वन्यजन्तु पीडित ५ जनाले पाए राहत
लमजुङका अघिल्लो आर्थिक वर्षमा वन्यजन्तुबाट पीडित ५ जनाले राहत पाएका छन् । आर्थिक वर्ष २०७६/७७ मा भालुबाट मानव घाइते एकजना र पशुधन क्षति भएका ४ जनाले राहत रकम प्राप्त गरेको हुन् ।
डिभिजन वन कार्यालय लमजुङका अनुसार जिल्लामा २ लाख २८ हजार रुपैयाँ राहत वितरण भएको छ । कार्यालयले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–२०६९ (तेस्रो संशोधन २०७५) को दफा ६ बमोजिम क्षतिको प्रकृति हेरी राहत समितिको सिफारिसको आधारमा राहत वितरण गरेको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मार्फत डिभिजन वन कार्यालयले प्राप्त गरेको रकम पीडितलाई हस्तान्तरण गरेको हो । कानुनबमोजिम डिभिजन वन कार्यालयले वन्यजन्तु पीडितहरूको राहतका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने र सोही सिफारिसको आधारमा पायक पर्ने संरक्षण क्षेत्रमार्फत राहत उपलब्ध गराउने प्रावधान छ । सोहीअनुरूप लमजुङका वन्यजन्तु पीडितलाई एक्यापमार्फत राहात रकम आएको हो ।
डिभिजन वन कार्यालयका अनुसार जिल्लामा राहत प्राप्त गर्नेमा बेंसीसहरका तीनजना, राइनास र दोर्दीका एक÷एक छन् । राहात पाउनेहरूले १० हजारदेखि १ लाख रुपैयाँसम्म पाएका डिभिजन वन कार्यालयका प्रमुख पुर्णेश्वर सुवेदीले जानकारी दिए ।
डिभिजन प्रमुख सुवेदीका अनुसार बेंसीसहर–१० का टेकबहादुर तामाङ भालुको आक्रमण बाट घाइते भई राहात लिएका हुन् । तामाङले उपचारका निम्ती एकलाख रुपैयाँ राहत पाएका हुन् ।
यस्तै दोर्दी–४ का हेमबहादुर गुरुङले चितुवाको आक्रमणबाट ८ वटा बाख्रा मरेको भन्दै ८० हजार राहत पाएका छन् । यसैगरी राइनासका छलि देवकोटा अधिकारीले चितुवाको आक्रमणबाट दुईवटा बाख्रा मारेको भन्दै १० हजार राहत पाएका छन् । सो बाहेक बेसीशहर–४ का सानुमाया श्रेष्ठको दुईवटा बाख्रा चितुवाले मारेको भन्दै १८ हजार राहात पाएकी छन् भने बेंसीसहर–२ की सरस्वती सुवेदीको एउटा बाख्रा चितुवाले क्षति पुर्याएपछि १० हजार राहात पाएकी डिभिजन वन कार्यालय लमजुङले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा वन्यजन्तुबाट क्षति पुगेकाहरूबाट प्राप्त निवेदनको आधारमा डिभिजन वन कार्यालयले सम्बन्धित निकायमा सिफारिस गरेको र सो रकम प्राप्त भएसँगै चालू आर्थिक वर्षमा वितरण गरिएको कार्यालयले जनाएको छ ।
चालू आर्थिक वर्षमा पनि वन्यजन्तुको आक्रमणबाट क्षति पुगेका जिल्लाका १७ जना राहातको प्रक्रियामा रहेका छन् । डिभिजन बन कार्यालय लमजुङका अनुसार जिल्लामा १७ वटा बाख्रा, दुईवटा भैंसी पाडा, एउटा गाई बाच्छा गरी २० वटा घरपालुवा जनवारमा क्षति पुगेको छ ।
सरकारले बन्यजन्तुबाट हुने क्षतिको निम्ति राहत प्रदान गर्न आधारहरूसहित निर्देशिका तयार गरेको छ । निर्देशिकामा मानवीय क्षति, पशुधनको क्षति, भण्डारण गरेको अन्नको क्षति, घर÷गोठको क्षति, खाद्यान्न बालीको क्षति र हिमाली क्षेत्रसम्बन्धी विशेष व्यवस्था जस्ता आधार छन् ।
सरकारले निर्देशिका बमोजिमको क्षेत्रीय वन निर्देशनालयमार्फत राहत उपलब्ध गराउँदै आएको छ । जिल्लास्तरमा राहत उपलव्ध गराउनका लागि सरोकारवालाहरूको सहभागितामा सिफारिस समिति हुन्छ । वन्यजन्तुबाट पीडित राहत सहयोग माग गर्ने व्यक्तिले घटना घटेको मितिले कम्तीमा ३५ दिनभित्र सम्बन्धित संरक्षित क्षेत्र वा डिभिजन वन कार्यालय समक्ष आवश्यक कागजातपत्र सहित निवेदन दिनुपर्ने प्रावधान छ ।
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा उद्धारसम्बन्धी अन्तरक्रिया
लमजुङ सदरमुकाम बेंसीसहरमा मानव–बन्यजन्तु द्धन्द व्यवस्थापन तथा उद्धार सम्वन्धी अन्तरक्रिया भएको छ । डिभिजन वन कार्यालय लमजुङको आयोजनमा जिल्लाका सरोकारवालाहरूबीच अन्तरक्रिया भएको हो ।
प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलको अध्यक्षतामा भएको सो कार्यक्रममा डिभिजन वन कार्यालय लमजुङका प्रमुख पुर्णेश्वर सुवेदीले वन्यजन्तु र मानव सहकार्यका लागि मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा उद्धारसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यालय प्रमुख सुवेदीले मानव बन्यजन्तु द्वन्द्वका कारण तथा प्रकार, द्वन्द्व न्यूनीकरणका लागि सरकारी तवरबाट भएका प्रयास, चुनौती, द्वन्द्व न्यूनीकरणका लागि समुदायको भूमिका लगायतका विषयवस्तुमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्यालय प्रमुख सुवेदीले बढ्दो सहरीकरण, वन जंगल अतिक्रमणका कारण बन्यजन्तुका बासस्थानमा समस्या हुँदा पछिल्लो समय बन्यजन्तु र मानवबीच द्वन्द्व बढ्न थालेको बताए । वन्यजन्तु व्यवस्थापनका निम्ती आवश्यक दक्ष जनशक्ति र उपकरण तथ प्रविधि नहुँदा विभिन्न समयमा मानविय क्षतिसमेत भोग्नुपरेको सुवेदीको भनाइ थियो ।
कार्यक्रममा बोल्दै प्रजिअ लुइँटेलले मानव जीवन र स्थानीय पारिस्थितिक प्रणालीसँग जोडिएका विषयलाई सचेतनामूलक रूपमा ग्रामिण भेगका समुदाय र सर्वसाधारणहरूसम्म पु¥याउनुपर्नेमा जोड दिए । वन्यजन्तु संरक्षण र पारिस्थितिक प्रणालीलाई बिग्रन नदिन सरकार, सम्बन्धित समुदाय र सरोकारवाला सबैको भूमिका हुने भन्दै सोहीअनुसार अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा नेपाली सेनाको श्रीजङ गणका गणपती जयराम थापा, बेंसीसहर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत लिलाबल्लभ न्यौपाने, जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापा, सशस्त्र प्रहरी नायव उपरिक्षक नवराज थापा, भेटिरीनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठ, कृषिज्ञान केन्द्र लमजुङका प्रमुख रोहिणीराज घिमिरे, नेपाल पत्रकार महासँघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारी लगायत सरोकारवाला एवं सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।