स्वीस–नेपाल प्रविधि हस्तान्तरण कार्यशाला पुसमा «

स्वीस–नेपाल प्रविधि हस्तान्तरण कार्यशाला पुसमा

स्वीट्जरल्यान्डमा अध्ययनरत तथा कार्यरत नेपाली विद्यार्थी एवं पेशाकर्मीहरूको संस्था नेपालिज साइन्टिफिक एसोसियसन इन स्वीट्जरल्यान्ड (नेपसास)ले ‘स्वीस–नेपाल प्रविधि हस्तान्तरण कार्यशाला–२०१९’ को आयोजना गर्ने भएको छ । नेपसासले गेट कलेजको आतिथ्यमा आगामी पुस १५ देखि १९ गतेसम्म तेस्रो ‘स्वीस नेपाल प्रविधि हस्तान्तरण कार्यशाला’ आयोजना गर्न लागेको हो ।
कार्यशालामा सहभागिताका मंसिर २९ गतेसम्ममा आवेदन गर्न सकिने नेपसासले जानकारी दिएको छ । प्रतियोगितामा निःशुल्क सहभागिता जनाउन पाइने नेपालिज साइन्टिफिक एसोसियसन इन स्वीट्जरल्यान्डले जनाएको छ ।
कार्यशालामा सहभागिताका लागि ५० सहभागीहरूको चयन गरिने तथा विजेतालाई २ हजार अमेरिकी डलरको नगद पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जानकारी दिएको छ । विजेता अवधारणले गत वर्षजस्तै ‘वल्र्ड इनोभेसन फोरम’मा नेपाललाई प्रतिनिधित्व गर्नेछ ।
संस्थाले युवा माझ विज्ञान तथा प्रविधिमा आधारित उद्यम (स्टार्टअप)हरू प्रबद्र्धन गर्दै आइरहेको छ । नेपसासले हालको प्रतिभा पलायन (ब्रेन ड्रेन)लाई दिगो र समृद्ध प्रतिभा प्राप्तिमा बदलिने लक्ष्य राखेको संस्थाका अध्यक्ष रञ्जन मिश्रले बताए । “यो लक्ष्य प्राप्तिका लागि संस्थाले युवालाई त्यस्ता विज्ञता हासिल गरेका व्यक्तिहरू जो अनुभवी परामर्शकर्ता-गुरुका रूपमा योगदान दिन इच्छुक हुन्छ, उहाँहरूसँग सम्पर्क गराउने मञ्चहरू उपलब्ध गराउँदै आइरहेको छ,” मिश्रले भने, “यस्तो किसिमको मञ्चमध्ये स्वीस नेपाल प्रविधि हस्तान्तरण कार्यशाला एक हो ।”
सन् २०१७ देखि नेपसासले स्थानीय चुनौती र अवसरहरूलाई सम्बोधन गर्दै सम्भाव्य नवउद्यम (स्टार्टअप)मा परिणत गर्ने वैज्ञानिक अवधारणालाई सहयोग गर्न काठमाडौंमा वार्षिक कार्यशालाको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्