Logo

सेयर बजारमा इन्साइडर ट्रेडिङ गरेर सेयरको मूल्यमा तलमाथि पार्ने गरेको बताउँछन् सरोकारवालाहरू

पुँजीबजारमा बढ्दै बेथिति र नियामक निकायको मौनता


पुँजीबजारमा पछिल्लो समयमा आमनागरिकको आकर्षण र चासो बढिरहेको देखिन्छ । सडकदेखि सदनसम्म र चिया गफमा पनि सेयर बजारकै चर्चा हुने गरेको छ । त्यसो त सेयर बजारमा नयाँ–नयाँ लगानीकर्ताहरूको उल्लेख्य रूपमा प्रवेश भइरहेको छ । पछिल्लो समयमा डिम्याट खाता खोल्नेहरू नै ३० लाखभन्दा बढी भइसकेका छन् भने प्राथमिक सेयरका लगानीकर्ताहरू पनि १८ लाखभन्दा बढी भइसकेका छन् । त्यसैगरी दोस्रो बजारमा पनि ५ लाखले भन्दा बढी सक्रिय लगानीकर्ताहरूले अनलाइनबाट कारोबार गर्ने गरिरहेका छन् । हाल सेयर बजारका प्रायःजसो काम डिजिटलाइजेसन भइसकेका छन् । अहिले सेयर बजारका कामहरू, कारोबारहरू अनलाइनमार्फत घर, पसल, अफिस जहाँतहीँबाट पनि गर्न सकिने भएको छ । यसबाट पनि सेयर बजारप्रति आमनागरिकको चासो, आकर्षण बढेको हो भन्दा पनि फरक नपर्ला । तर पनि सेयर बजारमा केही बेथिति, विसंगति देखा परिरहेका छन् । यसलाई नियामक निकायसम्बन्धी सरोकारवालाहरूले समाधान गर्न त्यति चासो नदेखाएको जस्तो देखिन्छ भने सेयर लगानीकर्ताहरूको संघ भनिने, सेयर लगानीकर्ताहरूको नेता भनिनेहरूले पनि नियामक निकायहरूलाई सेयर बजारमा देखा परिरहेका समस्याहरूको समाधान गर्नका लागि दबाब दिने काम गरिरहेका छैनन् ।
के लगानीकर्ताका संघहरू नेता बन्नका लागि मात्र हो त ? त्यसमा पनि सेयर लगानीकर्ताहरूको संघहरू नै पाँच–छवटा भइसकेका छन् । एक–दुईवटा बाहेक सबैजसो लगानीकर्ताहरूको संघ निष्क्रियजस्तै छन् भन्दा नेताहरूको चित्त दुख्ला । तर, सेयरको कारोबार अनलाइनबाट गर्न सकिने भए पनि बेलाबेलामा टीएमएसमा समस्याहरू देखा पर्ने गरिरहेका छन्, जसबाट लगानीकर्ताहरूले कारोबार गर्दा समस्या भोग्नुपरिरहेको छ । त्यसैगरी समय–समयमा मेरो सेयरमा समस्या आउने र मेरो सेयर नै समयमा नखुल्ने समेत हुने गरेका छन्, जसका कारणले समयमा ईडीआईएस गर्नमा समस्या हुने, लगानीकर्ताहरू क्लोज आउटमा पर्ने गरिरहेका छन् भने समयमा खरिद गरेको सेयर डिम्याट खातामा नआउने सेयर बिक्री गरेको रकम समयमा लगानीकर्ताहरूको खातामा नआउने जस्ता समस्या भइरहेका छन् । त्यसैगरी आफूलाई सेयर बजारका विश्लेषक भनिने सेयर बजारका ज्योतिषीहरूले बेलाबेलामा नेप्से यति बढ्छ, यति घट्छ भनेर भविष्यवाणी गरिरहने हुँदा यसले पनि सेयर बजारमा प्रभाव पार्ने गरेको छ । सेयर बजारमा नेप्से घट्ने बढ्ने भइरहन्छ । यसलाई सामान्य मान्नुपर्ने हुन्छ, तर पनि केही विश्लेषकहरूले यसलाई भ्रममा पार्ने काम गरिरहेका हुन्छन् । नेप्से भनेको त कहिले बढ्छ, कहिले घट्छ । यो त सेयर बजारको ब्युटि नै हो । नेप्से सधैं बढ्ने र सधैं घट्ने हुँदैन । यसलाई चर्चा गरिरहनुपर्ने आवश्यक नै छैन । त्यसो त केही सेयर बजारका विश्लेषकहरू कतैबाट परिचालित हुने गरेको पनि सेयर बजारमा चर्चा हुने गरेको छ । कतिपयले आफ्नो स्वार्थ पूरा गर्न सेयर बजारलाई आफ्नो अनुकूल बनाउनका लागि पनि बेला–बेलामा हल्लाको हौवा फिँजाएर लगानीकर्ताहरूलाई प्रभाव पार्ने गरिरहेका पनि हुन्छन् । र लगानीकर्ताहरू पनि हल्लाको पछि लाग्ने नभएका पनि होइनन् ।
सेयर बजारमा बेलाबेलामा इन्साइडर ट्रेडिङको हल्ला पनि हुने गरेको छ । इन्साइडर ट्रेडिङ गरेर सेयरको मूल्यमा तलमाथि पार्ने गरेका छन् । सेयर बजारका लागि इन्साइडर ट्रेडिङ एउटा रोगजस्तै भइरहेका छन् भन्दा पनि फरक नपर्ला । बेलाबेलामा सेयर कारोबार गर्दा टीएमएसमा पनि समस्या आउने गरेको छ । त्यसैगरी बिक्री गरेको सेयर हस्तान्तरण गर्नमा पनि समस्या आएर कतिपय लगानीकर्ताहरू क्लोज आउटमा पर्ने गरेका छन् । विगतमा बिक्री गरेको सेयर हस्तान्तरण डीआईएस (डेबिट इन्ट्रक्सन स्लिप–चेक) बाट पनि गर्न सकिन्थ्यो । सेयर बिक्री गरेको दुई दिनमा ब्रोकरलाई चेक दिएपछि सेयर हस्तान्तरण हुने गथ्र्यो । तर, अहिले ब्रोकरहरू चेक लिन मान्दैनन् । आफ्नो सुविधाका लागि, समयको बचतका लागि नियामक निकायहरूले नै सेयर हस्तान्तरण ईडीआईएसबाट गर्नका लागि जोड दिने गरेका छन् । तर, ईडीआईएस गर्नका लागि मेरो सेयरबाट गर्नुपर्ने हुन्छ । तर, बेलाबेलामा आफूलाई चाहिएको बेला ईडीआईएस गर्ने बेला मेरो सेयर नै खुल्दैन, खुले पनि डाटा नै देखाउँदैन । यसले पनि सेयर हस्तान्तरणमा समस्या आउने र लगानीकर्ताहरू क्लोज आउटमा पर्ने गरेका छन् । क्लोज आउटमा परेर लगानीकर्ताहरूले करोडांै जरिवाना तिर्नुपरिरहेको छ ।
हाल सेयर बिक्री गरेको भोलि नै ईडीआईएस गर्नुपर्ने हुन्छ, तर मेरो सेयर समयमा नखुलेर हैरान पार्ने गर्छ । कतिपय लगानीकर्ताहरूलाई त यसले टाउको नै खाने गरेको छ भने कतिपय लगानीकर्ताहरूले क्लोज आउटमा परेर २० प्रतिशत जरिवाना पनि तिर्नुपरिरहेको छ । अधिकांश लगानीकर्ताहरूको भनाइमा दुईवटै यानि ईडीआईएस र डीआईएस चेकबाट सेयर हस्तान्तरण गर्न सक्ने पाउनुपर्ने हो । यसमा सम्बन्धित सरोकारवालाहरूको ध्यान जाओस् । सेयर बजारमा बेलाबेलामा इन्साइडर ट्रेडिङ हुने कारणले कतिपय लगानीकर्ताहरूलाई प्रभावमा पार्ने गरेका छन् । केही हप्तापहिले अजोड इन्स्योरेन्सको इन्साइडर टे«डिङको चर्चा भएको थियो । यसबारेमा उजुरीसमेत परेको थियो । यस्ता कम्पनीको सूचना चुहाएर इन्साइडर टे«डिङ गरेर बजारमा सेयर मूल्यमा तलमाथि गर्ने गरेका कारणबाट केही लगानीकर्ताहरू फस्ने गरेका छन् । यसलाई नियामक निकायहरूले रोक्न सकिरहेको छैन । यसमा स्वयम् लगानीकर्ताहरू नै सचेत, सजग हुनुपर्ने हुन्छ । हल्लाको पछि नलाग्ने, अरूको देखासिकी नगर्ने लगानीकर्ताहरूले नै सचेत भएर लगानी गर्नुपर्ने देखिन्छ । त्यसो त कतिपयको भनाइमा कम्पनीका सञ्चालक समितिका केही पदाधिकारीहरूले नै कम्पनीको सूचना चुहाएर इन्साइडर ट्रेडिङ गर्ने गरेको बताउँछन् । कतिपयको भनाइमा त यसका लागि नै केही लगानीकर्ताहरूले लाखौं खर्च गरेर सञ्चालक समितिमा जाने गरेको पनि बताउँछन् । अधिकांश कम्पनीका सञ्चालक समितिको निर्वाचन निर्विरोध हुने गरेका हुन्छन् । यिनीहरूले पहिले नै सेटिङ गर्ने गरेको पनि चर्चा छ भने निर्वाचनका बेला कतिपयले प्रोक्सी खरिद–बिक्री गर्ने गरेको पनि चर्चा चल्ने गरेका छन् । कतिपयको भनाइमा अहिलेका कम्पनीहरूको सञ्चालक समितिको निर्वाचन प्रक्रियामा पुनरावलोकन गर्नुपर्ने बताउँछन् । यसमा नियामक निकायहरूको ध्यान जानुपर्ने देखिन्छ । सेयर बजारमा देखा परिरहेको बेथिति–विसंगतिहरूलाई हटाउने सेयर बजारका समस्याहरूलाई समाधान गर्नेमा नियामक निकायहरूको महŒवपूर्ण जिम्मेवारी हो ।

प्रतिक्रिया दिनुहोस्