कोरोना जोखिमका बीच यार्सा संकलक लेकतिर
कोरोना महामारीका बीच बझाङमा यार्सा संकलकहरू लेकतिर जाने थालेका छन् । यार्सा संकलनको सिजन सुरु भएसँगै संकलकहरू लेकतिर जान थालेका हुन् ।
वैशाखदेखि असारसम्म यार्सा संकलनका लागि र भदौदेखि मंसिरसम्म यहाँका जंगलमा अन्य जडीबुटी खोज्न मानिसहरू लेकतिर जाने गर्छन् । केही वर्षयता यार्सा तथा अन्य जडीबुटी संकलन गर्न लेकतिर जानेको संख्या बढ्दै गएको छ ।
यो समयमा बझाङ र अन्य जिल्लाबाट आएका मानिसले विभिन्न पाटनमा करिब १५ हजार पाल हाल्छन् । हरेक वर्ष बझाङमा यार्सा संकलनका लागि मात्रै ४८ हजारभन्दा बढी मानिसहरू लेकतिर जाने गरेका छन् ।
ग्रामीण भेगमा कोरोनाको उच्च जोखिम भएकै बेला यसरी हजारौंको संख्यामा मानिसहरू लेकतिर जाँदा झन् जोखिम हुने देखिन्छ । जिल्लाको साइपाल, तलकोट, सुर्मा, मस्टा, छबीस पाथीभेरा गाउँपालिका र बुंगल नगरपालिकाका स्थानीयहरूको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा तथा जडीबुटी नै रहेको छ ।
गत वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले यार्सागुम्बा पाइने पाटनहरूमा संकलकहरूको भीड हुने र कोरोनाको संक्रमण फैलिने खतरा भएपछि जोखिम न्यूनीकरणका लागि यार्सा संकलनमा रोक लगाएको थियो ।
स्थानीय तहले पनि यार्सा संकलन गर्न रोक लगाएको थियो । तर, यस वर्ष भने कुनै सूचना जारी गरेको छैन । जिल्लामा दिन प्रतिदिन संक्रमितको संख्या बढ्दै गए पनि यसबारेमा कुनै निकायको ध्यान गएको छैन ।
जिल्लाको उत्तरी भेगमा खाद्यान्न कम उत्पादन हुने र आयस्रोतका अन्य माध्यम नहुँदा यार्सा र जडीबुटी संकलन नै मुख्य आयस्रोतको आधार रहेको छ । आम्दानीको मुख्य स्रोत यार्सा भएपछि यस क्षेत्रका बासिन्दाहरू परिवारसहित यार्सा संकलनका लागि घरमा ताला लगाएर वैशाखदेखि असार मसान्तसम्म तीन महिनाका लागि लेकतिर जाने गरेका छन् ।
जंगलमा सबै एकै ठाउँ नहुने र यार्सा संकलन गर्दा अलग–अलग जानुपर्ने भएका कारण कोरोनाको जोखिम भने कम हुने संकलकहरू बताउँछन् ।
यार्सा संकलन गर्ने पाटनहरूमा हिउँ पग्लिन थालेपछि संकलकहरू वन क्षेत्रमा जाने क्रम बढेको बुङ्गल नगरपालिका वडा नं. २ का आनन्द धामीले बताए । उनले भने, “केही वर्षयता यार्सा खासै पाइँदैनथ्यो । गत वर्ष कोरोना महामारीका कारण भएको बन्दाबन्दी अर्थात् लकडाउनले संकलनको काम प्रभावित भयो । यार्सा संकलन गर्न नपाउँदा रोजीरोटी खोसियो ।”
यस वर्ष यार्साको उत्पादन राम्रो हुने देखिएपछि लेकतिर जानेको घुइँचो लाग्न थालेको उनको भनाइ छ । बुङ्गल नगरपालिकाका धौलाढुङ्गा, चुफी, कालीगाड, छरछरे, जलजला, नीलखट्टी, ठाडे सुर्मा र साइपाल गाउँपालिकाका जलजला, डाँफेचुली, तपोवन, डाँडा, नीलखट्टी, ठाडे, जर्सी, गोलढुंगा, माझा, फरालखेत, कालापानी, राइढुंगी स्याङ्वनलगायतका वन क्षेत्रमा यार्सा संकलकहरू पुगिसकेका छन् ।
वर्षभरिको परिवारको खर्च जोहो गर्न घरमा ताला लगाएर लेकतिर जाने गरेको साइपाल गाउँपालिका वडा नं. ४ का वसन्त बोहराले बताए । उनले भने, “रोजगारी केही छैन । आय आर्जन गर्ने माध्यम नै यार्सागुम्बा र जडीबुटी हो । गत वर्ष लकडाउनका कारण वन क्षेत्र बन्द हुँदा संकलन गर्न सकिएन । घर खर्च चलाउन धौधौ भयो ।” यार्साबाट मात्रै एक परिवारले तीन महिनाको अवधिमा ३ लाखदेखि ७ लाखजति आम्दानी हुन्छ । यार्सा तथा जडीबुटी संकलन नगरे भोकमरीको चपेटामा परिने गरेको उनको भनाइ छ ।
कोरोनाको संक्रमणबाट बच्न गत वर्ष यार्सा संकलन गर्ने पाटनहरू बन्द गरिएका थिए । यार्सा संकलन गर्न बन्द गरिएको भए पनि संकलकहरूले लुकीछिपी यार्सा संकलन गरेका थिए । गत वर्ष जिल्ला विपद् व्यवस्थापन समितिले वन बन्द गर्न भनेकाले संकलन कार्यमा रोक लगाइएको भए पनि यस वर्ष संकलन कार्य रोक्ने नरोक्नेबारे कुनै जानकारी नआएको डिभिजन वन कार्यालय, बझाङका कार्यालय प्रमुख कर्ण बहादुर खातीले बताए ।
उनले भने, “हाम्रो जिल्लामा अहिले यार्सा संकलन गर्ने सिजन नै हो । गत वर्ष रोक लगाउँदा पनि लुकीछिपी गएँ । संक्रमण तीव्र रूपमा फैलँदै छ । सबैले सचेत हुनुपर्ने हो । विभागबाट पनि कुनै पत्राचार भएको छैन् । सरकारले पनि यसबारेमा कुनै निर्णय गरेको छैन ।” विभागको निर्देशनअनुसार संकलन कार्यमा रोक लगाइने उनको भनाइ छ ।