अर्थतन्त्रमा पुनर्कर्जा तथा सहुलियत कर्जाको सकारात्मक प्रभाव

सरकारले पहिल्यैदेखि पुनर्कर्जा तथा सहुलियत कर्जा दिँदै आए पनि कोभिडपश्चात् यसको दायरालाई निकै फराकिलो बनाएको छ । हालै सम्पन्न भएको नेपाल राष्ट्र बैंकको वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुनर्कर्जा तथा सहुलियत कर्जालाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने बताएका छन् । कोरोना कहरको दोस्रो लहर बढ्दै जाँदा सहुलियत कर्जाले निरन्तरता पाउनु पर्ने माग पनि बढ्दो छ । सहुलियत कर्जा बढ्दै जाँदा समग्र बैंकिङ क्षेत्र तथा अर्थतन्त्रमा यसको के–कस्तो प्रभाव पर्छ भन्ने विषयमा बैंकरसँग कारोबारकर्मी सुमित सुवेदीले गरेको कुराकानीको सार :
बैंक तथा वित्तीय संस्थामा सकारात्मक प्रभाव पार्छ
अनलराज भट्टराई बैंकर
कुनै पनि मुलुकमा तरलताको व्यवस्थापनका लागि सरकार तथा नियमनकारी निकायले विभिन्न पुनर्कर्जा तथा सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने गर्छन् । नेपालमा पनि कोरोनासँगसँगै भएको लकडाउनले एक त बैंकमा तरलता थुप्रिएको थियो भने अर्कातर्फ मानिसहरूलाई सस्तो दरमा ऋण चाहिएको थियो ।
बैंकिङ क्षेत्रमा भन्दा केही सस्तो दरमा अहिले सरकारले विभिन्न सहुलियत पूर्ण कर्जा दिँदा त्यसले बजारमा निकै राम्रो पैसा प्रवाह भएको छ, जुन अर्थतन्त्रका लागि निकै सकारात्मक कुरा हो । लगानीकर्ताले सस्तोमा ऋण पाउँदा ऋणको लागत घट्छ । ऋणको लागत कम हुनु भनेको उत्पादनको लागतमा कमी आउनु हो । उत्पादनमा विभिन्न किसिमका खर्चहरू लागेको हुन्छ । एउटा त कच्चा पदार्थमा लाग्ने खर्च भयो । अर्को, बैंकले दिने कर्जामा लाग्ने ब्याज पनि लागत खर्चमै जोडिन जान्छ ।
नेपालमा हेर्ने हो भने केही समयअघिदेखि पाँच वर्षसम्मका लागि ५ करोड रुपैयाँको कृषि सहुलियतपूर्ण कर्जा दिइँदै आएको छ । त्यसले कृषिमा केही न केही फरक पारेको छ । वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूले सहुलियत दरमा ऋण लिई कृषि क्षेत्रमा लगानी गर्दा हामीले उपभोग गर्दै आएका केही सामान आयातमा कटौती भएको छ ।
कुखुरा पालनमा नै हेर्ने हो भने १५ लाखसम्मको सहुलियत कर्जा दिइन्छ । महिलालाई पनि विभिन्न कर्जा दिइन्छ, जसले देशमा उद्यमशिलता बढ्न थाल्यो । त्यसैले पुनर्कर्जा तथा विभिन्न सहुलियत कर्जाहरूले बैंक तथा वित्तीय संस्थाको नाफामा असर पर्नुभन्दा पनि समग्रमा उद्यमशिलता बढाउँछन् । उद्यमशिलता बढ्नु भनेको त्यसले पुनः बैंकको कर्जाको माग बढाउनु हो । केही समयका लागि हेर्दा बैंकलाई घाटा लागेजस्तो देखिन्छ । तर, भविष्यमा यसको छुट्टै सकारात्मक प्रभाव पर्छ । हामीकहाँ हेर्ने हो भने सहकारीले दिने कर्जाको दर, फाइनान्स कम्पनीले दिने कर्जाको दर, विकास बैंकले दिने कर्जाको दर र वाणिज्य बैंकले दिने कर्जाको दर तथा सहुलियतपूर्ण कर्जाको दरमा सबैको दर फरक छ । सबैको दर फरक–फरक हुँदा पनि कर्जा त गइरहेको छ । आ–आफ्नो बजार हो । आ–आफ्नो तरिकाले गइरहेको छ नि ? कसैले कसैलाई दबाब सिर्जना गरेको छैन ।
पुनर्कर्जा तथा सहुलियत कर्जाले बैंक तथा वित्तीय संस्थामा सकारात्मक प्रभाव पार्छ । दीर्घकालीन अवस्थामा हेर्नुहुन्छ भने यसले समग्र अर्थतन्त्रमा निकै राम्रोे असर पर्ने भएकाले यसलाई निरन्तरता दिनु एकदमै ठीक हुन्छ । तर, यसलाई कत्तिको निरन्तरता दिन सकिन्छ त्यो मुख्य कुरा हो । एक वर्षलाई मात्र दिने कि वर्ष–वर्षमा दिने । केन्द्रीय बैंकले यसलाई निरन्तरता दिन प्रयास गरिरहेको छ । तर, केन्द्रीय बैंकका पनि आफ्नै सीमा छन् । सरकारको बजेटको कुरा छ । मौद्रिक नीतिका कुराहरू छन् । यो सबै हेर्दा निरन्तरता दिनु एकदमै राम्रो हो । दीर्घकालीन, मध्यकालीन र अल्पकालीन तीन किसिमको कर्जाको व्यवस्थापन गर्न सकियो भने निकै राम्रो हुन्छ ।
यदि पुनर्कर्जा तथा सहुलियत कर्जा दिइएन भने तरलता व्यवस्थापन गर्न निकै गाह्र्रो हुन्छ । बैंकमा सीसीडी रेसियो एकदमै टाइट भएको अवस्थामा अहिले १ सय ४० अर्बबराबरको रकम पुनर्कर्जालगायत अन्य सहुलियत कर्जाको माध्यमबाट बजारसम्म आयो । बजारमा पैसा आउनु भनेको त्यो घुम्दैफिर्दै पुनः बैंकमा नै पुग्ने हो । त्यसले कर्जा प्रवाहलाई पनि बढाउँछ । त्यसैले यस्ता कर्जालाई निरन्तरता दिनु उचित हुन्छ ।
व्यवसायलाई दिगो बनाउँछ
किशोर महर्जन बैंकर
अहिले विभिन्न क्षेत्रमा सरकारले सहुलियतपूर्ण कर्जा दिइरहेको छ । उद्यमीहरूका लागि सहुलियतपूर्ण कर्जा निकै राम्रो विषय हो । आजको दिनमा कोभिड–१९ का कारणले अर्थतन्त्र निकै खस्किएको छ । अब बजारलाई विस्तार गर्नुपर्ने अवस्था आएको छ । उपभोक्ताहरूलाई सहुलियत दरमा वस्तुहरू उपलब्ध गराउनुपर्ने अवस्था छ । सामानहरूको उत्पादन लागत घटाउन तथा वस्तुहरूको भाउ घटाउनलाई पनि सहुलियत कर्जाले निकै महŒवपूर्ण भूमिका खेलेको छ । यसले उद्यमी र उपभोक्ता दुवैलाई फाइदा पु¥याउँछ । सहुलियत कर्जाको मात्रा बढ्दै गएमा यसले अर्थतन्त्रलाई फाइदा पु¥याउँछ ।
तर, यसले बैंकिङ क्षेत्रलाई सुरुवाती दिनहरूमा भने निकै असर गर्छ । अहिले बैंकिङ क्षेत्रमा जुन हिसाबले तरलता बढेको छ, लगानी गर्ने अवसर नभइरहेको अवस्थामा सहुलियत कर्जामा आफ्नो पोर्टफोलियो डाइभर्ट गर्दा रिटर्न कम हुँदै जान्छ ।
अहिले यो क्षेत्रमा यति सहुलियत कर्जा दिने, त्यस क्षेत्रमा त्यति दिने भनेर छुट्याइएको छ । त्यो क्षेत्रमा बैंकहरूको १५ देखि २० प्रतिशत पोर्टफोलियो जान्छ । तर, बैंकहरूको तरलता त उस्तै नै रहन्छ । अब, तरलता कम गर्न बैंकहरूले इन्टर बैंक वा राष्ट्र बैंकको ट्रेजरी बिलमा लगानी गर्नुपर्छ । तर, त्यसले कम प्रतिफल दिन्छ ।
यता झन्डै १० प्रतिशत ब्याज कमाउन सक्ने तरलतालाई थाँति राखेर नेपाल राष्ट्र बैंकबाट सहुलियत दरमा कोष लिई सहुलियत कर्जा दिँदा नाफा त घट्छ नै । अहिले सालाखाला हिसाब गर्ने हो भने कमसेकम ४÷५ प्रतिशतले आम्दानी घट्ने देखिन्छ । जस्तै आजको दिनमा बैंकको औसत कर्जाको रकम झन्डै डेढ सय अर्ब छ । त्यसको १० प्रतिशत पोर्टफोलियो भनेको १४/१५ अर्ब सहुलियत कर्जामा जान्छ । सहुलियत कर्जामा आफूले कमाउन सक्ने आम्दानीभन्दा वास्तविक आम्दानी आधाले तल झर्छ । यसैले तत्काललाई भने आम्दानीमा असर गर्छ । तर, यसको सकारात्मक पक्ष पनि छ ।
आज अधिकांश व्यवसाय चर्को ब्याज तिरेर व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा छन् । ती व्यवसायलाई जीवितै राख्नका लागि सहुलियत दरमा कर्जा दिनु आवश्यक छ । त्यसले ती व्यवसायहरू बजारमा सस्टेन हुन सकेनन् । यदि उनीहरूले यस्तो महामारीमा पनि व्यवसायलाई जीवितै राख्न सके भने त्यसको फाइदा त बैंकलाई नै हो । तर, यदि उनको व्यवसाय डुब्यो भने बैंकको लगानी पनि खतरामा पर्न सक्छ । यस्तो अवस्थामा ती व्यवसायहरूलाई सस्तो ब्याजदरमा ऋण प्रवाह गर्न सकियो भने उनीहरू टिकिराख्न सक्छन् । यसले लामो समयमा बैंकहरूलाई नै फाइदा पु¥याउँछ । आज कुनै व्यवसायलाई १० प्रतिशतमा कर्जा दिइन्छ भने उसले त्यो दरमा ऋण लिन सकेन भने उसलाई ५ प्रतिशतमा दिँदा त लिन सक्छ नि । त्यसैले सहुलियत कर्जाले व्यवसायलाई दिगो बनाउँछ । त्यसले पुनः बैंकलाई नै फाइदा हुन्छ । छोटो समयमा बैंकलाई घाटा नै हो, तर दीर्घकालीन रूपमा यसले फाइदा नै पुर्याउँछ । अहिलेको जस्तो संकटको घडीमा व्यवसायीहरूलाई निकै गाह्रो भइरहेको छ । यस्तो अवस्थामा सहुलियत ऋण व्यवसायीहरूका लागि ठूलो राहत हो । यसलाई निरन्तरता दिँदा दीर्घकालीन रूपमा सबैलाई फाइदा पुग्छ ।
बैंक तथा वित्तीय संस्थालाई नै फाइदा हुन्छ
परशुराम कुँवर क्षेत्री बैंकर
अहिले कोभिडले मुलुकलाई आक्रान्त पारिरहेको छ । जसको प्रत्यक्ष असर अर्थतन्त्रमा पनि देख्न सकिन्छ । कोरोना चल्दै गर्दा मुलुकमा रहेका उद्योगधन्दा कलकारखाना तथा व्यवसायीहरू धराशायी भइरहेका छन् । व्यवसाय ठप्प हुनु भनेको अर्थतन्त्र नै ठप्प हुनु हो । व्यवसाय ठप्प हुँदा व्यवसायलाई मात्र नभएर बैंक तथा वित्तीय संस्थालगायत यावत् पक्षलाई यसले नराम्रो असर गर्छ ।
त्यसैले यस्तो अवस्थामा व्यवसायीहरूलाई पुनर्कर्जा दिनु अर्थतन्त्रका लागि निकै सकारात्मक कुरा हो । उनीहरूलाई सरकारले सहुलियत दरमा ऋण दियो भने उनीहरूले त्यो पैसा कोभिड रिकभरीमा खर्च गर्न सक्छन् । बाँकी पैसा पुनः लगानीका लागि खर्च गर्छन् । यस्तो कठिन अवस्थामा उनीहरू सम्हालिन सके भने त्यसको फाइदा बैंक तथा वित्तीय संस्थालाई नै हुन्छ ।
एक त बजारमा पैसा प्रवाह हुँदा त्यसले लगानीका अन्य अवसरहरू सिर्जना गर्छ, जसले बैंकको कर्जा प्रवाह बढाउँछ । त्यो भनेको बैंकका लागि फाइदाको कुरा हो ।
त्यस्तै सहुलियतदरमा ऋण दिँदा पनि लगानी गर्नेको संख्या बढ्छ । कुनै व्यक्तिले ९ प्रतिशत ब्याजदरमा ऋण लिन सक्दैनथ्यो भने उसले ५ प्रतिशतमा त अवश्य लिन्छ नै । उसले त्यो पैसा लगानी गर्छ, जसले देशको उत्पादकत्व वृद्धि हुन्छ । बजार सस्तो हुन्छ । त्यो पैसा पछि घुम्दै–फिर्दै पुनः पुग्ने बैंकमा नै हो ।
अहिले अर्थतन्त्रलाई चलायमान बनाउन सकियो भने पुनः लगानीका लागि मानिसहरू आउँछन् । त्यसले पुनः बैंकको कर्जा प्रवाह बढाउँछ । पुनः नाफा आर्जन गर्न सक्छन् । त्यसैले छोटो समयमा भन्दा पनि दीर्घकालीन रूपमा यसको असर निकै सकारात्मक हुने पाइन्छ । सहुलियत पूर्ण कर्जा अन्य समयमा भन्दा पनि कोभिडको समयमा अर्थतन्त्रलाई जीवित राख्नका लागि रामवाण हो । यसले बैंकका कस्टमरहरूलाई फाइदा पु¥याउँछ । बैंकका ग्राहकलाई फाइदा पुग्नु भनेको समग्र बैंकलाई नै फाइदा पुग्नु हो । त्यसैले यसका निकै कम नकारात्मक असरहरू छन् ।
सहुलियत कर्जाको विषयमा बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकका बीच केही विषयमा कुरा नमिलेका छन् । तर, त्यस्ता विषयलाई छलफलबाट नै समाधान गर्न सकिन्छ । त्यसको विषयमा छलफल पनि भइ नै रहेको होला । अहिलेको अवस्थामा पुनर्कर्जा तथा सहुलियत कर्जालाई निरन्तरता दिएकै राम्रो हुन्छ । यसले अर्थतन्त्रलाई चलायमान राख्न सहयोग गर्छ ।
अर्थतन्त्रलाई चलायमान बनाइराख्न सहयोग गर्छ
कुमार लम्साल बैंकर
सहुलियत कर्जामा राष्ट्र बैंकले कम दाममा बैंकहरूलाई पैसा दिन्छ । त्यसमा यति प्रतिशत थपेर मात्र ऋण दिन पाउँछौ भनेको हुन्छ । जस्तै २ प्रतिशतमा राष्ट्र बैंकले बैंकहरूलाई ऋण दियो भने ३ प्रतिशत बढाएर ५ प्रतिशतमा दिनु भनेको हुन्छ । ३ प्रतिशत त उनीहरूलाई फाइदा नै हुन्छ ।
तर, आफ्नो पैसाबाट गर्दा स्प्रेड ४ प्रतिशत हुन्थ्यो भने यसमा ३ प्रतिशत मात्र हुन्छ । तर, बैंकलाई त्यसमा आफ्नो स्रोत आवश्यक पर्दैन । राष्ट्र बैंकले उपलब्ध गराइदिन्छ । त्यो हिसाबले फाइदा हुन्छ । आफैंसग तरलता फालाफाल छ भने आफ्नो पैसा प्रयोग गर्न पाएनन् ।
जस्तै मैले मेरो पैसा पर्यटन क्षेत्रलाई दिएको छु । उसले राम्रो ब्याज तिरिरहेको छ । मैले समेत राम्रो स्प्रेड रेट पाइरहेको छु । मसँग पैसा पनि फालाफाल छ । अब त्यसै समयमा सरकारले पर्यटन व्यवसायमा ५ प्रतिशतमा सहुलियत कर्जा दिने भन्यो भने त्यो पर्यटनवालाले राष्ट्र बैंकको सुविधा मलाई पनि देऊ भन्दै मसँग आउँछ । अब ९ प्रतिशतको ऋण ५ प्रतिशतमा दिनुप¥यो । पैसा राष्ट्र बैंकमा माग्न गयो भने दिन्छ । तर, आफूसँगै फालाफाल पैसा भएको समयमा त्यसलाई लगानी गर्न नपाउने अवस्था आउन सक्छ । यस्तो समया कहिलेकाहीं अप्ठेरो हुन्छ । तर, यसले पनि त्यति धेरै प्रतिकूल असर पारेको हुँदैन ।
सरकारले एक वर्षमा सहुलियत कर्जाका लागि निश्चित रकम तोकेको हुन्छ । त्यो बैंकको कर्जा प्रवाहको थोरै प्रतिशत हुने हुनाले खासै असर पर्दैन । यसरी नै हेर्ने हो भने जुन समयमा बैंकको तरलता एकदमै कम छ । त्यो समयम भने बैंकहरूलाई सहुलियत कर्जाले निकै फाइदा दिन्छ । उनीहरूले दुःख नै नगरिकन राष्ट्र बैंकबाट पैसा पाउँछन् । त्यसमा केही स्प्रेड रेट राखेर ऋण दिन्छन् । त्यसैले निकै थोरै तरलता भएको अवस्थामा त यो बैंकहरूलाई धेरै फाइदा हुन्छ । त्यसैले यसको प्रभाव समयअनुसार फरक–फरक हुन्छ ।
अब अर्कातर्फ हेर्ने हो भने अहिले व्यवसायीहरू कोरोनाको मारमा छन् । उनीहरूलाई बजारमा टिक्नका लागि पनि सस्तो दरमा ऋणको आवश्यकता परेको छ । यस्तो अवस्थामा पुनर्कर्जाले अर्थतन्त्रलाई चलायमान बनाइराख्न सहयोग गर्छ । राज्यले गर्न खोजेको पनि त्यही नै हो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।
राष्ट्र बैंकको भल्टमा भइराखेको पैसा पुनर्कर्जाका रूपमा राष्ट्र बैंकले दियो भने पैसा पनि चलायमान हुन्छ । राष्ट्र बैंकलाई पनि भल्टमा रहेको पैसा चलाउँदा फाइदै हुन्छ । व्यवसायीदेखि बैंकलाई पनि फाइदा नै पुग्छ । पुनर्कर्जा, सहुलियत कर्जा अहिले मात्र नभएर पहिले पनि दिइन्थ्यो । अहिले केही बढी क्षेत्रलाई समेटिएको छ । यसलाई आगामी दिनहरूमा पनि निरन्तरता दिँदा अर्थतन्त्रलाई सकारात्मक प्रभाव पर्छ ।