एक रुपैयाँमा एक भारी घाँस
खैरहनी नगरपालिकाको कुमरोज सामुदायिक वनले १ रुपैयाँमा एक भारी घाँस काट्न दिँदै आएको छ । वन संरक्षण गर्न घाँसे मैदान नै तयार पारेर स्थानीयलाई घाँसको सेवा दिँदै आएको हो । वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले वन संरक्षण गर्दै आएका स्थानीयलाई प्रतिदिनको एक पटक काट्न पाउने गरी घाँस उपलब्ध गराउँदै आएको बताए । करिब ५ सय जनाले दैनिक रूपमा घाँस काट्न टिकट लिने गरेको जानकारी दिए ।
“गाइभैंसी, बाख्रापालन गर्ने स्थानीय लाभान्वित भएका छन्,” उनले भने, “तोकिएको ठाउँबाहेक अन्यत्र घाँस काट्न निषेध गरेका छौँ ।” उनका अनुसार मासिक रूपमा घाँस काट्नेलाई २५ रुपैयाँ, वर्षभरि काट्नेलाई २ सय रुपैयाँ तोकिएको छ । बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै घाँस काट्न पाइने व्यवस्था छ । गत वर्ष डेढ सय हेक्टर घाँसे मैदान रहेकोमा हाल ५० हेक्टर थप भएको छ । राप्ती नदीको बगरमा तयार गरिएको घाँसे मैदानमा मात्रै घाँस काट्न पाइन्छ । “घाँसका बेर्नासमेत बाड्न नर्सरी पनि छ,” उनले भने, “साउनदेखि बेर्ना बाँड्न सुरु हुन्छ ।” गत वर्ष करिब ४ हजार बेर्ना बाँडिएकोमा यो वर्ष १० हजार बेर्ना बाँड्ने तयारी छ । डासे घाँसका बेर्ना लगेर स्थानीयले आफ्नै जग्गामा समेत घाँस उत्पादन गर्दै आएका छन् । सामुदायिक वनमा चैतदेखि वैशाखसम्म बढी घाँस काट्न स्थानीय जाने गर्छन् । “हामी स्थानीयलाई घाँसे मैदान बनाउन प्रेरित गरिरहेका छौं,” उनले भने, “विस्तारै जंगलमै गएर घाँस काट्न कमी आउने अपेक्षा गरेका छौँ ।” केही वर्षयता पशुपालन गर्ने बढेका छन् ।
यस्तै स्थानीयले आवश्यक परेका बेला अनुमति लिएर कुकाठको दाउरा उपभोग गर्ने गरेका छन् । प्रतिघरका लागि बढीमा २ क्विन्टल दाउरा लिन पाइने व्यवस्था छ । दाहसंस्कार, विवाह, व्रतबन्धजस्ता बेलामात्रै दाउरा निःशुल्क दिने गरिएको छ । “हामी वनप्रतिको निर्भरता हटाउने योजनामा छौँ,” अध्यक्ष श्रेष्ठले भने, “आगामी वर्षदेखि स्थानीयलाई अनुदानमै ग्याँस दिने कार्यक्रम बनाइने छ ।” सकेसम्म जंगल नै जानु नपर्ने वातावरण बनाउन लागिपरेको उनको दाबी छ । कुमरोज सामुदायिक वनमा २०४८ सालदेखि पर्यटन गतिविधि सुरु भए पनि २०५१ सालदेखि विदेशी तथा स्वदेशी पर्यटकको घुमफिरको रोजाइमा पर्न थालेको हो । यहाँ हात्ती सफारीका लागि १२ वटा हात्ती, जिप सफारीका लागि ५५ वटा जिप, डुंगा सफारीका लागि ४ वटा डुंगा सञ्चालनमा छन् । पर्यटकका लागि टावर घर, मचान, तालहरू छन् । गैडा, बाघ, चित्तल, जरायो, गोही, चरा अवलोकन गर्न पर्यटक आउने गर्छन् । नजिकै थारु होमस्टे, दरै होमस्टेसमेत छन् ।
वन कार्यालयका सचिव भरतप्रसाद नेपालका अनुसार पर्यटक प्रवेश शुल्कका रुपमा ९ महिनामा १ करोड २५ लाख आम्दानी भएको छ । गत वर्ष २ करोड आम्दानी भएको थियो भने अघिल्लो वर्ष ४ करोड आम्दानी भएको थियो । सामुदायिक वनले आम्दानीमध्ये ४० प्रतिशत विकास निर्माणमा र ६० प्रतिशत संरक्षणमा लगानी गर्दै आएको छ । सामुदायिक विकासका लागि २५ लाख, शुद्ध खानेपानीका लागि प्रतिघर ६ हजारका दरले ९ लाख, प्रतिलिटर दूध अनुदानमा ५० पैसाका दरले ६ वटा डेरीमार्फत १४ लाख रुपैयाँ लगानी गरिसकेको छ । ६ वटा विद्यालयको भौतिक विकास तथा सञ्चालनमा १५ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै स्थानीयलाई जटिल उपचारमा ५ हजारदेखि ३० हजार रुपैयाँसम्म, गर्भवती तथा सुत्केरीका लागि पोषण खर्चवापत २ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । यो वनको क्षेत्रफल ६ सय ९१ हेक्टर रहेको छ । १ हजार ८ सय ८५ घरधुरी आश्रित छन् ।