पर्यटन सेवा प्रदायक संस्था धरासायी «

पर्यटन सेवा प्रदायक संस्था धरासायी


कोरोना महामारीको प्रभावले पर्यटन व्यवसायीसँगै पर्यटन सम्बन्धी सेवा प्रदायक संस्थाहरु पनि संकटमा परेका छन् । कोरोना प्रभावसँगै पर्यटकहरुको आगमन कमी हुन थालेपछि पर्यटन सेवा प्रदायक संस्थाहरु संकटमा पर्दै आएका हुन् ।
लमजुङमा अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप र ट्रेकिङ एजेन्सी एशोसिएसन नेपालले पर्यटन सम्बन्धी सेवा प्रवाह गर्दै आएका छन् । तर अघिल्लो वर्षदेखि यी दुवै संस्थाको सेवा प्रवाह खस्कँदै गएको छ ।
जिल्लाका विभिन्न स्थानमा पर्यटक जाँच केन्द्र एक्याप र टानले पर्यटकहरुको आगमन कमी भएसँगै आफ्नो कार्यालयनै विस्थापित भएका छन् । एक्यापले जिल्लाको मस्र्याङ्दी गाउँपालिका–९, खुदी र घलेगाउँको पर्यटक चेक पोष्ट कार्यालय बन्द गरेको छ भने टानले सदरमुकाम बेसीशहरमा स्थापना गरेको पर्यटक सूचना व्यवस्था प्रणाली टिम्सको कार्यालय बन्द गरेको हो ।
एक्यापले जिल्लाको दुईवटा कार्यालय बन्द गरी इलाका कार्यालय भुजुङ र सदरमुकाम बेसीशहरमा मात्रै कार्यालय सञ्चालन गरेको छ भने टानको एकमात्र कार्यालय पूर्णरुपमा बन्द भएको छ ।
पर्यटक आगमन कमी भएसँगै बन्द भएको टिम्सको कार्यालय पर्यटकीय गतिविधि पुनः सञ्चालन नभएसम्म सञ्चालन गर्न नसकिने टान पश्चिमाञ्चल अध्यक्ष सुशीलराज पौडेलले बताए । पर्यटन सेवा प्रवाहका लागि नेपाल सरकारबाट आधिकारिक मान्यता पाएर काम कारवाही गर्दै आएको टानले नेपाल सरकारले पुन जिम्मेवारी नदिएसम्म काम कारवाही अघि बढाउन नसकिने अध्यक्ष पौडेलको भनाइ छ ।
जिल्लामा टानले टिम्समार्फत विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग र अन्य जिल्ला भित्रिएका र जिल्लाबाट बाहिरिने पदयात्री पर्यटकहरुको सूचना तथा तथ्यांक संकलन गर्दै आएको थियो । यता एक्यापले भने अन्नपूर्ण संरक्षण क्षेत्रभित्र प्रवेश गर्ने पर्यटकहरुलाई अनुमति दिने र उनीहरुको तथ्यांक राख्दै आएको थियो ।
टान र एक्याप दुवै संस्थाले संस्थाको प्रावधान बमोजिम पर्यटकहरुबाट शुल्क उठाएर सरकारलाई राजस्व बुझाउने सोही रकमको केही हिस्साबाट कार्यालय व्यवस्थापन गर्दै आएका थिए । पर्यटक आगमन ठप्प भएसँगै दुवै संस्थाहरुको नियमित आर्थिक संकलन कार्यपनि रोकिनुका साथै कार्यालय र कर्मचारी व्यवस्थापनमा पनि समस्या भएको छ । कार्यालय विस्थापित भएसँगै केही कर्मचारीहरुको रोजगारी समेत गुमेको छ ।
हाल एक्यापले सदरमुकाम बेसीशहरको कार्यालयबाट साविक जस्तै पर्यटकहरुलाई अनुमति पत्र प्रदान गर्दै आएको छ । बेसीशहरस्थित टिम्सको कार्यालय विस्थापित भएपछि अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङमा मात्रै पर्यटक जाँच हुने गरेको छ ।
वर्षमा कम्तीमा दुई सिजन बाह्य पर्यटकको चाप रहने लमजुङमा कोभिड प्रभावका कारण गत वर्ष देखिनै पर्यटन व्यवसाय सुनसान छ । हाल कोरोना प्रभाव कम हुँदै गएको अवस्थामा केही पर्यटकहरुको आगमन भएपनि पुनः दोश्रो चरणको कोरोना प्रभावले पर्यटन व्यवसाय पनि पुनः धरापमा परेको छ । कोभिडका कारण लामो समय लकडाउन हुँदा पर्यटक सेवा प्रदायक संस्थासँगै पर्यटन व्यवसायीहरु पनि संकटमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्