Logo

अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता

अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बंगलादेशकी इभान्जेलिना बल प्रथम भएकी छन् । गैरआवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा सम्पन्न प्रतियोगितामा जापानका अभिनव गिरी द्वितीय भएका छन् भने पोर्चुगलकी मानस्वी खरालले तेस्रो स्थान हासिल गरेकी छन् ।
विजेता बलले १ हजार डलर, द्वितीय भएका गिरीले ५ सय डलर र तेस्रो स्थान हात पारेकी खरालले ३ सय डलर पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा अंग्रेजी भाषा कविताको विधातर्फ उत्कृष्ट हुँदै अमेरिकाकी ओजस्वी पसछेले २ सय डलरको पुरस्कार जितेकी छिन् ।

कार्यक्रमका विजेता सबैलाई प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बधाई दिँदै दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुले नेपाली भाषा, साहित्य र संस्कृतिलाई अनुशरण एवं प्रवद्र्धन गर्न विशिष्ट भूमिका खेल्नुपर्ने बताए । उनले एनआरएनए र अनेसास लगायतका संस्थाले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए । त्यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले हरसम्भव सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा विशिष्ट अतिथी पूर्वकुलपति एवं मूल्यांकन समितिका प्रमुख बैरागी काइँला, नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, एनआरएनएका अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष जीवा लामिछाने र भवन भट्ट, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास ट्रस्टीका सभापति गीता खत्रीको उपस्थिति रहेको थियो । यस्तै वरिष्ठ साहित्यकारहरू अशेष मल्ल, दिनेश अधिकारी, प्रकाश सायमी र डा. बिन्दु शर्माले आ–आफ्ना रचना वाचन एवं शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा अतिथी कविहरू रविन शर्मा (जापान), हिमान्शु निभा कुँवर (अमेरिका), तीर्थ सङ्गम राई (कतार), गणेश खडका (अफ्रिका), इसिका अधिकारी (युरोप), केशव सिग्देल (नेपाल), गोवद्र्धन पूजा (अमेरिका) र प्रविणा बराल (जापान) ले पनि आ–आफ्ना कविता वाचन गरेका थिए । आयोजकका तर्फबाट एनआरएनएका पूर्वकोषाध्यक्ष एवम् भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा समितिका सहअध्यक्ष महेश्वर पन्तले प्रतियोगिताको बारेमा जानकारी गराए ।
कार्यक्रममा एनआरएनएका महासचिव डा. हेमराज शर्मा, एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले शुभकामना मन्तव्य दिए । कार्यक्रम संयोजक अनेसासका महासचिव तथा एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेले धन्यवाद ज्ञापन गरे ।

यस्तै कार्यक्रममा मूल्यांकन समितिको तर्फबाट नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले नेपाली भाषाका प्रतियोगी र महेश पौडेलले अङ्ग्रेजी भाषाका प्रतियोगी मध्येबाट पुरस्कृत नामको घोषणा गरे ।
६० जना प्रतियोगी मध्येबाट अन्तिम चरणमा पुगेका कविहरू अभिनव गिरी, अंशु सुवाल, आगत खरेल, इभान्जेलिना बल, गुन्जना न्यौपाने, गङ्गा फुयाल, मानस्वी खराल, समृद्धि नेपाल, सरला बाराकोटी, सौगात पराजुलीले नेपालीमा र ओजस्वी पसछे, मारिया अधिकारी र प्रेमा पौड्यालले अङ्ग्रेजीमा कविता वाचन गरेका थिए ।
एनआरएनएका एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक पारसमणि पोखरेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता अनेसासका अध्यक्ष प्रकाश पौडेल ‘माइला’ले गरे ।

प्रतिक्रिया दिनुहोस्