चितवनमा कोभिडका जटिल बिरामी थपिँदै

चितवनमा १ सय ९३ जनाको अस्पतालमा राखेर उपचार गरिएको छ । स्वास्थ्य कार्यालय चितवनले आइतबार दिउँसो सार्वजनिक तथ्यांकअनुसार सबैभन्दा धेरै भरतपुर अस्पतालमा १ सय जनाको उपचार भइरहेको छ । जसमध्ये १० जना आईसीयूमा, १३ जना एचडीयूमा र ७७ जना आइसोलेसनमा राखेर उपचार गरिएको छ ।
चितवन मेडिकल कलेजमा ५६ जना र कलेज अफ मेडिकल साइन्सेस भरतपुर (पुरानो मेडिकल कलेज) मा ३७ जनाको उपचार भइरहेको छ । चितवन मेडिकल कलेजमा ३७ जना आईसीयूमा, ८ जना भेन्टिलेटरमा, ३ जना एचडीयूमा र १९ जना आइसोलेसनमा राखेर उपचार भइरहेको छ । यस्तै पुरानो मेडिकल कलेजमा १५ जना आइसीयुमा, २ जना भेन्टिलेटरमा २० जना एचडीयूमा राखेर उपचार भइरहेको छ । कोभिडका बिरामीका लागि भरतपुर अस्पतालमा १ सय १० वेड, चितवन मेडिकm कलेजमा १ सय १८ वेड र पुरानो मेडिकल कलेजमा १ सय वेड छुट्टाइएको छ । केही दिनयता चितवनमा गम्भीर प्रकेतिका कोभिडका बिरामीको संख्या बढ्न थालेको छ ।
१ हजार बढी सक्रिय संक्रमित
चितवनमा आइतबार दिउँसोसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ । होम आइसोलेसनमा ९ सय ८२ जना छन् भने ८८ जना अस्पतालमा उपचारमा रहेका छन् । चितवनमा अघिल्लो चैतमा २ जनामा संक्रमण देखिएकोमा यो चैतमा १ सय ३४ जनामा संक्रमण देखिएको थियो । अघिल्लो वर्ष साउनमा देखि उकालो लागेको ग्राफ कात्तिकदेखि ओरालो लागेको थियो । गत साउनमा १ सय ५ जना, भदौमा १ हजार १ सय ४५ जना, असोजमा १ हजार ७ सय जना, कात्तिकमा २ हजार १ सय ५८ जनामा संक्रमण देखा परेको थियो ।
मंसिरमा ८ सय ६३ जना, पुसमा ४ सय ४२ जना, माघमा १ सय ९८ जना, फागुनमा ९६ जनामा संक्रमण देखिएको थियो । वैशाखदेखि दोस्रो लहरको कोभिड संक्रमण बढ्न थालेको छ । १८ गतेमात्रै ७८ जनामा संक्रमण देखा परेको छ । चितवनका ७ स्थानीय तहमध्ये सक्रिय संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरमा छन् । भरतपुरमा ८ सय ९० जना, रत्ननगरमा ८७ जना, खैरहनीमा ३२ जना, राप्तीमा २४ जना, माडीमा १६ जना, कालिकामा १२ जना र इच्छाकामनामा ९ जना सक्रिय संक्रमित छन् । हालसम्म चितवनका १ सय १७ जनाले ज्यान गुमाएका छन् ।
आइसोलेसन बनाउँदै स्थानीय तह
चितवनका ७ वटै स्थानीय तह कोभिडका बिरामीलाई राखेर उपचार गर्ने आइसोलेसन वार्ड बनाउन सक्रिय बनेका छन् । अक्सिजन सहितका आइसोलेसन बनाउन लागेका छन् । हरेक स्थानीय तहमा कम्तिमा २० वटा आइसोलेसन बेड तयार गर्ने रणनीतिमा लागेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले बढ्दो संक्रमणको अवस्थालाई नियन्त्रण गर्न जनशक्रि तथा पूर्वाधार विस्तार गर्ने कामलाई प्राथमिकता दिइएको बताए ।
चितवनमा अहिले दैनिक १ सयको हाराहारीमा कोभिडका बिरामी थपिएका छन् । छिट्टनै हरेक स्थानीय तहमा आइसोलेसन सेन्टर सञ्चालनमा आउने बताए । क्रिटिकल केयरको आवश्यक बेडको व्यवस्थापन गर्न मेडिकल कलेज तथा नीजि अस्पतालहरूसँग साझेदारी सुरु भएसँगै थप विस्तार हुने बताए ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले कोरोना संक्रमितको उपचारका लागि आईसोलेसन बनाउन थालिएको बताए । उनका अनुसार शिक्षा शाखा रहेको भवनको सभाहलमा १५ वेडको आइसोलेसन तयार हुँदैछ । यस्तै रत्ननगर अस्पतालमा ८ वेड तयारी अवस्थामा रहेको छ । कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले पुरानो १८ वेडका क्वारेन्टाइनलाई मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइने बताए । उनका अनुसार अक्सिजन सहितको २० वेडको आइसोलेसन बनाइनेछ । इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले ५ वटा आइसोलेसन तयारी अवस्थामा रहेको बताइन् । भरतपुर महानगरपालिकाले वागेश्वरीमा रहेको प्राकृतिक चिकित्सा अस्पताल, शारदानागर प्राथमिक स्वास्थ्यमा आइसोलेसन बनाउन तयारी गरेको छ ।
प्रहरीको कडा निगरानी
चितवनमा गत शुक्रबारदेखि १५ दिनको लागि निषेधाज्ञा जारी गरिएको छ । सवारी तथा हिँड्डुलमा प्रहरीले कडा निगरानी गर्न थालेको छ । लोथरदेखि मौवाखोलासम्मका चार नाकामा चितवन ट्राफिक प्रहरी कार्यालयका करिब ३० जना प्रहरी खटिएका छन् । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको समन्वयनमा प्रहरीहरू नाकामा परिचालन गरिएको छ । नारायणगढको पुलचोक, मुग्लिन, लोथर, धादिङको मौवा खोलामा बढी चेकजाँच गरिएको छ ।
ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनलाई जिल्ला प्रवेश तथा बाहिरिन दिइए पनि अन्य सवारीलाई कडाई गरिएको बताए । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी सरोज गिरीका अनुसार आइतबार ६ सय २७ सवारी नियन्त्रणमा लिइएको छ । उनीहरूलाई सम्झाई बुझाई गरेर आएकै ठाउँतर्फ फिर्ता पठाइएको बताए । निषेधाज्ञा अटेरी गर्नेबाट १९ गतेमात्रै प्रहरीले १ लाख ७ हजार २ सय १० रुपैयाँ राजश्व संकलन गरेको छ ।