Logo

जिल्लामा पुनर्निर्माण सन्तोषजनक भए पनि झन्झटिलो भुक्तानी प्रक्रियाले नागरिकले सास्ती पाएका छन् ।

पुनर्निर्माणमा झन्झटिलो भुक्तानी प्रक्रियाले सास्ती


गुल्मीमा पुनर्निर्माणको झन्झटिलो प्रक्रियाले नागरिकलाई सास्ती भएको छ । निजी आवास पुनर्निर्माण गरिसकेपछि अनुदान रकम भुक्तानीका लागि झन्झटिलो प्रक्रिया भएकाले लाभग्राहीलाई सास्ती पुगेको जिल्लाका सरोकारवालाको भनाइ छ ।
नेकपा एमालेका नेता गणेश श्रीपाली, नेकपा माओवादी केन्द्रका नेता वीरबहादुर कार्की र जसपाका नेता घनश्याम पाण्डेयले जिल्लामा पुनर्निर्माण सन्तोषजनक भए पनि झन्झटिलो भुक्तानी प्रक्रियाले नागरिकले सास्ती पाएको बताए । साथै जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले जिल्लामा भूकम्पपीडितले पुनरावेदन गरेका समस्यामा प्राधिकरण गम्भीर नभएको बताए । “करिब ३ सय ५० जनाले पुनरावेदन गरेकोमा १३ जनाको मात्र फैसला हुनु प्राधिकरणको कमजोरी हो ।” जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले भने, “घरबास नभएकाहरू वास्तविक भूकम्पपीडित भएकाले उनीहरूलाई अनुदानबाट वञ्चित गराउनु हुँदैन ।” प्राविधिक नपुग्दै घर बनाएकालाई प्राधिकरणले अन्यायमा पार्ने काम गरेको बताउँदै उनले विभिन्न बहानामा वास्तविक लाभग्राही अनुदानबाट वञ्चित भएको बताए ।
नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले पुनर्निर्माणको काम आशा लाग्दो भएको बताए । “भूकम्पले भौतिक संरचनामा ठूलो क्षति हुँदा पनि सबै ठाउँमा एकै किसिमको निजी आवास निर्माण आचारसंहिता कार्यान्वयन भएको छैन ।” कांग्रेस गुल्मीका सभापति श्रेष्ठले भने, “भूकम्पले क्षतिसँगै सिकाएर गएका कुरालाई हामीले बिर्सिएर गए फेरि ठूलो मूल्य चुकाउनु पर्नेछ ।” जिल्लामा कुल ५ हजार २९ लाभग्राहीमध्ये ४ हजार ५ सय ६८ जनाले मात्रै पुनर्निर्माणको सम्झौता गरेका थिए । जसमा ४ हजार ५ सय २९ जनाले पहिलो किस्ता लगेका छन् । ३ हजार ५ सय ९९ जनाले दोस्रो र ३ हजार २० जनाले अन्तिम किस्ता प्राप्त गरेको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख यज्ञप्रसाद रिजालले जानकारी दिए ।
जिल्लामा भूकम्पले कालिगण्डकी गाउँपालिकामा बढी क्षति पु¥याएको थियो । कालिगण्डकीमा ८० प्रतिशत निजी आवास पुनर्निर्माणको काम भएको छ । १ हजार १ सय ३४ लामग्राहीमध्ये १ हजार ९४ जनाले सम्झौता गरेका थिए । जसमा १ हजार ९४ ले पहिलो, १ हजार १३ ले दोस्रो र ८ सय ८० जनाले तेस्रो किस्ता प्राप्त गरेको रिजालले जानकारी दिए ।
त्यस्तै जिल्लामा प्रवलीकरणबाट पुनर्निर्माणका लागि २ सय २६ र पुनर्निर्माणबाट प्रवलीकरणमा ८ जनाले लाभग्राही परिवर्तन गरेका छन् । त्यस्तै जोखिमयुक्त लाभग्राही अन्तर्गत धुर्कोटमा १८ र मदानेमा ३२ घर परिवारलाई एकीकृत बस्ती निर्माणको काम भइरहेको छ । त्यसका लागि पहिलो र दोस्रो किस्ता वितरणको काम भएको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास कार्यालय गुल्मीका लेखा अधिकृत दधिराम मरासिनीले जानकारी दिए । कार्यालयले निजी आवास पुनर्निर्माणमा ६३.७० प्रतिशत वित्तीय प्रगति गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्