बाँकेमा १९ दिनमा ९७ को मृत्यु «

बाँकेमा १९ दिनमा ९७ को मृत्यु


कोरोना भाइरसका कारण बाँकेमा १९ दिनको अवधीमा ९७ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांकअनुसार वैशाख १ देखि १९ गते ३ बजेसम्म ९७ जनाले ज्यान गुमाएका हुन् ।
कोरोना भाइरसको पहिलो लहर सुरु भएपछि चैत मसान्तसम्म १ सय ४९ जना संक्रमितको मृत्यु भएको थियो । डीसीसीएमसीको तथ्यांकअनुसार गत वर्षको मृत्युदर हेर्दा विभिन्न जिल्लावाट बाँकेका अस्पतालमा उपचारका लागि आएका बाहिर जिल्लाका व्यक्तिहरू धेरै थिए भने कोरोनाको दोस्रो लहर सुुरु भएयता बाँकेका व्यक्तिहरूको मृत्युदर बढी भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर ओलीले बताए ।
कोरोना भाइरसका कारण गत चैत मसान्तसम्म बाँकेका ५८ जनाले ज्यान गुमाउँदा अन्य जिल्लावाट बाँकेका अस्पतालमा उपचारका लागि आएका ९१ जनाले ज्यान गुमाएका थिए । तर, वैशाख १ गतेयता ज्यान गुमाउनेमा अधिकांश बाँकेका भएको फोकल पर्सन ओली बताउँछन् । ‘त्यसमा पनि नेपालगन्जका धेरै छन्,’ उनले भने ।
यसवर्ष १९ दिनको अवधीमा अन्य जिल्लाको तुलनामा बाँकेका तीनगुणा बढीको भाइरस संक्रमणवाट मृत्यु भएको छ । आइतबार पाँचबजे यो समाचार तयार पार्दासम्म बाँकेका मात्र ६८ जनाले भाइरस संक्रमणवाट ज्यान गुमाइसकेका छन् । त्यस्तै २९ जना अन्य जिल्लाबाट बाँकेका अस्पतालमा उपचारका लागि आएका व्यक्तिहरूले ज्यान गुमाएका हुन । जिल्लाको संक्रमण र मृत्युको तथ्याँक हेर्दा बैशाख ६ गतेदेखि यता संक्रमण तिब्ररुपमा फैलिएको देखिन्छ । त्यसयता परिक्षण गरिएका नमुना मध्य कुनै दिन ८० प्रतिशत बढीमा पनि संक्रमण देखिएको छ ।

यो तथ्यांक हेर्दा संक्रमण बढेसंगै मृत्युदर पनि बाँकेमा धेरै भएको हो ।
समुदायमा संक्रमण तीब्र रूपमा फैलिएपछि बाँकेमा पीसीआर परीक्षण गर्नेको संख्या पनि बढेको छ । संक्रमण फैलिने दर हेर्दा वैशाख १ देखि १८ गतेसम्मको तथ्यांकअनुसार परिक्षण गरिएका नमुनामध्य करिब ५५ प्रतिशतमा भाइरस पुष्टि भएको छ । चैत महिनामा बाँकेका २ सय २४ जनामा मात्र संक्रमण पुष्टि भएकोमा यो संख्या वैशाखमा ह्वातै बढेको छ । वैशाख १ देखि १८ सम्म बाँके र बाहिरका गरी ४ हजार ९ सय ८९ जनामा संक्रमण पुष्टि भएको छ । हाल बाँकेमा ३ हजार ७ सय ५९ जना संक्रमित होम आइसोलेसनमा छन् भने ४ सय २१ जना विभिन्न आइसोलेसनमा छन् । एक्कासि तीब्र गतिमा संक्रमण बढेसँगै जिल्लाका अस्पतालहरूमा जटिल खालका संक्रमितहरू बढेका छन् ।
धेरैजसो संक्रमितहरू अस्पतालका बेडमा अक्सीजनसंग लडिरहेका छन । संक्रमण दर पनि तीब्र हुनुका साथै विरामीमा चाँडै नै जटिलता आउने भए पनि धेरैजसो विरामीहरू ढीलोगरी अस्पतालमा आउने गरेका कारण अक्सीजन लेवल धेरै कम भइसकेकाले मृत्युदर धेरै हुने गरेको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए । ‘समयमै परिक्षण गरेर अस्पतालमा आउने हो भने संक्रमितलाई बचाउन सकिन्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्