कोष व्यवस्थापन गर्न पाँच कम्पनीलाई प्रारम्भिक अनुमति «

कोष व्यवस्थापन गर्न पाँच कम्पनीलाई प्रारम्भिक अनुमति


नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोषको स्थापना र सञ्चालन गर्नका लागि पाँच वटा कम्पनीलाई प्रारम्भिक अनुमति दिएको छ ।
बोर्डले कोष व्यवस्थापको काम गर्नका लागि ग्लोबल इक्विटी फण्ड, लक्ष्मी क्यापिटल मार्केट, एनआइबिएल एस क्यापिटल, एनआइसी एशिया क्यापिटल र एनएमबी क्यापिटललाई आवश्यक पूर्वाधार तयार अनुमति दिएको हो । बोर्डमा कोष व्यवस्थापको काम गर्नका लागि ९ कम्पनीले आवेदन दिएकोमा तोकिएको प्रक्रिया पूरा गरेका कम्पनीहरूलाई पूर्वाधार तयार गर्ने अनुमति दिएको हो । कम्पनीहरूले पूर्वाधार तयार गरेपछि कोष व्यवस्थापको काम गर्न अनुमति पाउनेछन् ।
नेपाली पुँजी बजारमा हाल सेयर, डिवेञ्चर, सामूहिक लगानी कोष जस्ता परम्परागत लगानीका उपकरण मात्र प्रयोगमा छन् । प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कोष सञ्चालन गर्नका लागि बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली–२०७५ जारी गरेको थियो ।
कोषमार्फत नवीनतम ज्ञान, सीप क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न र नयाँ व्यवसाय, उद्यमहरूलाई सुरूवात गर्न स्वदेशी तथा वैदेशिक लगानी आकर्षण गरी लगानीको नयाँ अवसरहरू प्रदान गर्न सकिने बोर्डले जनाएको छ । यसबाट पुँजी बजारको दायरा फराकिलो हुने, पुँजी बजारमा नयाँ एंव आधुनिक वित्तीय उपकरणको प्रयोग हुने बोर्डको दावी छ ।
यसैगरी कोषमार्फत पुँजी परिचालनको वैकल्पिक उपकरणको विकास हुने, स्टार्टअप व्यवसायमा पुँजी परिचालन हुने, निजी क्षेत्रको श्रोत परिचालन हुने, उद्योग तथा परियोजनाको विकास हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्