स्थानीय तहको निष्क्रियताले कोरोनाको हटस्पट बन्यो पर्सा «

स्थानीय तहको निष्क्रियताले कोरोनाको हटस्पट बन्यो पर्सा


कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बनेको पर्सा जिल्लाका स्थानीय तहको सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि सक्रियता देखाएका छैनन् ।
संक्रामक रोग कोरोना भाइरस फैलिन नदिन र यसको रोकथाम र नियन्त्रणका लागि स्थानीय तहबाट आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने भनिए पनि अहिलेसम्म कुनै पनि स्थानीय तहले आइसेलेसनको व्यवस्था गरेको छैन । कोरोना भाइरसको दोस्रो लहरले समुदायमा महामारीको रूप लिइसकेको छ ।
जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकमा बोलाउँदा समेत अधिकांश स्थानीय तहका प्रमुख अनुपस्थित हुने गरेका छन् । वैशाख १५ गते बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले सबै पालिकालाई आफ्नो पालिकाभित्र आइसोलेसन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो ।
यसअघि पनि पटक पटक बसेको (डीसीसीएमसी) को बैठकले स्थानीय तहलाई क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन गर्न भनेको छ । तर, पनि अहिलेसम्म कुनै पनि पालिकाले त्यसको तयारी गरेका छैनन् । बैठकमा सहभागी भएका पालिकाका प्रमुखले डीसीसीएमसीको निर्णय कार्यान्वयनमा ल्याउने प्रतिबद्धत जनाउँदै निर्णयमा हस्ताक्षर पनि गरेका छन् । तर निर्णयमा हस्ताक्षर गरेका पालिका प्रमुखहरूले अmभैm त्यसलाई कार्यान्वयनमा ल्याएका छैनन् । पटक पटकको निर्देशनपछि अहिले पटेर्वासुगौली गाउँपालिकाले भने १० बेडको आइसोलेसन तयार गरेको छ ।
पटेर्वा सुगौली गाउँपालिकाले वडा नम्बर–४ फरहदवामा कोरोना भाइरस संक्रमितको उपचारका लागि १० बेडको आइसोलेसन सेन्टर तयार पारेको गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले जानकारी दिए । पालिकाको स्वास्थ शाखाले वडा नम्बर ४ फरहदवास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा १० बेडको आइसोलेसन सेन्टर तयार पारेको हो ।
अस्थायी कोभिड अस्पतालका रुपमा तयार पारिएको आइसोलेसन सेन्टरमा एकजना एमबीबीस डक्टर, दुईजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगी गरी ४ जनालाई खटाइएको गाउँपालिकाका प्रमुख चौधरीले जानकारी दिए । गतवर्ष फैलिएको कोरोना महामारीमा पनि पटेर्वासुगौली गाउँपालिकाले पीसीआर खरिद तथा अस्पतालमा राखिएका पालिकाका नागरिकको खर्च व्यवस्थापनका लागि २५ लाख रुपैंयाँ सहयोग गरेको थियो ।
सबैभन्दा बढी संक्रमित रहेको वीरगन्ज महानगरपालिकाले पनि महानगरमा २ सय बेडको आइसोलेसन सेन्टर सञ्चालनका लागि ठाउँको खोजी भइरहेको जनाएको छ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले कोरोनाको हटस्पट बनिसकेको पर्सामा २ सय बेडको आइसोलेसन सञ्चालन गर्ने तयारी गरेको तर स्थान अभावका कारण सञ्चालनमा ल्याउन नपाएको बताए । आइसोलेसन स्थापनाका लागि प्रमुख जिल्ला अधिकारीलाई स्थानको व्यवस्था गरिदिन आग्रह गरिसकिएको भन्दै नगर प्रमुख सरावगीले ठाउँ उपलब्ध हुने बित्तिक्कै दुई सय बेडको आइसोलेसन सेन्टर स्थापना गरिने बताए ।
कोरोनाको दोसो लहर भारतमा तीव्र फैलिएको समयमा नै प्रमुख नाका रहेको वीरगन्जलगायत भारतसँग सीमा जोडिएका पर्साका स्थानीय तहहरूले क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गरेको भए समुदायमा कोरोना संक्रमण फैलिन पाउने थिएन । तर, यसतर्फ स्थानीय तहको सरकारको कुनै ध्यान र चासो नै देखाएन । नयाँ भेरियन्टको कोरोना देखापरेर मान्छेको मृत्युसमेत भइसकेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले बोलाउने बैठकमा समेत नगएर स्थानीय तहका प्रमुखहरूले नागरिकप्रतिको जिम्मेवारीलाई नै भुल्ने गरेका छन् ।
कोरोना संक्रमित फेला पर्न थालेपछि कन्ट्याक्ट ट्रेसिङ र परीक्षणलाई बढाउनुपर्ने भए पनि यसमा कुनै पनि स्थानीय तहले सक्रियता देखाएनन् । खासगरी तराईंमा हर्षोल्लासका साथ मनाइने होली अघि नै भारतमा दोस्रो भेरियन्टको कोरोना फैलिएको र भारतबाट घर फर्किने नेपालीमा पनि संक्रमणको जोखिम उच्च रहेको थियो । तर, भारतबाट फर्किएकाका परिवारले समेत यसतर्फ ध्यान दिएनन् ।
नाकामा कुनै किसिमको परीक्षण गरिएन । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि हुनेलाई समेत घरमै आइसोलेसनमा बस्नु भनेर पठाइदिने र उनीहरूरुको अवस्थाको बारेमा कुनै किसिमको निगरानी गर्ने संयन्त्र सक्रिय नहुँदा अहिले भित्रभित्रै भुसको आगो सल्किए जस्तो कोरोना फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्