स्मार्ट सिटीका लागि भीमदत्त नगरपालिकालाई १ अर्ब बजेट «

स्मार्ट सिटीका लागि भीमदत्त नगरपालिकालाई १ अर्ब बजेट



कञ्चनपुरको भीमदत्त नगरपालिका स्मार्ट सिटीका लागि छनोटमा परेको छ । सरकारले अगाडि सारेको स्मार्ट सिटीको अवधारणाअन्तर्गत देशैभरि निर्माण हुने स्मार्ट सिटीमध्ये कञ्चनपुरको भीमदत्त नगरपालिका पनि स्मार्ट सिटीका लागि छनोटमा परेको हो । सरकारले स्मार्ट सिटी निमार्णका लागि बजेट सुनिश्चिता गरेर भीमदत्त नगरपालिकासहित अन्य ११ वटा प्रमुख शहरलाई स्मार्ट सिटी बनाउन चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेर प्रक्रिया अगाडि बढाएको छ । गत चैत २५ मा बसेको मन्त्रिपरिषद्को बैठकले तत्काल वातावरण मूल्यांकनसहित स्मार्ट सिटी निर्माणका लागि खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
“मन्त्रिपरिषद्को बैठकले स्मार्ट सिटी निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको अवस्था छ,” भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भने, “भीमदत्त नगरपालिकास्थित महेन्द्रनगर बजार क्षेत्र एकदमै पुरानो बजार क्षेत्र पनि हो, यसमै सरकारले स्मार्ट सिटी निर्माण गर्ने कुरालाई अगाडि बढाएको छ, जुन नगरबासीको निम्ति सकारात्मक कुरा पनि हो, योसँगै नगरपालिका पनि आफ्नो २५ वर्षे रणनीतिअनुसार अघि बढेको छ ।” नगरपालिकाले नगर क्षेत्रलगायत सहर क्षेत्रलाई आधुनिकतासँग जोड्नका लागि पालिकास्तरको २५ वर्षे गुरुयोजनालाई अघि बढाएको छ । नगर क्षेत्रमा निर्माण गरिएको पूर्वाधारसँगै अन्य कुरालाई पनि आफ्नो २५ वर्षे गुरुयोजनामा समेटेर अगाडि बढाएको नगर प्रमुख विष्टले बताए ।
जिल्लाको भीमदत्त नगरपालिका अन्य नगरपालिका भन्दा जेठो नगरपालिका पनि हो । जेठो नगरपालिका भएका कारणले पनि नगरपालिका पूर्वाधारको क्षेत्रमा अगाडि बढ्दै गएको छ । नगरपालिकाले जनाएअनुसार बजार क्षेत्रको ढलनिकास, सहरीकरण, बजारीकरण लगायत कुरामा पालिकाले योजना बद्ध विभिन्न निर्माणकार्यलाई अगाडि बढाएको छ ।
“नगरपालिकाले बजार क्षेत्रको आधुनिकतालाई जोड दिन सडक, सौर्यबत्ती, विद्यालय, स्मार्ट शौचालय, स्मार्ट पार्क, बालउद्यानलगायत ढलनिकास लगायतका कुरालाई बढीभन्दा बढी प्राथमिकता दिएको छ,” नगर प्रमुख विष्टले भने, “अब बन्ने स्मार्ट सिटीका लागि आवश्यक केही पूर्वाधार निर्माण भइसकेको अवस्था छ भने केही पूर्वाधार निमार्णाधीन अवस्थामा रहेका छन्, निर्माण भएका ती पूर्वाधारले स्मार्ट सिटीलाई परिपूर्ति गर्न सहयोग गर्नेछ ।” बजार क्षेत्रमा ढल व्यवस्थापनसहितको सडक विस्तार एवं अन्य पूर्वाधारका कार्यक्रम सञ्चालनमा छन् । बजार क्षेत्रमा बढ्दै गएको सहरीकरणलाई पनि सौन्दर्यकरण गर्नका लागि नगरपालिकाले आवश्यक नीति अवलम्बन गरेको उनले बताए ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरको भीमदत्त नगरपालिका र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका स्मार्ट सिटीका लागि छनोटमा परेका छन् । यीबाहेक झापाको गौरीगन्ज, रौतहटको चन्द्रपुर र मौलापुर, काभ्रेको उपत्यका, भक्तपुरको गुन्डु–बालकोट क्षेत्र, स्याङ्जाको वालिङ, रूपन्देहीको लुम्बिनी र धनकुटालाई स्मार्ट सिटी बनाउने निर्णय गरिएको छ । यसैगरी दाङको तुलसीपुर र दैलेखको दुल्लुलाई पनि स्मार्ट सिटी बनाउने निर्णय गरिएको छ । नगर प्रमुख विष्टले बढ्दो सहरीकरणमा सौन्दर्यकरण पनि जोडिने भएकाले सहरको स्वरुप पनि स्मार्ट बनाउनु पर्ने आवश्यकता हुने भन्दै नेपाल सरकारले अगाडि बढाएको कुराले खुसी तुल्याएको उनको भनाइ छ ।
देशभरीका ११ अन्य स्थानमध्ये भीमदत्त नगरपालिकालाई पनि स्मार्ट सिटीका लागि १ अर्ब बजेट विनियोजित गरिएको अवस्था छ । “यसपटको बजेटमा स्मार्ट सिटीको पूर्वाधार विकासका लागि नगरपालिकालाई १ अर्ब बजेट प्राप्त भएको छ, उक्त बजेटमा नगरको सहरीकरणको क्षेत्रलाई स्मार्ट सिटीको रूपमा रूपान्तरण गर्नका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनेछौं,” उनले भने, “अहिलेको सहर भनेको विश्व बजारका सहरसँग प्रतिस्पर्धा गर्ने खालको हुनुपर्दछ, त्यसकारण हामीले पनि विश्वबजारको सहरसँग बराबरी गर्नुछ, सहरको सहरीकरणसँग सहरलाई विश्वबजारमा राम्रो, सुन्दर र शान्त सहरका रूपमा चिनाउनका लागि नागरपालिकाले अन्तर्राष्ट्रिय तवरको सहर विकास गर्ने कुरामा जोड दिनेछ ।” भीमदत्त नगरपालिका छिमेकी मुलुक भारतीय क्षेत्रको सीमा क्षेत्रसँग पनि जोडिएको छ । नगर क्षेत्रको सहरलाई भारतीय क्षेत्रसँग जोड्नका निम्ति पनि स्मार्ट सिटी महेन्द्रनगर बजार क्षेत्रका लागि महत्वपूर्ण कुरा भएको प्रमुख विष्टले बताए ।
स्मार्ट सिटी भएपछिको अवस्थामा भने २०१४ सालमा तत्कालिन राजा महेन्द्रले सुदूरपश्चिमको दार्चुला जिल्ला हुँदै अन्य जिल्लाको पैदलयात्रा गर्ने क्रममा तराईको महेन्द्रनगर क्षेत्रमा बजार बसाल्ने योजना बनाएपछि विस्तार भएको महेन्द्रनगर बजार क्षेत्र आधुनिक तथा स्मार्ट सुन्दर सहर बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्