एसियन कंक्रिटो ‘एनएस’ पाउने बन्यो पहिलो उद्योग
निर्माणजन्य सामग्री उत्पादनमा पायोनियर एसियन कंक्रिटोले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिन्ह (एनएस) पाएको छ । यस्ता सामग्री उत्पादन गर्ने उद्योगमध्ये एनएस पाउने एसियन कंक्रिटो पहिलो उद्योग हो ।
“एसियन कंक्रिटो आउनुपूर्व पनि अन्य कम्पनीहरु थिए । तर, उनीहरुले एनएसका बारेमा कुनै चासो लिएको देखिएको थिएन,” विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, “तर एसियन कंक्रिटोले आफ्नो उत्पादन बजारमा आउने वित्तिकै एनएसको मापदण्ड बनाउन अनुरोध गर्दै आएको थियो ।”
संसारभर यस्ता सामग्रीको मापदण्ड हुन्छ । नेपाली उत्पादन पनि विश्वस्तरीय हुनुपर्छ भनेर विभागलाई बारम्बार यसको मापदण्ड बनाउन अनुरोध गरेको उद्योगका अध्यक्ष मनीष रुङ्गाटाले जानकारी दिए । “हाम्रो मर्मलाई बुझेर विभागले पनि द्रूत गतिमा काम गर्यो,” उनले भने, “त्यही भएर एनएस लिन सफल भइयो । अब सरकारले बनाएको मापदण्ड उनीहरुले गर्ने कार्यमा अनिवार्य लागू गर्नुपर्छ ।”
एसियन कंक्रिटोबाट उत्पादित हरेक सामग्री अब नेपाल गुणस्तर अनुसार हुने छन् । जर्मनीबाट मेसिनसहित प्रविधि ल्याएर बनाइएका सामग्री अन्य उद्योगको भन्दा कयौं गुणा बलियो र टिकाउ हुने कम्पनीले दाबी गरेको छ ।
कम्पनीबाट उत्पादित सामग्री वातावरणमैत्री, बलियो हुँदाहुँदै पनि नेपाल गुणस्तर नपाएकाले बजारीकरणमा ठूलो समस्या भएको थियो । एनएस प्राप्त गरेपछि आफ्ना उत्पादनलाई बजारमा लैजान थप सहज भएको उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए । उद्योगले इँटासहित २३ वटा अन्य विभिन्न प्रडक्ट बनाउँछ । त्यसको पनि कच्चा पदार्थ एउटै हो । सडकको छेउ किनारामा लगाउनेदेखि घरभित्र र बगैंचालाई सुन्दर बनाउनेसम्म सामग्री उत्पादन गर्दै आएको छ ।