आपूर्ति सहज रहेको वाणिज्य विभागको दावी
चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तीन महिनाको लागि स्टक रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनीलगायतका दैनिक उपभोग्यवस्तुहरु पूर्णरुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताए । उपभोग्य खाद्यवस्तुको आपूर्ति सहज रुपमा भइरहेको पौडेलले बताए ।
महानिर्देशक पौडेलले बजारमा खाद्य पदार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उनले उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद सञ्चय पनि आग्रह गरे । खाद्य पदार्थको अभाव नहुने भएकाले आत्तिनु नपर्ने उनले बताए । “चामल, दाल, नुन, तेल, चिनीलगायतका न्युनतम वस्तुको स्टक करिब ३ महिनालाई अझैपनि हामीलाई सप्लाइमा समस्या छैन” उनले भने, “नआएपनि पुग्छ, खाद्य पद्धार्थको आपूर्ति सहज छ । उपभोक्ताले उपभोगको मात्रा बढाए, आवश्यकताभन्दा बढी खरिद गरिदिनु भो भने मूल्यवृद्धि गर्ने सम्भावना रहन्छ । आत्तिनुपर्ने अवस्था छैन ।”
दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक मूल्यवृद्धि भएको खण्डमा मूल्यवृद्धि गराउने लाई कारबाही गरिने महानिर्देशक पौडेले बताए । बजारको अवस्थाको सम्बन्धमा विभागले दैनिक रुपमा अनुगमन गरिरहेको उनको भनाइ छ । “विभागको अनुगमनको टिम बिहान, दिउँसो, बेलुकी निस्कन्छ” उनले भने, “बजारमा वस्तुको उपलब्धता, वस्तुको वितरण र मूल्य वृद्धिलगायतका गुनासोलाई तत्काल सम्बोधन गर्ने गरेको छ ।”
उनले दैनिक उपभोग्य वस्तुको आयातमा कुनैपनि प्रकारको समस्या नभएको पनि बताउनुभयो । दैनिक उपभोग्य वस्तुहरु, मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक वस्तुहरु सहज रुपमा नाकाबाट आयात भइरहेको उनको भनाइ छ ।
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा आपूर्तिको समस्या नभएपनि केही दैनिक उपभोग्य वस्तुहरुको अस्वभाविक रुपमा मूल्यवृद्धि भइरहेको बताए । विभागले बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्ने उनले बताए । यस्तो परिस्थितिमा बजारमा कालोबजारी गर्नेलाई आर्थिक दण्डसहित काराकारसम्मको कडा कारबाही गर्नुपर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाको भनाइ छ ।