन्धी काम,संञ्चालनमा रहेका विद्यालयका परीक्षा र वडाबाट प्रदान गरिने सिफारिसत था पञ्जीकरणका काम बन्द गरेको गाउँपालिका अध्यक्ष विश्नाथ सिटौलाले जानकारी दिनुभयो ।
यता सदरमुकामसँग सीमा जोडिएको पाथीभरा याङवरक गाउँपालिको अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । बैसाख २० गतेदेखि सदरमुकाम फुङलिङ–पाथीभरा याङ्वरक गाउँपालिका आवतजावतमा रोक लगाएको छ । दैनिक उपभोग्य सामग्री बोकेका तर पालिकासँस समन्वय गरेका सवारी साधन र एम्बुलेन्सका साधनलाई मात्र अनुमति दिएको गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङबोले बताए । पालिकामा जारी विद्यालयको परीक्षा अर्को सूचना जारी नहुन्जेल स्थगित गरेको छ ।
यसैबिच ताप्लेजुङ जिल्ला अदालतले वैशाख २१ गतेदेखि २८ गतेसम्म प्रवाह गर्ने अत्यावश्यक सेवा सार्वजनिक गरेको छ । जरुरी पक्राउ पुर्जीको अनुमति,म्याद थप,सिडीआर अनुमति,अभियोग पत्र दर्ता बयान र थुनछेक आदेशको सेवा प्रवाह गर्ने जनाएको छ । बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ, मिलापत्र,मुद्धा फिर्तासम्बन्धी काम कारबाही, विशेष प्रकृतिका निवेदन दर्ता र सुनुवाइ र काम कारबाही तथा सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा तथा निवेदनमा रहेको हदम्याद र तारिख नगुज्रने सेवा रहेको स्रेस्तेदार शम्भुप्रसाद रेग्मीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।