गैरजिम्मेवार व्यवहारले भेन्टिलेटर र आईसीयू अभाव «

गैरजिम्मेवार व्यवहारले भेन्टिलेटर र आईसीयू अभाव



जनस्वास्थ्यका मापदण्ड पालना गर्ने सम्बन्धमा भएको लापरवाही र अत्यावश्यक स्वास्थ्य पूर्वाधार निर्माणमा सरकारले देखाएको उदासिनताका कारण जटिल उपचारका आवश्यक पर्ने भेन्टिलेटर वा आईसियूसहितको सेवाको चरम अभाव भोग्नुपरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ महिनामा नै कोभिड–१९ स्वास्थ्य क्षेत्र द्रूत कार्ययोजना सार्वजानिक गरेर खराब संक्रमणको अवस्था आए ३ लाखमध्ये २ लाख ५ हजारका लागि भेन्टिलेटर वा आईसीयूको व्यवस्था गर्ने जनाएको थियो । तर पछिल्लो २ हप्तामा संक्रमण दर उच्च गतिमा बढ्दै गएपछि आईसीयू र भेन्टिलेटरमा उपचार गर्नु पर्ने बिरामी अस्पतालको भुइँमा बसेर उपचार गराइरहेका छन् । सरकारले स्वास्थ्य संस्थाका भवन निर्माणमा बजेट केन्द्रित गरेर भेन्टिलेटर वा आईसीयूको व्यवस्था गर्ने योजना बनाएपनि त्यसको कार्यान्वयन नगर्दा देशभरको स्वास्थ्य सेवा अस्तव्यस्त बनेको छ । सरकारले एक वर्षयता कोरोना संक्रमणपछि स्वास्थ्य पूर्वाधारका लागि ठूलो रकम खर्च गरेको दावी गरेको छ । तर संक्रमण बढ्दै जाँदा सञ्चालनमा रहेका अस्पतालमा नै अत्यावश्यक मानिएको आईसीयू र भेन्टिलेटरको व्यवस्थापनमा बेवास्ता गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरप्रसाद अधिकारीले हाल संक्रमितको संख्या द्रूत गतिमा बढेका कारण अत्यावश्यक मानिने आईसीयू र भेन्टिलेटरको अभाव रहेको स्वीकार गरेका छन् । “सरकारसँग रहेको जनशक्ति, स्वास्थ्य पुर्वाधार र उपकरणले सेवा दिन नसक्ने अवस्थामा पुगेको छ ।” सहप्रवक्ता अधिकारीले भने “देशभर कति जनशक्ति कोभिड–१९ संक्रमणविरुद्ध काम गरिरहेका छन् र संक्रमण बढ्दो क्रममा रहेकाले कति जनशक्तिको आवश्यता पर्ने भन्नेबारे तत्कालै अनुमान गर्न सकिँदैन ।”
सरकारले अघिल्लो वर्षको चैतबाट कोभिड–१९ संक्रमितहरूको उपचारका लागि ७० वटा अस्पतालहरू तोकि उपचार व्यवस्थापन गरिएको दाबी गरेपनि अस्पतालहरूमा माग अनुसार आईसीयू र भेन्टिलेटरका व्यवस्था नहुँदा बिरामी उपचार नपाई मर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
हाल सञ्चालनमा रहेका निजी र सरकारी अस्पतालमा रहेका आईसीयू र भेन्टिलेटरको क्षमता भन्दा बढी जटिल स्वास्थ्य समस्या भएका बिरामीको चाप बढेपछि उपकरणको अभाव देखिएको छ । शनिबार पाटन अस्पतालमा आईसीयूमा उपचार पाउने आशाले गएका संक्रमितले अस्पतालको कोरिडोरमा नै अक्सिजनको भरमा उपचार गराउनु परेको बताए । भेन्टिलेटरको खोजीमा रहेका ती बिरामीले हेम्स अस्पतालमा फोन गर्दा भेन्टिलेटर नभएको गुनासो कारोबारसँग गरेका छन् । मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनामा उपत्यककामा १६० आर्ईसियु र ५२ भेन्टिलेटरमा बिरामी उपचार गराइरहेको जनाएको छ । तर काठमाडौं उपत्यकका आईसीयू र भेन्टिलेटर सेवा रहेका १३ अस्पतालमा कति खाली छन् भन्ने जानकारी सरकारसँग छैन । अधिकांश निजी अस्पतालले समेत उपचारका लागि अतिरिक्त बेड र उपकरणको व्यवस्था गरेपनि बिरामीको चाप बढ्दै गएपछि बेडकै समस्या हुन थालेको छ ।
सरकारले माघ महिनामा नै कोभिड–१९ स्वास्थ्य क्षेत्र द्रूत कार्ययोजना सार्वजानिक गरेर जनशक्ति, पूर्वाधार र अत्यावश्यक स्वास्थ्य उपकरण तयार गर्ने जनाएपनि देशभर भेन्टिलेटर वा आईसीयू शैयाको चरम अभाव देखिएको छ । भौतिक पूर्वाधार अस्थायी व्यवस्थापन गर्न सकिने सम्भावना रहे पनि तत्कालका लागि भेन्टिलेटर र आईसीयूसहितको उपचार सेवा भने अपुग देखिएको छ । कार्ययोजनाले सबैलाई ३ लाख संक्रमित पुगे ३२ अर्ब रूपैयाँ खर्च गर्नु पर्ने सुझाव दिएपनि सरकारले हालसम्म १८ अर्ब रूपैयाँ मात्र खर्च गरेको छ ।
मन्त्रालयले आइतबार ५ बजे सार्वजानिक गरेको रिपोर्टमा काठमाडौं उपत्यकका १४ अस्पतालमा १ हजार ९४ आइसोलेसन, १६० आईसीयू र ५२ वटा भेन्टिलेटरमा बिरामी रहेको उल्लेख गरेको छ । मन्त्रालयको आइतबारसम्मको तथ्यांकले देशभर ४७७ भेन्टिलेटर र १ हजार २४९ आईसीयू रहेको देखाउँछ । त्यसमध्ये हालसम्म आईसीयु ७७२ मा ननकोभिड बिरामी रहेको कारण उपचारका लागि अस्पताल गएका कोभिड संक्रमितले अस्पतालको भुइँमा बसेर उपचार गराइरहेको पाइएको छ । कोभिड व्यवस्थापन समिति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका संयोजक डा. सन्तकुमार दासले छोटो समयमा ठूलो संख्या कोभिड मात्र नभइ अन्य रोगका बिरामी पनि बढेका कारण उपचारमा समस्या आएको बताए ।

अत्यावश्यक उपकरण नै छैनन्
सरकारले चालु आर्थिक वर्षमा नै अस्पताल नभएका ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल (कुल जम्मा ३२४५ बेड) सञ्चालनको लागि आवश्यक ६४ करोड ९० लाख व्यवस्था गरी पठाइएको थियो । त्यसैगरी जिल्लास्थित ५८ अस्पतालहरूलाई २५ र ५० बेडमा स्तरोन्नती गर्दा ९२२ बेड, साबिकका ११ अञ्चल, उपक्षेत्रीय र क्षेत्रीय अस्पताललाई २०० बेडको जनरल अस्पतालमा स्तरोन्नती गर्दा १ हजार ३५ बेड र प्रदेश ७ संघीय अस्पतालहरूलाई ५०० बेडमा स्तरोन्नती गर्दा १ हजार गरी कुल जम्मा बेड संख्या ६२०२ बेड थप भएको छ । तर अत्यावश्यक उपचारका लागि आवश्यक पर्ने आईसीयू र भेन्टिलेटरसहित सेवा विस्तार पर्यापत नहुँदा संक्रमितले उपचार नपाई मर्नु पर्ने अवस्था आएको छ ।

स्वास्थ्य जनशक्तिनै अभाव
आर्थिक वर्ष २०७६/०७७ को फागुनसम्म परम्परागत चिकित्सक, सामान्य चिकित्सक, प्रयोगशाला स्वास्थ्य विज्ञान, सार्वजनिक स्वास्थ्य, दन्त चिकित्सक, थेरापिस्ट गरी कुल १ लाख ४५ हजार ६ सय २४ स्वास्थ्यकर्मीहरू नेपाल स्वास्थ्य व्यवसाय परिषदमा दर्ता भएका छन् । यीमध्ये आर्थिक वर्ष २०७६/०७७ को फागुनसम्म मेडिकल चिकित्सकतर्फ पुरूष १ हजार ३५९ र महिला ७५४ गरी जम्मा २ हजार ११३, दन्त चिकित्सकतर्फ पुरूष ११९ र महिला ३६३ गरी जम्मा ४८२ समेत गरी जम्मा २ हजार ५९५ चिकित्सकहरू दर्ता भएका छन् । हालसम्म मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूको संख्या २६ हजार ३ सय ४६ रहेको छ । अघिल्लो आर्थिक वर्षको फागुन महिनासम्मको २३ हजार ७ सय ५१ को तुलनामा यस्तो दर्ता संख्या १०.९ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७५/०७६ फागुनसम्म जम्मा ५५ हजार ९ सय ६ नर्सहरू नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएकोमा गत आर्थिक वर्षको फागुन महिनासम्ममा यस्तो संख्या ६० हजार ७ सय ९५ पुगेको छ । तर अधिकांश स्वास्थ्य केन्द्रमा जनशक्तिको अभाव छ ।

प्रतिक्रिया दिनुहोस्