सरकारको विज्ञप्तिले त्रास : पुन

नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताए । उनले कोरोना रोकथाम तथा न्यूनीकरणमा सरकार नलागि गम्भीर लापरबाही गरेको पनि बताए । सरकारले नै लापरबाही गरेर भीड जम्मा गरेको पछि सक्दिन भनेर हात उठाउनु गैरजिम्मेवार भएको उनको भनाइ छ । सरकारले उक्त कुरा तुरुन्तै सच्याएर जनताको चेकजाँच र स्वास्थ्य उपचारमा ध्यान पु¥याउनुपर्ने उनले बताए । उनले भने, ‘आफैं लापरबाही गरेर, हजारौं हजारको मास जम्मा गरेर, सुरुमा सम्भावित जोखिमका लागि तयारी पनि नगर्ने सरकार, जोखिम बढेपछि म सक्दिनँ भनेर हात उठाउने असाध्यै गैरजिम्मेवार कुरा हो, यसरी सरकार, राज्य केही पनि चल्न सक्दैन । यो कुरालाई तुरुन्त सच्याउनुपर्छ र जिम्मेवारीपूर्वक जनताको स्वास्थ्यउपचार, चेकजाँच, परीक्षणका कुराहरूलाई ध्यान दिनुपर्छ ।’
नेता पुनले कोरोना संक्रमण नियन्त्रणका लागि निजी अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइसोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरूमा युद्धस्तरको काम थाल्नुपर्ने पनि बताए । सरकारले अन्य राजनीतिक दलहरू र आम जनतालाई परिचालन गर्न नसकी जनतालाई जर्बजस्त मृत्युको मुखमा धकेल्ने प्रयत्न गरको भन्दै कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन प्रधानमन्त्रीसँग माग पनि गरे ।