Logo

एक दशकमा बैंकको प्रतिफलदर आधा घट्यो


लगानीकर्ताका लागि आकर्षक क्षेत्र मानिएको वाणिज्य बैंकहरुको प्रतिफल घट्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको तिव्र प्रतिस्पर्धा, कडा नियमन तथा पछिल्लो समयमा विविध कारणले व्यवसाय विस्तारमा अवरोधका कारण बैंकका लगानीकर्ताहरुले पाउने प्रतिफल घट्दै गएको हो ।
१२ वर्षअघि बैंकहरुको पुँजीको प्रतिफल (रिटर्न अन इक्विटी) औसत २७ प्रतिशत भन्दा बढी रहेकोमा हाल १४ प्रतिशतमा झरेको छ । सन् २००९ मा वाणिज्य बैंकहरुको रिटर्न अन इक्विटी औसतमा २७.५१ प्रतिशत थियो । २०२१ अप्रिलमा आइपुग्दा बैंकहरुको प्रतिफल औसतमा १३.८१ प्रतिशतमा झरेको छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल बैंकका लगानीकर्ताहरुको प्रतिफल निरन्तर घटिरहेको बताउँछन् । “बैंकले धेरै नाफा कमायो भनेर मात्र खुशी हुनुपर्ने अवस्था छैन,” उनले भने, “लगानीकर्ताहरुले पाउने प्रतिफल निरन्तर घटिरहेको छ ।”
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको रिटर्न अन इक्विटी सामान्य वृद्धि भएको जस्तो देखिए पनि बैंकहरुले खराब कर्जा असुली र कर्जा पुनर्तालिकीकरण तथा जोखिम व्यवस्थामा राष्ट्र बैंकले दिएको छुटका कारण नाफा बढाएको दाहालले बताए । हुनत खराब समयमा पनि हालको प्रतिफल नराम्रो भन्न नमिल्ने भन्दै उनले पछिल्लो चार वर्षयता अधिकांश वाणिज्य बैंकहरुले पुँजीमा प्रतिफल (रिटर्न अन इक्विटी) घटेको बताए ।
पुराना र विदेशी लगानी रहेका बैंकहरुको प्रतिफल उच्च गिरावट देखिएको भएतापनि हाल संचालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये चालु आर्थिक वर्षको चैतमा १७ वटाको बैंकको प्रतिफल घटेको छ । १० वटा बैंकको प्रतिफल वृद्धि भएकोमा केही बैंकको मात्र उच्च वृद्धि देखिएको छ ।
उच्च रुपमा प्रतिफल घट्ने बैंकहरूमा नेपाल एसबीआई, एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल क्रेडिट एण्ड कमर्श, हिमालयन, कृषि विकास, नेपाल बैंक, सेञ्चुरी र नबिल बैंकलगायत छन् । २०७४ असारमा १८.७८ प्रतिफल रहेको नेपाल एसबीआई बैंकको प्रतिफल २०७७ चैतमा आउँदा ८.१२ प्रतिशतमा झरेको छ । यसैगरी हिमालयन बैंकको १५.२९ बाट १०.०५ प्रतिशतमा, स्ट्यान्डर्ड चार्टर्डको १८.६६ बाट १०.६३, एभरेष्टको १९.०५ बाट १०.३१, कृषि विकासको १६.०२ बाट ९.७०, नेपाल बैंकको १६.२८ बाट ९.४६, सेन्चुरी बैंकको १०.६६ बाट ४.६४ प्रतिशतमा झरेको छ ।
अर्थविद् नरबहादुर थापाका अनुसार बैकको चुक्तापुँजी चार गुणाले वृद्धि भएतापनि त्यसको तुलनामा व्यवसाय विस्तार हुन नसक्नु तथा पछिल्लो वर्ष कोरोनाका कारण पनि व्यवसायमा संकुचन आउनुका कारण बैंकहरुको प्रतिफलमा नकारात्मक असर परेको हो । तर, खराब समयमा पनि दोहोरो अंकको प्रतिफल उत्साहजनक रहेको र यसबाट बैंकिङ व्यवसाय बलियो छ भन्ने सन्देश दिने उनी बताउँछन् ।
व्यवसाय विस्तारमा आक्रामक भएका केहि बैंकहरुको भने प्रतिफल वृद्धि भएको छ । सबैभन्दा बढी एनआइसी एशिया बैंकको प्रतिफलदर दोब्बरले वृद्धि भएको छ । २०७४ असारमा एनआइसी एशिया बैंकको रिटर्न अन इक्विटी १२.९२ प्रतिशत रहेकोमा २०७७ चैत मसान्तमा २३.२६ प्रतिशत पुगेको छ । यसैगरी प्रभु, सानिमा, राष्ट्रिय वाणिज्य, प्राइम, नेपाल बंगलादेश, एनएमबी, सिद्धार्थ, मेगा, कुमारी, सिटिजन्सलगायतका बैंकको प्रतिफलदर भने वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरको अन्तर (स्प्रेड) घटाउनुका साथै बैंकको शुल्कहरुमा पनि कडाइ गर्दै आएको छ । यसैगरी विपन्न वर्ग, कृषि, उर्जालगायतका क्षेत्रमा अनिवार्य कर्जा लगानी गर्नुपर्ने प्रावधानका कारण पनि बैंकहरुको खर्च बढिरहेको छ । संघीयता कार्यान्वयनसँगै बैंकहरुले पालिकामा शाखा विस्तार गर्नुपर्ने प्रावधानका कारण पनि बैंकहरुको संचालन खर्च बढेको छ ।
वाणिज्य बैंकहरुको पुँजी वृद्धिसँगै नाफा उच्च देखिए पनि लगानीकर्ताले पाउने प्रतिफल भने उत्साहजनक नभएको बैंकर गोविन्द गुरुङले बताए । “बैंकले यति नाफा गर्यो भनेर सबैको ध्यान खिच्छ,” उनले भने, “तर बैंकका लगानीकर्ताले पाउने प्रतिफल अन्य व्यवसायको भन्दा कम हुँदै गएको छ ।”

प्रतिक्रिया दिनुहोस्