एक वर्षमा १५७ मुद्दा दर्ता «

एक वर्षमा १५७ मुद्दा दर्ता


लमजुङमा एक वर्षको अवधिमा एकसय ५७ वटा मुद्दा दर्ता भएको तथ्यांकले देखाएको छ । २०७७ वैशाखदेखि चैत मसान्तसम्मको तथ्यांक अनुसार विभिन्न शिर्षकमा जिल्ला प्रहरी कार्यालयमा एकसय ५७ मुद्दा दर्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङले दिएको तथ्यांक अनुसार जिल्लामा सबैभन्दा धेरै आत्महत्या सम्बन्धी मुद्दा दर्ता भएका छन् । जिल्लामा एक वर्षको अवधिमा ३२ वटा आत्महत्याका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरिक्षक ओमप्रकाश पुनले जानकारी दिए ।
जिल्लामा गत एक वर्षमा ३१ जनाले झुण्डिएर आत्महत्या गरेका छन् भने एक जनाले पानीमा हाम्फालेर आत्महत्या गरेको प्रहरी तथ्यांकले देखाएको छ । जिल्लामा सो बाहेक भवितव्य ज्यान सम्वन्धी २४ वटा घटना दर्ता भएका छन् भने फुटकर ज्यान सम्वन्धी मात्रै १८ वटा घटना दर्ता भएका छन् ।
अघिल्लो वर्षको तुलनामा जिल्लामा जवरजस्ती करणीका घटनाहरु पनि बढेको पाइएको छ । जिल्लामा अघिल्लो वर्ष २०७६ मा जवरजस्ती करणीका नौ घटना भएकोमा २०७७ को वैशाखदेखि चैतसम्म १५ वटा मुद्दा दर्ता भएको पाइएको छ । सो बाहेक जवरजस्ती करणी उद्योगमा मात्रै सातवटा र बाल यौन दुरुपयोगमा दुईवटा मुद्दा दर्ता भएका प्रहरी निरिक्षक पुनले जानकारी दिए
जिल्लामा एक वर्षको अवधीमा २५ वटा सार्वजनिक मुद्दाहरु दर्ता भएको पाइएको छ । प्रहरी तथ्यांक अनुसार सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्ध जिल्लामा २५ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । अघिल्लो वर्ष जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मुद्दा मध्ये सवैभन्दा धेरै सार्वजनिक मुद्दा रहेका थिए ।
जिल्लामा अघिल्लो वर्षको तुलनामा लागु औषध सम्वन्धी घटना भने कम भएको पाइएको छ । अघिल्लो वर्ष लागु औषध सम्वन्धी १२ वटा मुद्दा रहेकोमा २०७७ मा आठवटा मात्रै मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका अनुसार गत वर्ष चोरी, सवारी ज्यान र जुवा मुद्दामा पाँच÷पाँचवटा मुद्दा दर्ता भएका छन् ।
त्यसैगरी जिल्लामा कर्तव्य ज्यान सम्वन्धी चारवटा मुद्दा दर्ता भएका छन् भने बहुविवाह र अपराधिक उपद्रव सम्वन्धी तिन/तिनवटा मुद्दा दर्ता भएका छन् । एकवर्षको अवधीमा आत्महत्या दुरुत्साहन सम्वन्धी दुई, बोक्सीको आरोप सम्वन्धी दुई र पशुपंक्षी कशुर सम्वन्धी दुईवटा मुद्दा दर्ता भएको लमजुङ प्रहरीले जनाएको छ । सो बाहेक जिल्लामा गौबध सम्वन्धी एक, ज्यान मार्ने उद्योगसम्बन्धी एक, ठगी सम्बन्धी एक, विष्फोटक पदार्थ सम्वन्धी एक र कुटपिट अंगभंग सम्वन्धी एउटा मुद्दा दर्ता भएको पाइएको छ ।
प्रहरीका अनुसार दर्ता भएका विभिन्न मुद्दाहरुका प्रतिवादी मध्ये १० महिला सहित एक सय ६७ जनालाई पक्राउ गरिसकेको जनाएको छ । सोहि अवधीमा लामो समयदेखि फरार ६ जना प्रतिवादीहरुलाई पनि पक्राउ गर्न सफल भएको लमजुङ प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको तथ्यांक अनुसार गत वर्ष जिल्लामा चैत महिनामा सबैभन्दा बढी मुद्दा दर्ता भएको छ । चैत महिनामा मात्रै २२ वटा मुद्दा दर्ता भएको हो । प्रहरीका अनुसार जेठ महिनामा १८, असारमा १७ वटा, मसिरमा १५ वटा मुद्दा दर्ता भएका छन् भने असोज, कात्तिक र पुस महिनामा १४/१४ वटा मुद्दा दर्ता भएका छन् । यसैगरी गत वर्षको फागुन महिनामा १३, श्रावण महिनामा १२, भाद्र महिनामा ११, बैसाख महिनामा नौ र माघ महिनामा आठ वटा मात्रै मुद्दा दर्ता भएको प्रहरी तथ्यांकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मुद्दा बाहेक पनि अन्य विवादहरु पनि आउने गरेको प्रहरीले जनाएको छ । प्रहरीमा आएका साना तिना विवादलाई आपसी समझदारीमा मिलाएर पठाउने गरेको लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्