झापामा कोइला उद्योगमा आगलागी «

झापामा कोइला उद्योगमा आगलागी

झापाको बायोग्यास कोइला फ्याक्ट्रीमा आगलागी भएको छ । मेचीनगर– १५ मिलकोटस्थित उक्त बायोग्यासमा विद्युत् सर्ट भई लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।
सोमबार बिहान ३ बजेदेखि भइरहेको आगलागी यो समचार तयार पारुन्जेलसम्म नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । “सोमबार बिहान ३ बजेदेखि नै आगो लागिरहेको छ । झापाका विभिन्न स्थानीय तहसहित मोरङको उर्लाबारीको गरी ७ वटा दमकलले नियन्त्रण गर्ने प्रयास गरिरहेका छौँ” जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले भने, “केही समय नियन्त्रणमा आउने र पुनः सल्कने भएकाले अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।”
कोइला पोल्न प्रयोग गरिने काठको भुस रहेका कारण आगो नियन्त्रण गर्न समस्या भएको जनाइएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटेको छ । आगलागीबाट भएको क्षति विवरण भने अहिले नै बताउन नसकिने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्