संक्रमण दर नघट्दा बाँकेमा निषेधाज्ञा थप «

संक्रमण दर नघट्दा बाँकेमा निषेधाज्ञा थप


बाँकेमा जारी निषेधाज्ञा २७ गतेसम्मका लागि थप गरिएको छ । वैशाख १३ गते राती १२ बजेदेखि निषेधाज्ञा जारी गरिएकोमा संक्रमण नघटेपछि वैशाख २७ गते राती १२ बजेसम्मका लागि थप गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गरी कोरोना संक्रमणको साङ्लो तोडन भन्दै निषेधाज्ञा जारी गरिएकोमा संक्रमण दरमा कमी नआएका कारण आदेशलाई निरन्तरता दिइएको जनाएको छ । यसअघि बैंकका सेवासमेत पूर्णरूपमा बन्द रहेकोमा अब सीमित संख्याका कर्मचारीबाट दैनिक तीन घण्टा सञ्चालन गर्ने गरी बैंक खोल्न पाइने भएको छ ।
संक्रमण बढेपछि वैशाख ९ गतेदेखि नेपालगन्जमा निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता जिल्लाभर संक्रमण फैलिन थालेको भन्दै बाँकेमा वैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणका कारण बाँकेमा हालसम्म १३७ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि आएका १२२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

२० दिनमा एक हजार नौ सय ६९ ले जिते कोरोना
कोरोना संक्रमण भयावह रूपमा बढेको बाँकेमा कोरोना जित्नेको संख्या पनि बढ्दै गएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांकअनुसार वैशाख १ देखि २० गतेसम्म जिल्लाका एक हजार नौ सय ६९ जनाले कोरोना जितेका छन् । जसमध्ये एक सय ७८ महिला र एक हजार ९१ पुरुष रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । वैशाख १६ गते यता कोरोना निको हुनेको संख्या पनि बढेको छ । केन्द्रको तथ्यांकअनुसार वैशाख १६ मा दुई सय ४४ जना, १७ गते दुई सय ५, १८ गते २ सय ५०, १९ गते ३ सय ५ जना र २० वैशाखमा सबैभन्दा बढी ३ सय ४५ जनाले कोरोना परास्त गरेका छन ।

२० दिनमा एक सय १० को मृत्यु
कोरोना भाइरसका कारण बाँकेमा २० दिनको अवधिमा एक सय १० जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांकअनुसार वैशाख १ देखि २० गते १ बजेसम्म ११० जनाले ज्यान गुमाएका हुन् । यो बाँकेका साथै उपचारका लागि अन्य जिल्लाबाट आएका मृतकको संख्या हो ।
कोरोना भाइरसको पहिलो लहर सुरु भएपछि चैत मसान्तसम्म १ सय ४९ जना संक्रमितको मृत्यु भएको थियो । डीसीसीएमसीको तथ्यांकअनुसार गत वर्षको मृत्युदर हेर्दा विभिन्न जिल्लाबाट बाँकेका अस्पतालमा उपचारका लागि आएका बाहिर जिल्लाका व्यक्ति धेरै थिए भने कोरोनाको दोस्रो लहर सुरु भएयता बाँकेका व्यक्तिको मृत्युदर बढी भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर ओलीले बताए ।
कोरोना भाइरसका कारण गत चैथ मसान्तसम्म बाँकेका ५८ जनाले ज्यान गुमाउँदा अन्य जिल्लावाट बाँकेका अस्पतालमा उपचारका लागि आएका ९१ जनाले ज्यान गुमाएका थिए । तर, वैशाख १ गते यता ज्यान गुमाउनेमा अधिकांश बाँकेका भएको र त्यसमा पनि नेपालगन्जका धेरै भएको फोकल पर्सन ओली बताउँछन् ।
यसवर्ष २० दिनको अवधिमा अन्य जिल्लाको तुलनामा बाँकेका तीनगुणा बढीको भाइरस संक्रमणवाट मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजे यो समाचार तयार पार्दासम्म बाँकेका मात्र ७९ जनाले भाइरस संक्रमणवाट ज्यान गुमाइसकेका छन् । त्यस्तै ३१ जना अन्य जिल्लाबाट बाँकेका अस्पतालमा उपचारका लागि आएका व्यक्तिले ज्यान गुमाएका हुन् । जिल्लाको संक्रमण र मृत्युको तथ्यांक हेर्दा वैशाख ६ गतेदेखि यता संक्रमण तीव्ररूपमा फैलिएको देखिन्छ । त्यसयता परीक्षण गरिएका नमुनामध्ये कुनै दिन ८० प्रतिशत बढीमा पनि संक्रमण देखिएको छ ।
यो तथ्यांक हेर्दा संक्रमण बढेसँंगै मृत्युदर पनि बाँकेमा धेरै छ । समुदायमा संक्रमण तीव्ररूपमा फैलिएपछि बाँकेमा पीसीआर परीक्षण गर्नेको संख्या पनि बढेको छ । संक्रमण फैलिने दर हेर्दा वैशाख १ देखि १९ गतेसम्मको तथ्यांकअनुसार परीक्षण गरिएका नमुनामध्ये करिब ५४ प्रतिशतमा भाइरस पुष्टि भएको छ । चैत महिनामा बाँकेका २ सय २४ जनामा मात्र संक्रमण पुष्टि भएकोमा यो संख्या वैशाखमा ह्वातै बढेको छ । वैशाख १ देखि १९ सम्म बाँके र बाहिरका गरी ५ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको छ । हाल बाँकेमा ३ हजार ८ सय ९६ जना संक्रमित होम आइसोलेसनमा छन् भने ४ सय ५४ जना विभिन्न आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्