पूँजीगत लाभकर गणना सहज बनाउन माग «

पूँजीगत लाभकर गणना सहज बनाउन माग


पूँजीगत लाभकर गणनाको लागि निर्धारण गरिने भारित औषत लागतलाई स्वचालित रुपमा गणना हुने व्यवस्था मिलाउन धितोपत्र धितोपत्र दलाल व्यवसायीहरुले माग गरेका छन् ।
धितोपत्र दलाल व्यवसायीहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले मर्जर तथा प्राप्तिपूर्व धारण गरिएका धितोपत्रहरुको कर छुट हुने अवधिभित्र गरिएको निःसर्गबाट सिर्जित लाभ तथा प्राप्त लाभांशलाई कर प्रणालिमा अभिलेखन हुने व्यवस्था मिलाउन तथा सार्वजनिक निष्कासनमा असम्बन्धित व्यक्तिहरुको नामबाट गरिने आवेदनलाई निरुत्साहित गर्न पनि माग गरेको छ ।
पूँजी बजारभित्रको दोस्रो बजारमा सक्रिय रहेको हुँदा दोस्रो बजारसँग सुधार गर्न तथा बजारको विकास गरी करको दायरा र राजस्व आम्दानी पनि वृद्धि गर्न सरकारलाई सुझाव दिँदै समग्र पुँजी बजारको विकासलाई सहजीकरण गरिदिन अर्थ मन्त्रालयलाई व्यवसायीेले अनुरोध गरेका छन् ।
धितोपत्रको दोस्रो बजार विस्तारका लागि धितोपत्र दलाल व्यवसायीहरुले एजेन्ट, सबब्रोकर वा आधिकारिक प्रतिनिधिमार्फत व्यवसाय विस्तार गर्न पाउने गरी कानुनी व्यवस्था मिलाउन पनि एसोसिएसको आग्रह छ ।
लगानीकर्ताहरुलाई अल्पकालीन र दीर्घकालीन लगानीकर्तामा वर्गिकरण गरी दीर्घकालीन लगानीकर्तालाई प्रोत्साहन गर्न कर सहुलियत उपलब्ध गराउन, संस्थागत लगानीकर्ताको सख्यामा वृद्धि गरी बजारलाई स्थायित्व प्रदान गर्न करको माध्यमबाट संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्न तथा पूँजीगत लाभकर तथा लाभांशमा लाग्ने कर अनिवार्य रुपमा लगानीकर्ताको प्यान नम्बरबाट जम्मा हुने व्यवस्था मिलाउन पनि धितोपत्र दलालले आग्रह गरेका छन् ।
ठूलो मात्रामा नयाँ कम्पनीहरु दोस्रो बजारमा सूचीकृत हुने अवस्था आएमा खरिदकर्ताको अभाव हुन गई पूँजी परिचालनमा बाधा उत्पन्न हुन सक्ने हुँदा गैरआवासीय नेपालीहरुको दोस्रो बजार प्रवेशलाई कानुनी तथा प्राविधिक रुपमा सहज बनाउन साथै ठूलो मात्रामा लगानी भित्र्याउन विदेशी संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा प्रवेश गराउन पनि व्यवसायीेले माग गरेका छन् । नेपाल स्टक एक्सचेञ्जमा विदेशी रणनीतिक साझेदार भित्र्याई उच्च प्रविधि, मानव संशाधन तथा लगानी औजारहरुको हस्तान्तरण एवं विकास गरी दोस्रो बजारको विकास तथा विविधिकरणलाई गति प्रदान गर्न पनि धितोपत्र दलाल व्यवसायीको माग छ ।
सरकारी ऋणपत्रलाई अभौतिकीकरण गरी यसको दोस्रो बजार कारोबारलाई चलायमान बनाउन, ऋणपत्र बजारको विकासका लागि अत्यवश्यक इन्ट्रेस्ट रेट इल्ड कर्भ निर्धारण गर्न सरकारी ऋणपत्रको भुक्तानी अवधि तथा निष्कासनलाई व्यवस्थित गरी इन्ट्रेस्ट रेट इल्ड कर्भ प्रत्यक्ष सम्प्रेषण गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।
ऋणपत्र बजारको विकासको लागि ऋणपत्रबाट प्राप्त हुने ब्याज आम्दानीमा लाग्ने कर व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुमा फरक रहेका कारण दोस्रो बजार कारोबार तथा राफसाफमा कठिनाइ उत्पन्न भएकोले सोमा एकरुपता कायम गर्न तथा ऋणपत्र लगानीबाट हुने पूँजीगत लाभमा लाग्ने करमा एक निश्चित अवधिको लागी प्रोत्साहन उपलब्ध गराउन पनि स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको माग छ ।
सेयर कारोबार राफसाफमा निहित जोखिम व्यवस्थापन गर्न आवश्यक ठूलो आकारको राफसाफ प्रत्याभूति कोषको स्थापनाको व्यवस्था तथा सञ्चालन गर्न सरकारको तर्फबाट पनि वित्तीय सहायता उपलब्ध गराउने माग गर्दै स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले धितोपत्र हस्तान्तरण गर्न नसक्दा त्यस्तो कारोबारलाई सिधै क्लोज आउटमार्फत राफसाफ गर्ने हालको व्यवस्थाको सट्टा अक्सन मार्केटको सञ्चालन गरी खरिदकर्ताले खरिद गरेको धितोपत्र पाउने सुनिश्चिता गर्न आग्रह गरेको छ ।
कुनै कारोबार क्लोज आउट मार्फत राफसाफ गर्दा खरिदकर्ताले प्राप्त गर्ने २० प्रतिशत अतिरिक्त रकमलाई आकस्मिक लाभ मानी २५ प्रतिशत कर कट्टी गर्ने व्यवस्था हाल प्रचलनमा रहेको छ । त्यसरी प्राप्त हुने २० प्रतिशत रकम आकस्मिक लाभ नभई खरिद गरेको धितोपत्र प्राप्त नहुने हँुदा उपलब्ध गराइएको क्षतिपूर्ति रकम हो । तसर्थ त्यसमा कर लगाउन जरुरी नरहेको अथवा त्यस्तो करको दर पूँजीगत लाभकरको बराबर कायम गर्दा न्यायोचित हुने देखिएको भन्दै स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले पूँजी बजारसँग सम्बन्धित अध्ययन, अनुसन्धान, तालिम, प्रशिक्षण, लगानीकर्ता सचेतना कार्यक्रम संचालन तथा प्रमाणीकरण गर्न एक आधिकारिक संस्थाको स्थापना गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्