निषेधाज्ञामा अत्यावश्यक वस्तुको आपूर्ति
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि सरकारले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गरेको छ । सरकारले अत्यावश्यक वस्तुको मौज्दात रहेकाले बजारमा अभाव नहुने बताएको छ । निषेधाज्ञा गरेसँगै बजारमा दैनिक उपभोग्य वस्तुको किनमेल गर्ने उपभोक्ताको भीडभाड लाग्ने गरेको छ । निषेधाज्ञा लामो समयसम्म हुन सक्ने हुँदा बजारमा अभाव हुनसक्ने भन्दै सामान मौज्दात गरेर राख्न थालेका छन् । निषेधाज्ञा गरेसँगै अत्यावश्यक वस्तुका पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खोल्न पाइने व्यवस्था छ, जसका कारणले गर्दा पनि अधिकांश पसलमा सामान खरिद गर्ने उपभोक्ताको भीडभाड लाग्ने गरेको छ । बजारमा कृत्रिम अभाव गराएर अत्यावश्यक वस्तुमा व्यवसायीले मूल्य बढाएका छन् । विशेषगरी मास्क, स्यानिटाइजर, खाद्यान्नमा व्यवसायीले मूल्य बढाउँदा उपभोक्तालाई असर परेको छ । निषेधाज्ञाको बेला बजारमा हुनसक्ने कृत्रिम अभाव, कालोबजारी नियन्त्रण गर्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन गरिरहेको बताएको छ । मास्कमा कालोबजारी गर्ने पसललाई विभागले कारबाही गरेको छ । पछिल्लो समय बजारको अवस्था के छ, अत्यावश्यक वस्तुको आपूर्ति र वितरणको अवस्था के छ भनी सरोकारवाला व्यक्तिसँग कारोबारले गरेको कुराकानीको सार ः
कृत्रिम अभाव गराएर कालोबजारी गर्ने व्यवसायीलाई कारबाही गर्छांै
प्रकाश पौैडेल
महानिर्देशक
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग
बजारमा दैनिक उपभोग्य वस्तु र स्वास्थ्य सामग्रीहरूको मौज्दात र उपलब्धता, मूल्य वृद्धिको अवस्था के छ भनेर विगत एक हप्तादेखि निरन्तर रूपमा हेरिरहेका छौं । तरकारी, माछामासुको स्रोतसम्म र अन्य वस्तुहरूको हकमा दाल, चामल, नुन, गेडागुडी, तेल, चिनीलगायतका वस्तुहरूको उपलब्धता के छ भनेर गोदाममै गएर हेरेका छौं । दुई महिनासम्मलाई पुग्ने खाद्यान्न गोदाममा मौज्दात रहेको छ । निजी व्यवसायीको छाता संगठनसँग भर नपरेर सीधै गोदाममै गएर खाद्यान्नको अवस्था के छ भनेर हेरेर आएका छौं, जसको कारणले गर्दा पनि बजारमा खाद्यान्नको अभाव हुँदैन । ढुवानी भाडा बढेकाले केहीमा सामान्य मूल्य बढे पनि धेरै बढेको छैन । मास्क, स्यानिटाइजर लगायतका सामग्रीहरू कृत्रिम अभाव गराएर कालोबजारी गर्न सक्ने भएकाले होलसेल पसल र उत्पादन स्थलमै अनुगमन गरेका छौं । कोरोना (कोभिड–१९) को महामारी नियन्त्रण गर्न जारी गरेको निषेधाज्ञाका बेला उपत्यकालगायत मुलुकभर खाद्यान्न, औषधि, मेडिकल सामान, मास्क, स्यानिटाइजर लगायतका दैनिक उपभोग्य वस्तुको आपूर्ति एवं उपलब्धता र स्टकका बारेमा केन्द्रित भई विभागले बजार अनुगमनको कामलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा अनुचित व्यावसायिक क्रियाकलाप गर्ने व्यवसायीलाई कारबाही गर्दै आएको छ । अहिले बजारमा वस्तुको उपलब्धतामा समस्या छैन । पसलमा भएको सामान पनि लुकाई मूल्य बढेको बाहेक अन्य किसिमले मास्कमा मूल्य बढाउनुपर्ने कारण छैन, सामान पर्याप्त छन् । फ्याक्ट्रीमै गएर मास्कको उत्पादन मूल्य र बजार मूल्य कति भनेर विभागको वेबसाइटमै राखेका छौं । यसले गर्दा उपभोक्ता पनि सजग भई ठगिनबाट जोगिनुहुन्छ । कालोबजारी गर्ने पसललाई कारबाही पनि गरेका छौं । खाद्यान्नको ढुवानीमा अवरोध नभएकाले नियमित रूपमा बजारमा खाद्यान्नको आपूर्ति सहज ढंगले भइरहेको छ । कृत्रिम अभाव हुनसक्ने हुँदा त्यसलाई नियन्त्रण गर्नका लागि खाद्यान्नको गोदाममा गएर खरिद बिल र बिक्री बिल हेरेका छौं । बिक्री बिलमा लिनुपर्ने नाफाभन्दा बढी लिएर बिल काटेको छ कि छैन भनेर हेरेका छौं । चिनी र खाने तेलमा मूल्य बढ्यो भनेर हामीलाई जानकारी आएको छ । तेल र चिनीका उत्पादकलाई मंगलबार बोलाएर मूल्य बढ्नुको कारणका बारेमा जानकारी दिनेछौं । बजारमा उपभोग्य वस्तुहरू पर्याप्त मात्रामा उपलव्ध रहेको हुनाले त्यस सम्बन्धमा कुनै किसिमको अफवाहको पछि नलाग्न उपभोक्तालाई अनुरोध गर्दछु । उपभोक्ता पनि सचेत भएर वस्तु तथा सेवाको खरिद गर्नुपर्छ । विभागको एकल प्रयासले बजारमा हुने गलत क्रियाकलाप नियन्त्रण गर्न कठिन हुने भएकाले मन्त्रालयको ¥यापिड रेस्पोन्स टिमले थप जनशक्ति पठाउने कुरा भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीज्यूले मंगलबारदेखि संयुक्त अनुगमन गर्ने भन्नुभएको छ । जिल्ला प्रशासन कार्यालयसहित मंगलबारदेखि बजारमा संयुक्त अनुगमन टोली पठाउँछौं । थप जनशक्ति परिचालन गरेर बजार अनुगमनको कामलाई तीव्रता दिन्छौं । पछिल्लो केही दिनयता दैनिक रूपमा तीनवटा टोली पठाएर बजार अनुगमन गरेका छौं । अनुगमनका क्रममा कैफियत फेला परे तत्काल कारबाही गरेका छौं । निषेधाज्ञाको समयमा कृत्रिम अभाव गराएर सामानमा कालोबजारी गर्नेलाई तत्काल उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरेका छौं ।
खाद्यान्नका पसल बिहानदेखि बेलुकासम्म खोल्ने व्यवस्था गर्नुपर्छ
माधव तिमिल्सेना
अध्यक्ष
उपभोक्ता अधिकार अनुसन्धान मञ्च
निषेधाज्ञाको बेला बजारमा अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त रहेकाले उपभोक्ताहरू आत्तिनु पर्दैन । चाहिनेभन्दा बढी मात्रामा खरिद गरेर स्टक गर्ने गर्नु भएन । खाद्यान्नहरूमा दाल, चामल, तेल, खाना पकाउने एलपीजी ग्यास बजारमा अभाव नभएको अवस्थामा होल्ड गर्न आवश्यक छैन । कसैले सामान लुकाएको छ, बढी मूल्य लिएको छ । लेबल, म्याद नाघेका सामान बिक्री गरेको छ । नाफा कमाउने यही मौका हो भनेर गलत तरिकाले व्यापार व्यवसाय गरेको छ भने तरुन्त प्रहरी, वाणिज्य विभाग र उपभोक्ता अधिकारवादी संस्थामा उपभोक्ताले खबर गर्नुपर्छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनलाई जसरी कडाइ गरेको छ, यसलाई अझ प्रभावकारी ढंगले अगाडि बढाएर गल्ती गर्ने व्यवसायीलाई कारबाही गर्ने र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गर्नुपर्छ । आमउपभोक्तालाई दैनिक रूपमा गर्न नसकेपछि हप्तामा एकपटक बजारको अवस्थामा खाद्यान्नको अभाव छैन, आपूर्ति सहज भइरहेको भनेर उपभोक्तालाई विभागले जानकारी गराउनुपर्छ । होलसेल, खुद्रा वा मध्यम खालका व्यवसायी, उद्योगी, आयातकर्ता सबैले कोभिडको संक्रमण बढिरहेका बेला सबै नागरिक घरमा बसेको बेला अत्यावश्यक वस्तुको मूल्य बढाउने, कार्टेलिङ गर्ने काम गर्नु हुँदैन । विशेषगरी चिनीमा उद्योगीहरूले प्रतिकेजीमा १० रुपैयाँ मूल्य बढाउने काम गरेका छन् । होटेल, रेस्टुराँ, पार्टी प्यालेस, मिठाइँ पसल बन्द छन् । यस्तो अवस्थामा पनि व्यवसायीले मूल्य बढाउने काम गरेका छन् । यो अत्यन्त निन्दनीय कार्य हो । विशेषगरी मेडिकल सामानहरू मास्क, ग्लोब, पन्जा, स्यानिटाइजर, सिरिज, ज्वरो नाप्ने थर्मोमिटर सबै वस्तुमा मूल्य बढाउने काम भइरहेको छ । त्यसमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लेखिएको हुँदैन । लेबलबिनाको सामानमा उपभोक्ताको अनुहार हेरेर मूल्य निर्धारण गर्ने काम भएको छ । विशेषगरी वाणिज्य विभागले स्थायी, आकस्मिक टिम बनाएर मेडिकल सामान र खाद्यान्नमा अनुगमन तीव्र रूपमा बढाउनुपर्छ । आपूर्ति व्यवस्था सहज गर्नका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गराएर ढुवानी गाडी निरन्तर रूपमा आवतजावत गर्ने व्यवस्था गराउनुपर्छ । सामान बोकेको बेला छोड्ने र खाली गाडीलाई सडकमा रोक्ने काम भइरहेको छ । यसले गर्दा कालोबजारी गर्ने व्यवसायीलाई फाइदा हुन्छ । व्यवसायीका समस्यालाई पनि सरकारले सहजीकरण गरिदिनुपर्छ । विभागसँग अनुगमन गर्न जाँदा निजी क्षेत्रसँग ६ महिनालाई पुग्ने खाद्यान्न दाल, चामल तेल, चिनी गोदाममा पर्याप्त मात्रामा भण्डारण रहेकाले आत्तिनुपर्ने अवस्था छैन । विभागले मास्कमा बढी मूल्य लिने पसल, खाद्यान्न पसललाई कारबाही गरेको छ । उपभोक्ताको अधिकार संरक्षण हुने गरी विभागले अनुगमनको कामलाई अगाडि बढाउनुपर्छ । विभागमा स्रोतसाधन र जनशक्तिको समस्या छ । यसलाई व्यवस्थापन गर्दै नियमनको कामलाई प्रभावकारी बनाउन सकियो भने बजारमा आपूर्ति व्यवस्था सहज भई ठगी पनि कम हुन्छ । अत्यावश्यक वस्तुका पसल बिहान १० बजेसम्म खुला गर्दा आमउपभोक्ताहरू भीडभाड लाग्ने गरेको छ । बजारमा आपूर्ति व्यवस्थालाई सहज बनाउनका लागि खाद्यान्न र तरकारीका पसललाई बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खोल्ने व्यवस्था गराउनुपर्छ । यसले गर्दा मान्छेले आवश्यक परेको बेला गएर सामान खरिद गर्छ । एकैचोटि पसल डिपार्टमेन्टल स्टोरमा गएर भीडभाड पनि बढी हुँदैन । अहिले एउटै पसलमा धेरै मानिसको भीडभाड लाग्ने गर्छ । यसले गर्दा कोरोना संक्रमण हुने सम्भावना पनि बढी हुन्छ । मूल्य बढी लिने, स्टिकर नयाँ टाँस्ने, मूल्य बढेको छ भनेर अनावश्यक हल्ला फैलाउने, न्यून गुणस्तरलाई मिसावट गरेर उच्च गुणस्तरको भनेर बिक्री गर्ने काम भएको छ ।
खाद्यान्नको मूल्य बढेको छ
रामकुमार श्रेष्ठ
अध्यक्ष
नेपाल खुद्रा व्यापार संघ
बजारमा दैनिक उपभोग्य वस्तुको अभाव छैन । नियमित रूपमा आइरहेकाले उपभोक्ताले सहजै पाउन सक्छन् । तर बिचौलियाले दैनिक उपभोग्य वस्तुमा मूल्य बढाएका छन् । तेल, चिनी, चामल, गेडागुडी दालको मूल्य एक्कासि बढेको छ । निषेधाज्ञा जारी गरेको पाँच दिन भयो, बजारमा मूल्य बढेको छ । यसको मार उपभोक्तालाई पर्न गएको छ । एक साताअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल हुँदाखेरि तीन÷चार महिनालाई पुग्ने सामान पर्याप्त छ भनेर कुरा भयो, तर तत्काल मूल्य बढ्दाखेरि उपभोक्तालाई असर परेको छ । ८० रुपैयाँ रहेको चिनी प्रतिकेजी होलसेल मूल्य ८६ पुगेको छ । व्यवसायीले कृत्रिम अभाव गराएर चिनीमा मूल्य बढाएका छन् । ठूला होलसेल व्यवसायी र आयातकर्ताले मूल्य बढाएका हुन् ।
सामान पर्याप्त हुँदाहुँदै पनि कृत्रिम अभाव गराएर व्यवसायीले मूल्य बढाएका छन् । यसको असर खुद्रा व्यवसायी र उपभोक्तालाई पर्न गएको छ । मूल्य बढेको छ भनेर वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराएको थिएँ । उपभोक्तालाई सेवा दिने भनेर व्यवसायी बसेका हुन्छन् । मूल्य बढ्दा साना खुद्रा व्यवसायीलाई असर पर्ने हुन्छ । हिजो यतिमा लगेको आज किन मूल्य बढाएको भनेर उपभोक्ताले गुनासो गर्नुहुन्छ । अनुगमन गर्दाखेरि ठूला व्यवसायीलाई नगरेर साना व्यवसायीमा हुने गर्छ । गेडागुडीमा १० प्रतिशत, खाने तेलमा फेरि प्रतिप्याकेट १० देखि १५ रुपैयाँ मूल्य बढेको छ । २ सय ४० रुपैयाँ रहेको भटमास÷सन फ्लावरको तेल अहिले बढेर २ सय ५५ देखि ६० पुगेको छ । मास, मुसुरो, रहरको दाल प्रतिकेजीमा १० रुपैयाँ बढेको छ । चिनी चामल प्रतिकिलोमा २ रुपैयाँ मूल्य बढेको छ । बाहिरबाटै मूल्य बढेर आएकाले मूल्य बढाउनुपरेको होलसेल व्यापारीले भन्ने गरेका छन् । चामल प्रतिकेजी २ देखि ५ सय मूल्य बढेको छ । कोभिड संक्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा लागू गरेको छ । बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म अत्यावश्यक वस्तुका पसल खोल्न पाइने व्यवस्था गरिएको छ । आफ्नै घरमा पसल राख्नेलाई त केही समस्या छैन । टाढा बस्नेलाई बेलुका फेरि ५ बजे पसल खोल्न आउनुपर्ने हुँदा धेरै समस्या भएको छ । जान–आउनका लागि पनि साधन चाहियो । आफ्नो परिचय खुल्ने गरी कार्ड बोकेर साधन प्रयोग गर्नु भनिएको छ, बीचमा एक जनाले छोड्ने अरूले नछोड्ने हुँदा समस्या पनि भइरहेको छ । सम्बन्धित निकायबीच समन्वय नभएका कारणले गर्दा पनि यस्ता समस्या धेरै आउने गरेका छन् । अहिले सामान ल्याउन पनि समस्या भइरहेको छ । कोभिड लाग्ने गरी उपभोक्तालाई सेवा दिनका लागि व्यापार गर्न खोज्दा पनि नराम्रो प्रभाव परिरहेको छ । व्यवसायलाई व्यवसाय सञ्चालनका लागि अहिले धेरै नै जोखिम रहेको छ । उपभोक्ताले पनि कोभिडको डरले सामान खरिद गरेर मौज्दात राख्न थालेका छन् । बजारमा निस्कन डर हुने भएकाले पनि एकैपटक महिना दिनलाई पुग्ने सामान खरिद गर्ने गरेको देखिन्छ । बजारमा सामानको अभाव छैन । तर, डेलिभरी पहिलेजस्तो दैनिक रूपमा हुन सकेको छैन । यति बेला बजार अनुगमन गर्नुपर्ने हो, तर हुन सकेको छैन ।
कोभिडको त्रासले पर्याप्त सामान वितरण गर्न सकेका छैनौं
दुर्गाराज श्रेष्ठ
उपाध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेश
आमउपभोक्ता आत्तिनुपर्ने अवस्था छैन । कोरोना महामारीका कारण दोस्रो चरणको निषेधाज्ञाका कारण आमउपभोक्ता बजारमा अत्यावश्यक वस्तुको अभाव हुन्छ कि भनेर आत्तिनुपर्ने अवस्था छैन । व्यवसायीसँग पर्याप्त मात्रामा उपभोग्य सामानको मौज्दात छ । कोभिडको संक्रमण बढ्दै गए पनि आपूर्ति व्यवस्था नियमित गर्न नसक्दा सामान्य अवरोध आएको छ । कोभिडका कारणले त्रास बढेको छ । अहिले स्वतःस्फूर्त रूपमा काम गर्ने कम छन् । अत्यावश्यक वस्तुको आपूर्तिमा बिहान १० बजेसम्म कुनै अवरोध नभए पनि कोभिडको त्रासले सामान पु¥याउन जान सकिएको छ । कोभिडको कारणले अत्यावश्यक वस्तुमा पनि कमी भएको छ । भारतमा कोभिडको असर व्यापक रूपमा देखिएकाले त्यसको प्रभाव नेपालमा पनि पर्न गएको छ । एक–डेढ महिनालाई पुग्ने सामान मौज्दात रहेकाले बजारमा अभाव हुँदैन । गोदाममा सामान पर्याप्त भए पनि आपूर्ति गर्न सकिएको छैन । सामान वितरण गर्दा रकम समाउनुपर्छ । काठमाडौंका धेरै पसलमा काम गर्ने व्यक्तिमा कोभिड लागेको छ । सामान दिएर पैसा लिँदा कोभिडको संक्रमण हुनसक्ने डरले हामी आफैं सतर्क भएर सामान पु¥याउन सकेका छैनौं । निषेधाज्ञा गर्नु एक हप्तादेखि नै बजारमा यसको चर्चा थियो । त्यसबेला एक हप्तामा सामानको वितरण धेरै नै भयो । उपभोक्ताले पनि आवश्यक पर्ने सामान भण्डारण गरेर राखेका छन् । अहिले बिहान बजारमा पसल खुले पनि त्यति धेरै चहलपहल छैन । अघिल्लो वर्षको लकडाउनलाई मध्यनजर गरेर पनि उपभोक्ताले दुई–तीन सातालाई पुग्ने सामान खरिद गरेर राखिसकेका छन् । अहिले कोभिडको कारणले व्यवसायीहरूले बजारमा सामान पठाउन सकेका छैनन् । सामान पर्याप्तमा मौज्दात भएकाले उपभोक्ता आत्तिनुपर्ने अवस्था छैन । खाने तेलको मूल्यमा अनियमितता भएको हो कि भनेर वाणिज्य विभागले चासो राखेको थियो । तर, त्यसपछि केही भएन । अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्य बढेर आएकाले त्यसको असर स्थानीय बजारमा पर्न गएको छ । भारतमा पनि तेलको मूल्य बढेको छ । अघिल्लो वर्ष प्रतिलिटर १ सय ४० रुपैयाँ रहेको तेलको मूल्य बढेर अहिले २ सय ५० पुगेको छ । भारतमै तेलको मूल्य बढेर आएको भन्दै स्वदेशी बजारमा तेलमा अस्वाभाविक मूल्य बढेको छ । सरकारी संयन्त्र कमजोर भएका कारण पनि व्यवसायीले तेलमा अलि धेरै नै मूल्य बढाएको देखिन्छ । अन्य खाद्यान्नको मूल्य भने त्यति बढेको छैन ।
कोभिडको संक्रमण बढ्दै गएपछि आपूर्ति व्यवस्था सुचारु चल्न सक्ने यथेष्ट समय र कर्मचारी व्यवस्थापनमा कठिनाइ आएको छ । जसका कारणले पनि आपूर्तिमा प्रभाव पर्नु स्वाभाविकै हो । अहिलेको समय व्यवसायभन्दा पनि स्वास्थ्य महŒवपूर्ण छ । त्यसैले नियमित रूपमा सामान बजारमा पठाउन सकेका छैनौं । हामीले सम्पूर्ण व्यवसायीहरूलाई सजग, सचेत, पारदर्शी र सुरक्षित कारोबार गर्न आग्रह गरेका छौं । नेपालका सम्पूर्ण उद्योगी–व्यवसायी दिमागले भन्दा पनि दिलले व्यवसाय गर्ने भएकाले हामी निश्चिन्त छौं । आगामी हप्ताबाट हाल असहज रहेको आपूर्ति व्यवस्थालाई सहज बनाउन विभिन्न निकायबीच छलफल गरिरहेका छौं । बजारमा अभाव नहुने गरी आपूर्ति व्यवस्थालाई निरन्तरता दिन्छौं ।