अक्सिजन अस्पताल र उपचारको प्रयोजनका लागि मात्र «

अक्सिजन अस्पताल र उपचारको प्रयोजनका लागि मात्र


सरकारले देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाएको छ ।
देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाएको बताएका हुन् ।
उनले ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिने पनि बताए । सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइने तथा लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गरिने पनि उनले बताए । लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिने छ, प्रधानमन्त्रीले भने ।
यसैबीच औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पनि घरमा जगेडा राखिएको अक्सिजन सिलिण्डर फिर्ता गर्न अपिल गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले कोरोनाको डरले घरमा जगेडा राखिएको अक्सिजन सिलिण्डर फिर्ता गर्न अपिल गरेका हुन् । कोरोना संक्रमण भइहाले अक्सिजनले बचाउने भन्दै सर्वसाधारणले आफूसँग भएको अक्सिजन सिलिण्डर फिर्ता नगरेपछि अहिले अभाव देखिएको छ ।
अक्सिजनको सिलिण्डर व्यक्तिको घरमा, जलविद्युत् आयोजनामा ठूला गाडीको वर्कसपमा र सुनका गरगहना बनाउने कारखानामा सिलिण्डर जगेडा रहेको छ । “सिलिण्डर घरमा राख्ने सबैले कम्पनीमा फिर्ता गरिदिनुस् । यसले मान्छेको ज्यान बचाउँछ” उनले भने, “यो ठूलो दान गरे सरह हो । यस्तो बेला सिलिण्डर घरमा राख्नु भनेको अपराध हो । सिलिण्डरको अभावले कोही मान्छे छट्पटाएर मर्ने अवस्था आयो भने पाप गरे सरह हुन्छ ।”
यस्तै अध्यक्ष बस्नेतले ठूला जलविद्युत् आयोजनामा पनि अक्सिजन सिलिण्डरको भण्डारण रहेकोले फिर्ता ल्याउनुपर्ने बताए । ठूला आयोजनामा फलाम काट्न, जोड्न अक्सिजनको आवश्यकता पर्छ । उनले भने, “अधिकांश जलविद्युत् आयोजनामा अक्सिजनका सयौं सिलिण्डर होल्ड भएर बसेको छ । ती सबै सिलिण्डर फिर्ता गर्नुपर्छ । मान्छेको जीवन बचाउनु अहिलेको पहिलो काम हो ।” अहिले अक्सिजन उत्पादन गर्ने उद्योगहरुले आफ्नो उत्पादन अस्पताललाई मात्र दिनुपर्ने अध्यक्ष बस्नेतले बताए । अक्सिजन उत्पादन उद्योगहरूलाई सरकारले गर्नुपर्ने सबै सहयोग गरिने पनि अध्यक्ष बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्