नेप्से ५४ अंकले बढ्दा साढे ७ अर्बको कारोबार «

नेप्से ५४ अंकले बढ्दा साढे ७ अर्बको कारोबार


कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले गरेको निषेधाज्ञामा सेयर बजारमा भने उत्साह देखिएको छ । अनलाइनमार्फत घरबाटै सेयर कारोबार गर्न सकिने सुविधाले गर्दा बजारमा सामान्य अवस्थाकै तुलनामा कारोबार भइरहेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.०७ प्रतिशतले वृद्धि हुँदा बजारमा करिब साढे सात अर्ब बराबरको सेयर कारोबार भएको छ । आइतबार नेप्से ५४ अंकले वृद्धि भई २६६५.१० अंकमा पुगेको छ । यस दिन २२६ कम्पनीका १ करोड ५८ लाख ३२ हजार सेयर किनेबेच हुँदा ७ अर्ब ३६ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
गत वर्ष लकडाउनको अवधिमा सेयर बजार बन्द गरिएको भएपनि यस पटक भने बजार खुल्ला छ । लगानीकर्ताहरूले अनलाइन सेयर खरिद बिक्री र भुक्तानी गर्न सकिने गरी अनलाइन कारोबारको व्यवस्था गरिएको छ ।
आइतबार बजारमा नेप्सेसँगै समूहगत परिसूचकहरू पनि उकालो लागेका छन् । यस दिन बैंकिङ १९.९१, व्यापार ७९.२८, होटल्स एण्ड टुरिजम १११.१७, विकास बैंक ३८.२४, जलविद्युत् ३७.८५, फाइनान्स १६.०७ अंकले बढेको छ ।
यसैगरी निर्जीवन बिमा ४४८.७८, उत्पादन १५०.७२, अन्य ९४.८६, लघुवित्त १०४.५९, जीवन बिमा ६३२.१८, म्युचुअल फण्ड ०.०४ र लगानी समूह ०.७५ अंकले बढेको छ ।
आइतबार विशाल बजार कम्पनी, महिला लघुवित्त वित्तीय संस्था, सिंगटी हाइड्रो, सानिमा जनरल इस्योरेन्स र सिनर्जी पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यसैगरी एभरेष्ट बैंक, सनराइज म्युचुअल फण्ड, एनआईबिएल समृृद्धि फण्ड, नेपाल हाइड्रो र नारायणी विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्