लुम्बिनीको मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त «

लुम्बिनीको मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । आइतबार साँझ प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेललाई शपथ ग्रहण गराएका हुन् ।
यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका ४२ सांसदले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको नियुक्ति खारेज हुनुपर्ने भन्दै हस्ताक्षर बुझाएका थिए ।
विपक्षी गठबन्धनले ४२ जना सांसदको हस्ताक्षरसहित बहुमत दाबी गरेकै अवस्थामा पोखरेलले शपथ लिएका हुन् । आइतबार राजीनामा दिएर आइतबारै मुख्यमन्त्री नियुक्त भएका पोखरेललाई प्रदेश प्रमुख यादवले राति ८ बजे शपथ गराएका थिए ।
विपक्षी सांसदहरुले मुख्यमन्त्रीको शपथ रोक्न प्रदेश प्रमुख कार्यालयमा धर्ना नै दिएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेशसभामा बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख यादवसमक्ष दावी पेश गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिपछि विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरु प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना बसेका थिए । उनीहरुले प्रदेश प्रमुखले विधि र पद्धतिको उल्लङ्घन गर्दै असंवैधानिक कदम चालेको आरोप लगाएका छन् ।
विपक्षी नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खाँनले प्रदेश उपसभामुखको समेत कीर्ते हस्ताक्षर भएको र बहुमत सदस्य आफूहरुका पक्षमा रहेको जिकिर गरे । कुल ८१ प्रदेशसभा सदस्यमध्ये विपक्षी गठबन्धनमा ४२ प्रदेशसभा सदस्य रहेको जिकिर गरिएको छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र ) र जनता समाजवादी पार्टी छन् ।
‘हामी बहुमत सदस्यसहित आउँदैछौँ भनेर जानकारी गराउँदा गराउँदै पनि प्रदेश प्रमुखले असंवैधानिक कदम चाल्नुभयो,’ खाँनले भने ।
यता मुख्यमन्त्री पोखरेलका पक्षमा लागेका कपिलवस्तु क्षेत्र नं १ (क) बाट प्रदेशसभा सदस्य निवाचित दीर्घनारायण पाण्डे, कपिलवस्तु क्षेत्र नं २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी(बर्दघाट सुस्तापश्चिम)का अजयबहादुर शाहीले राजीनामा गर्दै विपक्षी गठबन्धनका प्रस्तावित मुख्यमन्त्री कुलप्रसाद केसीलाई समर्थन गरेका छन् ।
उता दाङको २ (ख) बाट निर्वाचित विमला खत्रीले पत्रकार सम्मेलन गर्दै आफू आफ्नो स्वविवेकमा माओवादी केन्द्रमा लागेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्