व्यावसायिक दुग्ध उत्पादनमा प्रदेश ६ कमजोर

नयाँ संरचना अनुसारको प्रदेश नम्बर ६ व्यावसायिक दुग्ध उत्पादनमा कमजोर देखिएको छ । बढ्दो सहरीकरणसँगै मुलुकभर दूधको उत्पादन र खपत बढ्दो क्रममा रहे पनि प्रदेश नम्बर ६ मा भने दुग्ध व्यवसाय गर्ने डेरीको संख्यासमेत न्यून पाइएको छ ।
नेपाल डेरी एसोसिएसनले गरेको एक अध्ययनले प्रदेश नम्बर ६ मा दूधको बजारीकरणमा मुख्य भूमिका रहने ठूला, मझौला र साना डेरीको संख्या शून्य रहेको देखाएको छ । घरेलु डेरीको संख्या भने १५० छ । यद्यपी सो क्षेत्रका दैनिक ४ लाख लिटर दूध उत्पादन तथा खपत भैरहको अध्ययन प्रतिवेदनमा उल्लेख छ । कृषि विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले दैनिक १० हजार लिटरभन्दा बढी दुग्ध प्रशोधन गर्ने डेरीलाई ठूला डेरीको रूपमा वर्गीकरण गरेको छ । त्यसैगरी दैनिक ५ हजारदेखि १० हजार लिटरसम्म दुग्ध प्रशोधन क्षमता भएका डेरीलाई मझौला, दैनिक १ हजारदेखि ५ हजार लिटर क्षमताकालाई साना र दैनिक एक हजारभन्दा कम लिटर दूध प्रशोधन क्षमता भएका डेरीलाई घरेलु डेरीका रूपमा परिभाषित गरेको छ ।
प्रदेश नम्बर ६ को सुर्खेतमा हालै मात्र सुर्खेत डेरीको नामबाट नयाँ डेरी उद्योग खुल्न थालेको एसोसिएसनका महासचिव प्रह्लाद दाहालले बताए । एसोएिससनका अनुसार मुलुकभर सबैभन्दा बढी दूध उत्पादन तथा खपत प्रदेश नम्बर ३ मा दैनिक १८ लाख लिटर रहेको छ भने सबैभन्दा कम प्रदेश नम्बर ७ मा एक लाख लिटर रहेको छ । काठमाडौं लगायतका ठूला सहर रहेका कारण प्रदेश ३ मा दूधको उत्पादन र खपत उच्च भएको हो । डेरीको संख्या कम भए पनि उत्पादन र उपभोगमा भने प्रदेश ७ भन्दा प्रदेश नम्बर ६ अगाडि देखिएको हो । एसोसिएसनका अनुसार प्रदेश २ मा ११ लाख लिटर, प्रदेश ४ मा ८ लाख लिटर, प्रदेश ३ लाख ४८ लाख लिटर, प्रदेश नम्बर ५ मा २ लाख ९५ लिटर उत्पादन तथा खपत हुँदै आएको छ ।
मुलुकभर वार्षिक १६ लाख टन दूध उत्पादन हुँदै आएको पशुपंक्षी विकास मन्त्रालयको तथ्यांक छ । दूधको वार्षिक उत्पादन ४ प्रतिशतले वृद्धि भइरहेको छ भने माग ८ प्रतिशतको दरले वृद्धि भइरहेको तथ्यांक छ । “दूधको माग र आपूर्तिलाई व्यवस्थित गर्न मुलुकभर साढे १६ सय ठूलादेखि घरेलु डेरी उद्योगले बजारीकरणको काम गरिहेका छन्,” एसोसिएसनका अध्यक्ष सुमित केडियाले भने, “अझै पनि १५ प्रतिशत दूध मात्र औपचारिक क्षेत्रबाट बिक्री भइरहेको छ, बाँकी ३५ प्रतिशत अनौपचारिक क्षेत्रबाट र ५० प्रतिशत त कृषकस्तरमै उपभोग भइरहेको छ ।” उनले कृषि कुल गार्हस्थ उत्पादनमा ९ प्रतिशत योगदान रहेको दुग्ध क्षेत्रको प्रवद्र्धनका लागि सबै पक्ष लाग्नुपर्ने बताए ।