इसेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने

उपभोक्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । यो सँगै आफूले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी सहज ढंगले इसेवा खातामा रकम लोड गर्न सकिने कम्पनीले जनाएको छ ।
इसेवा एकाउन्टलाई बैंक एकाउन्टमा लिंक गरिसकेपछि प्रयोगकर्ताले मोबाइल बैंकिङमार्फत अझ सहज ढंगले इसेवामा रकम लोड गर्न सक्ने भन्दै कम्पनीले आफ्ना प्रयोगकर्तालाई रकम लोड गर्न अझ सहज होस् भन्ने उद्देश्यले एकाउन्ट लिंक गर्न सकिने सुविधा ल्याएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए ।
“इसेवा जहिले पनि आफ्ना प्रयोगकर्तालाई नविनतम सेवा दिनका लागि अग्रसर छ” उनले भने, “नयाँ सेवाका साथै प्रयोगकर्तालाई रकम लोड गर्नका लागि अझ सहज होस् भन्ने कुरालाई ध्यानमा राख्दै यो सेवाको सुरूवात गरेका हौं ।”
एकाउन्ट लिंक सेवा प्रयोग गर्नका लागि इसेवा प्रयोगकर्ताको इसेवा एकाउन्ट प्रमाणित भएको हुनुपर्नेछ । साथै यो सेवा लिनका लागि इसेवा प्रयोगकर्तासँग एकाउन्ट लिंक गर्ने बैंकको मोबाइल बैंकिङ लिएको हुनुपर्ने कम्पनीले जनाएको छ । इसेवामा र बैंकमा रहेको मोबाइल नम्बर पनि एउटै हुनुपर्नेछ । यी दुवै ठाउँमा मोबाइल नम्बर फरक परेमा इसेवा एकाउन्टमा सेकेण्डरी आइडीका रुपमा राख्न सकिने कम्पनीले जनाएको छ ।