ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र सूर्यविनायक
परम्परादेखि दैनिक जीवनमा अङ्गीकार गरिँदै आएका कतिपय धर्म–संस्कृतिसम्बन्धी कुराहरूमा सत्यताको अंश बढी पाउन र विश्वासलाई दरो पार्न त्यस सम्बन्धमा चल्दै आएका लोकोक्तिहरू तथा त्यसबारे लेखिएका लेखोट कथाहरू पनि आधार बन्दै आएका छन् । यस्ता लोकोक्ति र लेखोटहरू त्यसै चलेका र लेखिएका हुँदैनन् । यस्तामा पनि सत्यताको निकै अंश हुन्छ । जुनसुकै काल र समय किन नहोस् र कुनै धार्मिक सत्यता बोकेको दर्शनीय स्थल, सांस्कृतिक केन्द्र अथवा स्थानीय देव–देवीहरूका बारेमा विभिन्न समुदायका व्यक्ति र धार्मिक सम्प्रदायकै किन नहुन्, सबैका आ–आफ्नै किसिमका धारणा रहेका हुन्छन् । यस्ता धारणाहरू सत्यताको धेरै नजिक भएर जनमानसमा चलेका हुन्छन् । त्यसैले यस्ता कथा वा लोकोक्तिहरूका घटनाहरूलाई हाम्रो समाजले आजसम्म मर्यादापूर्वक हेरेको पाइन्छ । प्राचीन कालकै होस् वा मध्यकालकै किन नहोस्, ती समयमा गुथिएका यस्ता कथनहरूलाई आज एक्काइसाँै शताब्दीसम्म पूर्वाद्र्धमा आइपुग्दा पनि ताजै भएर रहेका छन् । सभ्यता धेरै कालसम्म जीवित रहने हुनाले पनि यस्तो भएको हुन सक्छ । यस्ता लोकोक्तिहरू पनि सत्यताकै निकट रहेको मानिन्छ । यस प्रकारका लोकोक्तिहरूलाई बेवास्ता गर्नु हामीले हाम्रो धार्मिक र सांस्कृतिक परम्परालाई पनि अनादर गर्नु जस्तो हुन आउँछ । सबै घटनाहरूलाई आँखाले देखेको मात्रै हुनुपर्छ, तब मात्र वास्तविक हुन आउँछ भन्ने हो भने आजभन्दा हजारौँ वर्ष अगाडि लेखिएका हाम्रो संस्कृतिका मूल आधारहरू वेद–वेदाङ्ग उपनिषद्, पुराण तथा अन्य काव्यहरूलाई अवास्तविक भन्नुपर्ने हुन आउँछ र हामी हाम्रो अस्तित्वलाई खोज्न सक्दैनौँ । यसरी हामी हाम्रा पौराणिक ग्रन्थहरू वेद–वेदाङ्ग उपनिषवादलाई अवास्तविक र काल्पनिक हो भनी लत्याउन पनि सक्तैनौँ । त्यसरी नै प्राचीन समयदेखि चलिआएका यस्ता लोकोक्तिहरूलाई पनि बिलकुलै असत्य हो भनी मिल्काउन, आँखा चिम्लन सक्तैनौँ । यस प्रकारले विभिन्न समयको केही कुरालाई आधार लिएर गुथिएका लोकोक्ति वा कथाहरूमा पनि सत्यताको धेरै अंश पाइन्छ । त्यस्ता लोकोक्तिहरूले हाम्रो सांस्कृतिक इतिहासमा महŒवपूर्ण स्थान ओगटेकै छ ।
यस्ता लोकोक्तिकै आधारमा यस लेखमा भक्तपुरको प्रसिद्ध ऐतिहासिक धार्मिक घरोहर सूर्यविनायक र वरिपरिका बारेमा केही कुरा पस्कने प्रयास गरिएको छ । प्रसिद्ध गणेशहरूमध्ये उपत्यकाका चार गणेश सूर्यविनायक, चन्द्र विनायक, अशोक विनायक र जलविनायकलाई लिइँदै आएको पाइन्छ । प्रसिद्ध यी चार गणेशमध्ये भक्तपुरको दक्षिणतर्फ पर्ने सूर्यविनायक पनि एक हो । यी गणेशलाई सिद्धिविनायक भनेर पनि भनिन्छ । पहिले यी गणेशको नाम सिद्धिविनायक भएको कुरा शिव पुराण तथा स्वस्थानी व्रतकथाबाट पनि बुझिन्छ । हुन त गणेशका दुई शक्ति ऋद्धि र सिद्धिका पति (मालिक) भएको कारणबाट पनि सिद्धिविनायक नामकरण भएको हुन सक्छ । अर्काे कुरा, द्वापरयुगको अन्त्यमा श्री सूर्य नारायणबाट सत्राजित राजालाई जिम्मा लगाएको सेमन्तक मणिको कथाबाट पनि केही बुझ्न सकिने हुन आउँछ । श्री सूर्य नारायणबाट राजा सत्राजितलाई प्राप्त भएको यो मणि पछिल्लो कालमा आएर केही हेरफेर भयो । श्री सूर्य नारायणबाट सिद्धिविनायक (सूर्यविनायक) गणेशको जिम्मामा आयो । यसरी मणिको तेजले सिद्धि विनायक रहेको वनमा प्रभात कालको सूर्य किरण प्रथम पर्न आयो । श्री सूर्य नारायणको प्रथम किरण पर्न आएको कारणले कालान्तरमा पछिका मानिसहरूले यस ठाउँको नाउँ सूर्यविनायक र गणेशको नाउँ पनि श्री सूर्यविनायक गणेश भनेर भन्ने गरेको हुनुपर्छ । सिद्धिविनायकबाट सूर्यविनायक गणेश भनेर भन्ने गरेको हुनुपर्छ । सिद्धिविनायकबाट सूर्यविनायक भएको कुरा सत्यताको निकट पुग्छ । आज यो ठाउँ दर्शन तथा धार्मिक पर्यटनका लागि निकै आकर्षक केन्द्रका रूपमा रहेको छ । माघ महिनाको मङ्गलबार यहाँ ठूलो मेला लाग्छ । मङ्गलबार त गणेशकै बार भएकाले हजारौँ मानिसह यस स्थानको दृश्यावलोकन गर्न गणेशको दर्शनार्थ आउने गर्छन् । यिनै सूर्यविनायक गणेश विराजमान भएको सुन्दर वनका बारेमा चलेका केही लोकोक्तिहरूमध्ये तलका प्रमुख मानिन्छन् ।
आजभन्दा करिब दुई–तीन सय वर्षअगाडिको कुरा हो । सूर्यविनायकको जङ्गल नजिकै कुनै एक ब्राह्मण परिवारको घर थियो । ती ब्राह्मणका छोरा यसै वनमा सधैँ गाई चराउन जाने गर्थे । एक दिन ब्रह्माण्डका छोराले खेल्दाखेल्दै वनको कुनै एक बुटाको पात भाँची अनभिज्ञतावश मुखमा हाली चपाएर त्यसको रस लिएको दिनदेखि ब्राह्मण पुत्रले कुनै पनि खाद्य तथा पेय पदार्थ ग्रहण गर्न छोडिदिएछन् । आफ्नो १०÷१२ वर्षको छोराको यो अवस्था देखेर आमाबाबु निकै चिन्तित भएछन् । कुनै प्रकारको खानेकुरा नखाँदा पनि उक्त बालकको शरीरमा कुनै प्रकारको कमजोरीपन र दुब्लोपन भने देखा परेनछ । बालक दिन–प्रतिदिन हृष्टपुष्ट हुँदै गएछन् । आफ्नो एक मात्र छोराको यो अवस्थाले ब्राह्मण तथा ब्राह्मणीमा निकै पीर पनि परेछ । तर शारीरिक अवस्थामा कुनै परिवर्तन नभएकाले आश्चर्य पनि लागेछ । यस्तो तिलस्मी प्रभावमा सबै प्रकारको वैद्य, धामी, झाँक्रीलाई देखाउँदा कसैबाट पनि यस कारणबाट यस्तो भएको भन्ने सही जानकारी भएनछ । केही नखाईकन पनि शारीरिक विकास तीव्र हुँदै गएको पाएर ब्राह्मण पति–पत्नीले यसको कारण पत्ता लगाउने कामलाई जारी नै राखेछन् । एक वर्षको अवधिसम्म कुनै वास्तविकता पत्ता लागेनछ । एक वर्ष बितेपछि ब्राह्मणको दैलोमा एक जना जोगीले ‘अलख’ जगाएछन् । कुरैकुरामा ब्राह्मणले जोगीसँग आफ्नो छोराको सम्बन्धमा कुरा गरेछन् । जोगीले पनि ब्राह्मण पुत्रलाई नियालेर हेर्दा बालकको शारीरिक प्रकृतिबाट मृत सञ्जीवनी बुटी खाएको कुरा पत्ता पाएछन् । यस सम्बन्धमा अरू केही कुरा नगरी आफ्नो झोलीबाट एक गोली औषधि झिकेर बालकलाई खान दिएछन् । पेटमा पर्नेबित्तिकै उक्त बालकलाई बान्ता भएछ, बान्तासँगै मृत सञ्जीवनी बुटीको रस पनि निस्केछ । जोगीले अब बालकलाई निको भयो, अन्न ग्रहण गर्नेछ भनि आफ्नो बाटो लागेछन् । त्यसै दिनदेखि ब्राह्मण पुत्रले खाने कुरा खान थालेछन् ।
हाम्रो धार्मिक ग्रन्थ रामायणको कथासँग जोडेर केही लोकोक्तिहरू यस वनका बारेमा भन्ने गरेको पाइन्छ । कथाअनुसार आफ्नो दाजु रामसँग वनबास लागेका लक्ष्मण, राम–रावणको युद्धमा इन्द्रजितद्वारा मूच्र्छा पर्दा वैद्यको भनाइअनुसार रामचन्द्रको आदेशले महाप्रतापी वायुपुत्र हनुमानले मृत सञ्जीवनी बुटीको खोजमा द्रोणचल पर्वतमा जाँदा उक्त बुटी चिन्न नसकी दोणचलै बोकी उडे । बाटोमा उक्त पर्वतको एक भाग खसी यो वन बनेको हो भन्ने लोकोक्तिअनुसार सूर्यविनायकको वनमा मृत सञ्जीवनी बुटी भएको अनुमान गरी माथिको कथालाई सार्थक पारेको होला भन्न सकिन्छ । यही कथाको भनाइअनुसार पनि आजसम्म यस वनको गरिमा महŒवपूर्ण भएको मान्न सकिन्छ ।
एउटा अर्काे लोकोक्तिअनुसार भक्तपुरमा अन्तिम राजा रणजित मल्लका बाबु भूपतिन्द्र मल्ल आफ्नो राज्यकालमा आफ्नी इष्ट देवी तुलजा भवानीसँग पचपन्न झ्याले दरबारभित्र मध्यरातमा पासा खेल्ने गर्थे । त्यस समयमा सूर्यविनायकको जंगलमा भएको मृत सञ्जीवनी बुटी रहेको वृक्षको टोड्कामा यौटा पाँच फणा भएको विशाल नाग बस्ने गथ्र्यो । नागको पाँच टाउकोमा भएका नाग मणिहरूबाट बेग्लाबेग्लै पाँच प्रकारका प्रकाशहरू निस्कन्थे । यी पाँच प्रकारका प्रकाशमय मणिहरू भएको नागलाई राजा भूपतीन्द्र मल्लले तुलजा भवानीसँग पासा खेली सकेपछि सधैं आफ्नो दरबारबाट जंगलतर्फ हेर्दा देख्थे । यो प्रकाशमय नागलाई राजा आफ्नो दरबारको माथिल्लो तल्लाबाट हेर्थे । यस्तो अपूर्व नाग र मणि देखेर कौतूहल भएका राजा एक दिन रातको समयमा नागको खोजी गर्न सूर्यविनायकको जंगलमा प्रवेश गरे । नागको खोजी गर्दै जाँदा राजा जति नागको नजिक पुग्थे, नाग राजा भने त्यति नै टाढा हुने गर्थे । धेरै प्रयास गर्दा पनि नागराजाको नजिक हुन पुग्न नसकेका राजा बिहान विवस भएर आफ्नै दरबारमा फर्कन्थे । यो क्रम हरेक रात चल्न लाग्यो । राजाले कुनै दिन पनि नागराजालाई नजिक पाएनन् । उपायका लागि राजाले नागराजाको भक्तिपूर्वक स्तुति गरे । नागको स्तुति गर्ने राजालाई एक रात सपना भयो । सपनामा राजालाई नागराजले “भोलि राती हात्तीमा सवारी भई त्यसमाथि पूर्ण सुवर्ण कलश राखी आफ्नी रानीका साथ भएर मकहाँ आउनु” भनी भनेछन् । सपना भंग भएर निद्राबाट ब्युँझँदा श्री सूर्य नारायणले आफ्नो प्रकाश पृथ्वीमा फिजाइसकेको पाउँछन् । राजा भूपतीन्द्र मल्ल त्यही दिनको राती तुलजा भवानीसँग पासा खेलिसकेपछि पूजा र आराधनाका सामग्रीले सुसज्जित भई स्तुति गर्दै आफ्नी रानीका साथ हात्तीमा सवारी भई राजा सूर्यविनायकको जंगलतर्फ लागे । यसरी गएका राजाले नागराजको प्रत्यक्ष दर्शन पाए । नागको पूजा र स्तुति गरी उक्त नाग राजालाई सुनको पेटारोमा हाली आफ्नो राजदरबार पछाडि सुन्दर तलाउ बनाई नागराजलाई त्यहाँ बसाले । राजाको कामबाट प्रसन्न भएका नागराजले तिम्रो दरबार अगाडिको सालिक सधैं जीवित रहनेछ भन्ने वरदान दिएका थिए । यही आधारमा राजा भूपतीन्द्र मल्ल आज पनि जीवित रहेको कुरामा विश्वास गर्ने चलन चलेकै छ । नागराजलाई प्रसन्न पारेका राजाले नागबाट रक्षा गरिएको मृत सञ्जीवनीको प्रभावबाट अझै राजा जीवित भएको किंवदन्ती पनि छ र यो लोकोक्ति आज पनि भक्तपुरमा प्रचलित छ ।
सूर्यविनायक मृत सञ्जीवनीको यो लोकोक्तिपछि अब अर्काे लोकोक्तितिर जाऊँ । द्वापर युगमा सन्नाजित राजालाई जिम्मा दिएको सेमन्तक मणिबाट दिनको एक भारी रत्नादि पैदा हुन्थ्यो । राजा सन्नाजितको वंश नष्ट हुने समय आएपछि श्री सूर्य नारायणले सेमन्तक मणि श्री सिद्धिविनायक (सूर्यविनायक) को जिम्मा नासो छोडेका थिए । सिद्धिविनायकको भक्तहरूलाई आवश्यक परेको बेला सेवा गर्ने सन्तान श्रीसम्पत्ति सेमन्तक मणिको प्रभावबाट सिद्धिविनायक द्वारा प्राप्त हुने गथ्र्याे । यही आधारबाट दुःख निवारण निम्ति मानिसहरू सूर्यविनायकको पूजा आराधना गर्थे । आजसम्म पनि गर्दै आएका छन् । सेमन्तक मणिको प्रभावले सिद्धि दिने गणेशको नाम नै कालान्तरमा सूर्यविनायक भनिन पुग्यो । अब एक अर्काे प्रसङ्गको वर्णन गरिने जमर्काे गरिएको छ ।
स्कन्द पुराण हिमवत् खण्ड नेपाल माहात्म्यको छैटौँ अध्यायमा श्री सूर्यविनायक गणेशको उपाक्तिको प्रसङ्ग आउँछ । सूर्य नारायणको प्रथम किरण पर्ने भनिएको त्यो वनमा सूर्यकै समान तेज भएको वेद शास्त्रका साथै आफ्नो स्वाध्यायमा रहेको गुणनिधि नामक ब्राह्मण बस्थे । ब्राह्मण गुणनिधिकी अति सुन्दर तथा चालचलन, उत्कृष्ठ भएकी लीलावती नामकी स्त्री थिइन् । यी दुवैको एक पुत्र पनि थिए जसको नामकरण प्राणनाथ भनेर गरिएको थियो । पिता गुणनाथ सधै बागमती नदीमा गई स्नान गर्ने र भगवान् पशुपतिनाथको दर्शन गरी यै सूर्यविनायक वनमा स्थित आफ्नो वासस्थानमा फर्कन्थे । घरमा आएर आफ्नो छोरा प्राणनाथलाई शिक्षा दिन्थे । कुनै दिन त्यो बालक वनविहार गर्दै हिँडिरहेको बेलामा अकस्मात लड्न पुग्यो । बालक लडेको त्यस ठाउँलाई आजसम्म पनि ऋष्याश्रम भनिन्छ । आफ्नो पुत्र लडेर मृत्युमा पुगेको सुनेर पिता गुणनिधि र माता लीलावती लडी मुर्छा पर्न गएपछि चेतावस्थामा आएका गुणनिधिले त्यस छोरालाई बोकेर पशुपतिनाथमा गए । अरू जनसमुदायको साथमा लीलावती पनि गइन् ।
भगवान् पशुपतिनाथको द्वारमा आफ्नो मृतक पुत्रलाई राखेर सात दिनसम्म अहोरात्र उपबास बसी पशुपतिनाथको साधना गरे । भगवान् पशुपतिनाथ प्रकट भई हे ब्राह्मणदेव तपाईं आफ्नो मृत छोरालाई लिएर सूर्यविनायकमै फर्कनुहोस् । मेरो पुत्र गणेशकै लीलाबाट तपाईंको पुत्रको मृत्यु भएको हो । अतः त्यही फर्कनुहोस । गणेशको कृपाद्वारा बालक पुत्र जीवित हुनेछन् । बालकलाई बचाउनेछन् । भोलि सूर्यनारायणको पहिलो किरण त्यहाँ पर्नासाथ मेरो पुत्र गणेश प्रकट भई बालकलाई बचाउने छन् भन्ने वरदान दिँदै भगवान् पशुपतिनाथ अन्तध्र्यान भएको वर्णन पाइन्छ । भगवान् शिवको आज्ञाअनुसार सूर्यनारायणको उदयपछि बालकका पितासहित सबैले गणेशको स्तुति गरे । चारहात भएका गणेश पृथ्वीबाट प्रकट हुनुभयो । कुनै वनस्पतिको लहरा दिँदै विनायक गणेशले भन्नुभयो । यो लहराको रस बालकको मुख र आँखामा राखिदिनु । पिता गुणनिधिले पनि गणेशको आदेशअनुसार गरिदिए । बालक मृत्युको मुखबाट उठे । सबैले गणेशको स्तुति गरी आकाशबाट पुष्पवृष्टि भयो । गणेशद्वारा वरदान माग्ने आज्ञा भयो । गुणनिधिसमेत सबैले यसै वनमा सदैव रहने वरदान मागे । गणेशद्वारा यस्तै होस् भन्ने वरदान दिनुभयो ।
भगवान् सूर्यनाराणको प्रथम किरणको अवलोकनबाट साक्षात् प्रकट भएका गणेशलाई नै सूर्यविनायकको नामबाट चिनिन्छ । आजसम्म हरेक मङ्गलबारका दिन तथा मङ्गल चौथी परेका दिन गणेशको दर्शन, पूजा अर्चना गर्ने गरिन्छ । साथै ब्राह्मण दम्पती, उनको छोरा र अरू भक्तजनहरूले गणेशको स्थापना गरी यसकै इसानकोणमा उत्तम शिवलिङ्गको स्थापना पनि गरे । यसै स्थानलाई मङ्गलेश्वर तीर्थसमेत भनिन्छ । यसरी हिमवत्खण्डको नेपाल माहात्म्यको अध्ययनबाट प्राचीन समयमा गुणनिधि ब्राह्मणले आफ्नो छोरा जो मृत्युको मुखबाट बचेका थिए, त्यै बखतबाट गणेश स्थापना गरेको भन्ने बुझिन्छ । आज सूर्यविनायक क्षेत्र दिन प्रतिदिन लोकप्रिय बन्दै गएको छ । सूर्यविनायक गणेश क्षेत्र संस्कृति, संस्कार र ऐतिहासिक तथा धार्मिक पर्यटनको धरोहरका रूपमा रहेको छ ।
–मोहनप्रसाद आचार्य