बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारवाही «

बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारवाही

बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइन सर्जिकल सप्लायर्सलाई आइतबार कारवाही गरेको हो ।
बजार अनुगमनका क्रममा खरीद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क बिक्री गरेको पाइएपछि कारवाहीस्वरूप दुई लाख रूपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । अनुगमनका क्रममा उक्त सप्लायर्सले प्रतिगोटा ४.४६ रूपैयाँ पर्ने मास्कलाई ८.३६ रूपैयाँसम्म बिक्री गरेको पाइएको विभागले जनाएको छ ।
उक्त सप्लायर्सलाई उपभेक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) को क बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरी दफा ३८ बमोजिम कसुर गरेको पाइएपछि दफ ३९ (१) को ख बमोजिम जरिवाना गरीएको हो । पछिल्लो समय काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञाको समयमा बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै अनुगमन तीव्र पारिएको छ ।
गत बिहीबार विभागले भक्तपुरस्थित मास्क उत्पादन गर्ने हिमालयन हेल्थ केयर कम्पनीलाई ५० हजार रूपैयाँ जरिवाना गरेको थियो । उक्त कम्पनीले बजार मूल्य नतोकी मास्क बिक्री गरेको भन्दै विभागले स्थलगत अवलोकन गरेर कारवाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस्