खडेरीले हिउँदे बाली उत्पादनमा कमि «

खडेरीले हिउँदे बाली उत्पादनमा कमि


बझाङमा खडेरीका कारण हिँउदे बालीको उत्पादनमा कमि आएको छ । जिल्लाको सेती, कालंगा, बहुलीगाड, सुनिगाड लगायतका नदी र खोलाको तटमा रहेका र सिंचाइको सुविधा भएका सीमित क्षेत्र आकासे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा कमि आएको हो ।
लामो समय सम्म परेको खडेरीका कारण गहुँ, जौ, ऊबा, केराउ, मुसुरोलगायतका हिउँदे बालीको उत्पादनमा कमि आउँदा जिल्लामा चरम खाद्य संकट हुने देखिएको छ । खडेरीका कारण अधिकांस क्षेत्रमा लगायतको हिउँदे बाली सुकेर नष्ट भएको छ । उत्पादन घट्दा कृषिमै निर्भर हुने गरेका र न्यून आयश्रोत भएको परिवारले चरम खाद्य संकटको सामाना गर्नुपर्ने अवस्था आएको छ । आकासे पानीको भरमा खेती गर्ने यस क्षेत्रका कृषकहरुमा उत्पादन कमि भएसँगै भोकमरी हुने चिन्ताले सताउन थालेको छ ।
बाली भित्र्याउने चटारोले व्यस्त हुने कृषकहरु यसपालीको खडेरीले चिन्तित बनेका छन् । अहिलेको समयमा कृषकलाई गहुँ, जौ, मुसुरोलगायत हिउँदे बाली भित्र्याउने हतारो हुन्थ्यो । यसपालि त खडेरीले अन्नको बोट पनि देख्न नपाएको थलारा गाँउपालिकाका शेरबहादुर खातीले दुखेसो गरे । उनले भने, “यो समयमा हामीलाई खाने बस्ने फुर्सनै हुँदैनथ्यो । यसपालि त खेतबारी सबै बाँझो भयो । हिउँदमा पानी परेन, पुस माघमा पानी परे राम्रै उब्जाऊ हुन्थ्यो ।”
हिउँदे बाली खेतमै सुकेपछि वर्षभरी कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको खप्तडछान्ना गाँउपालिका ७ गोर्खालिका सुर्जन सिंहले बताए । “हिँउदभरी पानी नपरेर बारीमा लगाएको बाली सुक्यो” उनले भने, “सिँचाइ हुने ठाँउमा अलिअलि उम्रेको थियो त्यो पनि असिनाले चुटेर सखापै बनायो ।”
खडेरीका कारण बालीनाली सुकेको बारे स्थलगत अध्ययन गरिरहेको सुदूरपश्चिम खाद्य अधिकार सञ्जाल टोलीले बझाङमा चरम खाद्य संकट उत्पन्न भई भोकमरीको चपेटामा पर्ने अवस्था आएको बताएको छ । बझाङमा चरम खाद्य संकट हुने भन्दै खडेरी पीडित किसानलाई तत्काल राहतको व्यवस्थापन गर्नुपर्ने सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकायाले बताए । “हामीले थलारा गाउँपालिकामा सुख्खा खडेरीले प्रभावित समुदायको प्रारम्भिक तथ्याङ्क संकलन गरेका थियौं” उनले भने, “विभिन्न वडाका १ सय ८५ घरधुरीमा गरिएको सर्वेक्षणमा ९३ प्रतिशत घरधुरीको क्षति भएको पाइएको छ ।”
यो खाद्य संकटको उच्चतम विन्दु हो । प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि तत्काल राहत स्वरुप खाद्यान्न वितरण गर्नुपर्ने र वर्षेवालीका लागि बिउ तथा मल निःशुल्क उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।
आकासे पानीको भरमा खेती हुने क्षेत्रका किसान सिंचाइको सुविधा भएका क्षेत्रबाहेक ठाउँमा ९० प्रतिशत उत्पादन घटेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाभरी १५ हजार भन्दा बढी हेक्टरमा गहुँ, जौ, उुवा, केराउ, मुसुरोलगायतका हिँउदे बाली लगाएकोमा ६ हजार २ सय हेक्टर क्षेत्रफलमा उत्पादन शुन्य रहेको ज्ञान केन्द्रले जनाएको छ । खडेरीका कारण जिल्लामा ९ हजार ३ सय ३६ मेट्रिक टन हिउँदे बाली पूर्णरुपमा नष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए ।
“जिल्लामा कुल खेती योग्य जमिनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाई सुविधा छ” उनले भने, “सिंचाइ नभएको ठाउँमा लगाएको बाली सुकेर पुरै नष्ट भएको छ ।” बझाङमा वार्षिक ३२ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । यो जनसंख्याको अनुपातमा पर्याप्त छैन । हरेक वर्ष ७ हजार मेट्रिक टन अपुग हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्