अर्थतन्त्रको संकुचनसँगै बैंकको घट्दो प्रतिफल «

अर्थतन्त्रको संकुचनसँगै बैंकको घट्दो प्रतिफल

नेपालमा बैंक तथा वित्तीय संस्थाहरूले मात्र कमाए, अरूले कमाएनन् भन्ने एक प्रकारको भाष्य निर्माण भएको छ । तर, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको प्रतिफल अन्य क्षेत्रको भन्दा घट्दै गएको छ । देख्दा अन्य क्षेत्रभन्दा बैंक तथा वित्तीय संस्था बढी ग्ल्यामरस देखिन्छ । तर, बैंकिङ अर्थतन्त्रका अन्य क्षेत्रभन्दा बढी जिम्मेवार र गम्भीर अनुशासन पालना गर्नुपर्ने क्षेत्र हो । यसका पनि आफ्नै कथा तथा व्यथा छन् । तर, पछिल्लो समय कोरोना कहरलगायतका अन्य कारणले मुलुकको अर्थतन्त्र संकुचित हुँदै जाँदा यो क्षेत्र पनि अछुतो भने छैन । बाहिरबाट देखिएको रुमानी चित्रभन्दा फरक यसभित्र बिस्तारै प्रतिफल बढाउने दबाब बढ्दो छ । दबाब बढेकै कारण केही बैंक तथा वित्तीय संस्थाले नियामक निकायको निर्देशनभन्दा बाहिर जाने कोसिस पनि गरेको देखिन्छ । तर, नेपालमा सबैभन्दा संगठित तथा कानुन एवं अनुभवले सुसज्जित सजग नियामक निकाय बैंक तथा वित्तीय संस्थाको भएका कारण यो क्षेत्र अन्य क्षेत्रभन्दा लगानीका लागि पनि सुरक्षित मानिँदै आएको छ । वित्तीय मध्यस्थकर्ताको काम अर्थतन्त्र फराकिलो हुँदै जाँदा जति बढी देखिन्छ, त्यति संकुचनमा जाँदा हुँदैन । जसको फलस्वरूप लगानीकर्ताका लागि आकर्षक क्षेत्र मानिएको वाणिज्य बैंकहरूको प्रतिफल बिस्तारै घट्दै गएको देखिन्छ । एकातिर बैंक तथा वित्तीय संस्थाहरूबीचको तीव्र प्रतिस्पर्धा र नेपाल राष्ट्र बैंकको कडा नियमन, अर्कातिर पछिल्लो समयमा विविध कारणले व्यवसाय विस्तारमा अवरोधका कारण बैंकको प्रतिफल घट्दै गएको छ । कुनै समय ४० प्रतिशतसम्म भएको पुँजीको प्रतिफल (रिटर्न अन इक्विटी) कोरोना कहरको दोस्रो लहरपछि फेरि विश्वका अन्य मुलुकमा झैं तेस्रो लहरसम्म आइपुग्यो भने एकल अंकमा झर्ने निश्चित छ । किनकि १२ वर्षअघि बैंकहरूको पुँजीको प्रतिफल (रिटर्न अन इक्विटी) औसत २७ प्रतिशतभन्दा बढी रहेकोमा हाल १४ प्रतिशतभन्दा तल झरिसकेको छ । बैंक तथा वित्तीय संस्थाको अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकहरूको औसत प्रतिफल १३.८१ प्रतिशतमा झरेको छ ।
बैंकहरूमध्ये पनि पुराना र विदेशी लगानी रहेका बैंकहरूको प्रतिफलमा उच्च गिरावट देखिएको छ । व्यवसाय विस्तारमा आक्रामक भएका केही बैंकहरूको प्रतिफल वृद्धि भए तापनि हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूमध्ये चालू आर्थिक वर्षको चैतसम्ममा १७ वटाको प्रतिफल घटेको छ भने १० वटाको प्रतिफल वृद्धि भएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरको अन्तर (स्प्रेड) घटाउनुका साथै बैंकको अन्य शुल्क आम्दानीमा कडाइ गर्दै आएको छ । साथै, विपन्न वर्ग, कृषि, ऊर्जालगायतका क्षेत्रमा अनिवार्य कर्जा लगानी गर्नुपर्ने प्रावधानका कारण पनि बैंकहरूको खर्च बढिरहेको छ । संघीयता कार्यान्वयनसँगै बैंकहरूले ७ सय ५३ पालिकामा शाखा विस्तार गर्नुपर्ने प्रावधानका कारण पनि बैंकहरूको सञ्चालन खर्च बढेको छ । हुन त यस्तो संकटग्रस्त समयमा पनि दोहोरो अंकमा प्रतिफल पाउनु नराम्रो होइन, तर पुँजीको प्रतिफल निरन्तर घटिरहनुमा पछिल्ला वर्षहरूमा भएको बैंकको चुक्तापुँजीमा चार गुणाले वृद्धि, व्यवसाय विस्तार हुन नसक्नु तथा पछिल्लो वर्ष कोरोनाका कारण व्यवसायमा संकुचन आउनु प्रमुख हुन् । त्यसैले वाणिज्य बैंकहरूको नाफा उच्च देखिए तापनि लगानीकर्ताले पाउने प्रतिफल भने बिस्तारै कम हुँदै गएको हो । बैंकका लगानीकर्ताले पाउने प्रतिफल अन्य व्यवसायको भन्दा कम हुँदै गएका कारण पछिल्लो समयमा लगानीकर्ताहरू अन्य क्षेत्रमा आकर्षित भइरहेका पनि छन् । तर, अन्य क्षेत्रभन्दा बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकाय सचेत तथा सजग भएका कारण अन्य क्षेत्रभन्दा बैंकिङ बढी पारदर्शी एवं व्यावसायिक छ, जसका कारण सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको दबदबा अझै कायम नै रहन्छ ।

प्रतिक्रिया दिनुहोस्