Logo

जिल्ला अस्पतालको भेन्टिलेटर प्रयोगविहीन


कोरोना संक्रमितको उपचारलाई लक्षित गर्दै गत वर्षको वैशाखदेखि जिल्ला अस्पताल लमजुङमा भेन्टिलेटरसहितको आईसीयू सञ्चालन गर्ने योजना बन्यो । जिल्लास्थित डीसीसीएमसीको बैठकले निर्णय गरी प्रदेश सरकारसँग पाँचवटा भेन्टिलेटरसहितको आईसीयू सञ्चालनका लागि सिफारिस पनि ग¥यो ।
जिल्लाबाट माग भएको झण्डै चार महिनापछि भेन्टिलेटरका लागि उपकरण ल्याइयो । उपकरण ल्याएको महिनौँ बित्दा पनि जिल्ला अस्पतालको भेन्टिलेटरसहित सघन उपचार कक्ष (आईसीसीयू) सञ्चालन हुन सकेको छैन । आवश्यक जनशक्ति नहुँदा भेन्टिलेटरसहित सघन उपचार कक्ष सञ्चालनका गर्न नसकिएको अस्पतालले जनाएको छ ।
गण्डकी प्रदेश सरकारबाट अघिल्लो आर्थिक वषमै बजेट प्राप्त भए पनि चालू आर्थिक वर्षको चार महिना पछि आवश्यक उपकरण आइपुगेको हो । भेन्टिलेटरसहितको आईसीयू सञ्चालनका लागि अघिल्लो वर्षकै बजेटबाट ढिला गरी उपकरण ल्याएको थियो । उपकरण ल्याइसकेको महिनौ बित्दा पनि आवश्यक जनशक्ति नहुँदा हालसम्म भेन्टिलेटरसहितको आईसीयू कक्ष सञ्चालन हुन नसकेको अस्पतालले जनाएको छ ।
आईसीसीयू कक्ष सञ्चालनका निम्ती प्रदेश सरकारले गत आर्थिक वर्षमै एक करोड ६९ लाख १९ हजार रुपैयाँ उपलब्ध गराएको थियो । तर विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमसँगै तत्कालीन लकडाउनका कारण आवश्यक उपकरण ल्याउन समस्या भएको थियो । अवस्था सहज भएसँगै आवश्यक उपकरण ल्याइसकिएको र तर दक्ष जनशक्ति नहुँदा सञ्चालन गर्न नसकिएको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । “यसका लागि छुट्टै तालिम प्राप्त जनशक्ति चाहिन्छ, त्यो जनशक्ति हाम्रो अस्पतालमा छैन,” अस्पताल प्रमुख श्रेष्ठले भने, “सरकारले पनि अहिलेसम्म तालिम प्राप्त जनशक्ति नपठाउँदा भेन्टिलेटर प्रयोग गर्न सकिएको छैन ।”
अघिल्लो आर्थिक वर्षमा कोभिड–१९ को उच्च जोखिमको सन्दर्भमा द्रुत गतिमा टेन्डर प्रक्रियामा गई असार महिनाभित्रै आईसीसीयू कक्ष सञ्चालन गर्ने तयारी भए पनि अपेक्षित काम हुन सकेको थिएन । हाल दोस्रो चरणको कोरोना संक्रमणको जोखिम हुँदासम्म पनि भेन्टिलेटरसहितको आईसीयू सञ्चालन नहुँदा सरकारको काम कारबाहीप्रति नै सरोकारवालाले प्रश्न उठाउँदै आएका छन् । हाल उपकरण ल्याएसँगै सञ्चालनका लागि प्रदेश सरकारमार्फत जनशक्ति माग गरिए पनि हालसम्म जनशक्ति नआएको अस्पतालले जनाएको छ । “हामीले पटक पटक जनशक्ति माग गरेका छौं,” अस्पताल प्रमुख श्रेष्ठले भने, “तर अहिलेसम्म पनि जनशक्ति पाएका छैनौ ।”
अस्पतालमा भेन्टिलेटरसहित पाँचवटा आईसीयू कक्ष सञ्चालन गर्ने तयारी गरिए पनि हाल दुईवटा भेन्टिलेटर मात्र जडान गरिएका छन् । भेन्टिलेटरसहितको आईसीयू कक्ष सञ्चालनका लागि आवश्यक प्रक्रिया र उपकरण भए पनि जनशक्ति नभएको अस्पताल प्रशासनले जनाएको छ ।
भेन्टिलेटरसहितको आईसीयू सञ्चालनका लागि सम्बन्धित विषयमा तालिम प्राप्त स्वास्थ्यकर्मी र सहयोगी चाहिने भन्दै अस्पतालभित्र उक्त तालिम लिएका जनशक्ति नभएको र बाहिरबाट पनि हालसम्म कोही नपठाइएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्