अनावश्यक भण्डारणले बजारमा सिलिन्डरको समस्या
सर्वसाधारणले आवश्यकता नै नभई घरमा सिलिन्डर भण्डारण गर्दा बजारमा अक्सिजन अभाव भएको छ । नेपाल अक्सिजन ग्यास उत्पादक संघले हाल नेपालको मागलाई धान्न सक्ने अवस्था भए पनि कोभिड–१९ को दोस्रो संक्रमण बढेसँगै सर्वसाधारणले घरमा भइपरी आवश्यकता मानेर भण्डारण गर्दा बजारमा अक्सिजन सिलिन्डर अभाव भएको जनाएको छ ।
अक्सिजन उद्योगले तत्कालको माग धान्न सक्ने अवस्था भए पनि अक्सिजन सिलिन्डर अभावका कारण बजारमा समस्या देखिएको संघका अध्यक्ष गौरव सारडाले बताए । “नेपालभर हाल करिब दुई दर्जन उद्योग रहेकोमा उपत्यकामा मात्र ८ उद्योग सञ्चालनमा छन्,” उनले भने, “तत्कालको माग धान्न सक्ने अक्सिजन छ, तर सिलिन्डर छैन ।”
उनका अनुसार करिब दुई लाखको हाराहारीमा देशभर अक्सिजन सिलिन्डर छन् । यसमध्ये करिब १ लाखभन्दा बढी सिलिन्डर प्रयोगमा भए पनि अन्य घरघरमा भण्डारण हुँदा बजारमा अभाव देखिएको अध्यक्ष सारडाको भनाइ छ । दैनिक संक्रमणको दर वृद्धि भइरहेकाले हालको सिलिन्डरले अस्पतालको मागलाई धान्न नसक्ने अवस्था आउन लागेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले बताए । उनले भने, “तत्काल अक्सिजन अभाव नभए पनि यही अवस्था रहिरहे अभाव हुनेछ ।”
औसतमा दैनिक देशभर १७ देखि १८ हजार सिलिन्डर उत्पादन गर्नसक्ने क्षमता भए पनि वीरगन्ज लगायतका क्षेत्रमा विद्युत् आपूर्तिमा असहज हुँदा सबै उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको अध्यक्ष सारडाले बताए । “पछिल्लो समय अक्सिजनको माग बढ्न थालेपछि आममानिसले भण्डारण गर्न थालेका छन् । जसले गर्दा बजारमा अभाव देखिएको हो,” अध्यक्ष सारडाले भने, “हामीसँग देशभर रहेका अस्पतालको बेड संख्याभन्दा बढी अक्सिजन सिलिन्डर छन् ।”
कोभिड–१९ भन्दा अगाडि ५० प्रतिशत क्षमतामा मात्र अक्सिजन उद्योग सञ्चालन गर्ने गरिएकोमा अहिले भने पूर्ण क्षमतामा सञ्चालित छन् । तर यसका लागि उद्योगमा जनशक्ति, ढुवानीलगायतका समस्या रहेको व्यवसायीहरू बताउँछन् ।
सिलिन्डरमा समस्या भएपछि पछिल्लो समय सरकारले ढिलै भए पनि भन्सार दरमा केही छुट दिएको छ । “यो अलि पहिले दिएको भए हाल बजारमा देखिएजस्तो सिलिन्डर अभाव हुने थिएन,” अध्यक्ष सारडाले भने, “सिलिन्डर आयात गर्नका लागि सरकारले तत्काल जीटूजी मोडलमा चीनबाट सिलिन्डर आयात गर्नुपर्छ ।” तबमात्र हाल बजारमा देखिएको सिलिन्डर अभावको सम्बोधन हुनसक्छ ।
संघले अन्य देशबाट पनि सिलिन्डर आयात गर्न पहल भए पनि तत्काल सम्भव नभएको जनाएको छ । सरकारले चीनबाट नै सिलिन्डर आयात गर्नुको विकल्प नभएकाले चाँडोभन्दा चाँडो आयात खरिद प्रकृयामा जानुपर्ने संघको भनाइ छ । संघका अनुसार, करिब ५० हजारभन्दा बढी सिलिन्डर आयात हुन्छ । चीनको केरुङ नाकाबाट सिलिन्डर आयात गर्न सकिएको खण्डमा करिब २ महिनामै आयात हुनेछ भने एयर कार्गाेबाट भने त्योभन्दा चाँडो आयात हुनेछ ।