के होला १७ करोडको घुम्ती कोष ? «

के होला १७ करोडको घुम्ती कोष ?

विश्व बैंकको सहयोगमा सञ्चालित गरिबी निवारण कोषको कार्यक्रमबाट कोषका सबै कर्मचरीलाई कोषले बिदा गरे सँगै पाँचथरमा गरिबी निवारण कोषबाट सञ्चालन भइरहेको १७ करोड बराबरको घुम्ती कोषको रकम के होला भन्ने जोखिम भएको छ । गरिबी निवारण कोषले स्थानीय तहहरूसँग राम्रो समन्वय गर्न नसक्दा र स्थानीय तहले पनि ध्यान दिन नसक्दा जिल्लाका रहेको ठूलो रकम जोखिममा परेको छ । जनप्रतिनिधिहरूले पनि घुम्ती कोषको रमकलाई ध्यान दिइरहेका छैनन् । २०६७ सालबाट सुरु भएको गरिबी निवारण कार्यक्रम पाँचथरका साबिक ४१ वटा गाविसमध्ये पहिलो चरणमा छनौटमा परेका २१ गाविसहरूमा कार्यक्रम सुरु भएदेखि हालसम्म समुदायमा निर्माण गरेको घुम्ती कोषको करिब १७ करोडको घुम्ती कोषको रकम जोखिममा परेको छ । कार्यक्रम सञ्चालनमा लगानी गरिरहेको विश्व बैंकले सन् २०१८ को डिसेम्बरबाट सहयोग रोक्दै गर्दा कार्यक्रम सञ्चालन र सो कार्यक्रमको अपनत्व कसले ग्रहण गर्ने निश्चित नहुँदा देशभरिमा परिचालनमा रहेको घुम्ती कोष जोखिममा परेको छ ।
गरिबहरूलाई गरिबीको कुचक्रबाट दिगो रूपमा माथि उठ्न सहयोग पु¥याउने मुख्य लक्ष्यका साथ कार्यान्वयनमा ल्याइएको कार्यक्रमले नेपाल सरकारको दीर्घकालीन लक्ष्य र सहस्राब्दी विकास लक्ष्यमा सहयोग पु¥याउने लक्ष्यसहित पाँचथरमा सुरु भएको गरिबी निवारण कोष कार्यक्रममा पाँचथरका साबिक २१ गाविस स्यावरुम्बा, रानीगाउँ, लुम्फाबुङ्ग, आङ्ना, इम्बुङ्ग, हांगुम, सुनगाभा विकास संस्थालाई आरुबोटे, लिम्बा, दुर्दिम्बा, सिवा, यासोक, लुङ्गरुर्पा, भारपा, पञ्चमी, अमरपुर, च्याङ्गथापु, फलैंचा, ओयाम, सिदिम प्राङबुङ, ममेङ्मा गाविसमा सो कार्यक्रम लागू भएको थियो ।
चरम गरिब कम गर्नु, गरिब महिला, जनजाति, पिछडिएका वर्गको पहुँचमा वृद्धि गर्नु, सामाजिक आर्थिक हिसाबले पिछडिएका वर्ग र क्षेत्रको पछौटेपन हटाउनु, स्थानीय आवश्यकता पहिचान गरी तिनै आवश्यकतालाई कार्यान्वयन गरेर गरिबहरूको आयआर्जनमा वृद्धि गर्दै गरिबी न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले कोषले काम गरिरहेको थियो । कार्यक्रम सञ्चालनको ८ वर्षमा साविकका २१ गाविस हालका ३० वडामा ४ सय ४१ सामुदायिक संस्था गठन भई कोषमा दर्ता भएका सामुदायिक संस्थाहरूमध्ये ४ सय सामुदायिक संस्थाले कोषबाट घुम्ती कोष बापत प्राप्त गरेको रकम रु. १० करोड ७१ लाख २७ हजार ३ सय ४६, समुदायको स्व लगानी रकम रु. २ करोड १७ लाख १ हजार ५ सय १६, घुम्ती कोषको ब्याज रु. ३ करोड १३ लाख २६ हजार ४ सय ५९ र समुदायको वचत १ करोड १७ लाख ५७ हजार ६ सय ४८ समेत कुल १७ करोड १९ लाख १२ हजार ९ सय ६९ आयआर्जनका क्रियाकलापमा लगानी भई परिचालनमा रहेको छ । जसबाट ११ हजार ३ सय ६३ घरधुरीका ५६ हजार ३ सय ३५ जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन्, जसअन्तर्गत महिला घरधुरी ६ हजार ५ सय ४९ र पुरुष घरधुरी ४ हजार ५ सय ८३, त्यस्तैगरी कार्यक्रमवाट दलित घरधुरी ७ सय १२, जनजाति घरधुरी ९ हजार २७ र अन्य घरधुरी १ हजार ९ सय ८ लाभान्वित भए । गरिबहरूको वर्ग विभाजन हेर्दा ‘क’ वर्गका अति गरिब घरधुरी ५ हजार ५ सय ९८, ‘ख’ वर्गका मध्यम गरिब घरधुरी ३ हजार ७ सय १४ र ‘ग’ वर्गका गरिब घरधुरी २ हजार ५१ छन् ।
घुम्ती कोष परिचालन तथा व्यवस्थापनको लागि प्रत्येक साविकका गाविसमा एक–एक जना सामाजिक परिचालकको व्यवस्था गरिएको थियो । परिचालकले विशेषतः घुम्ती कोषको रेखदेख गर्दै त्यसको हिसाब–किताब दुरुस्त राख्न सहयोग गर्दै आएका थिए । गरिबी निवारण कोषले कार्यक्रम सञ्चालनको पछिल्ला वर्षहरूमा कर्मचारीहरूलाई नियमित नियुक्ति नदिँदा घुम्ती कोष परिचालन प्रभावित बन्दै गयो । सोही क्रममा गत आर्थिक वर्षमा १२ महिनामा ५ महिना मात्र सम्झौता भई गत चैत मसान्तबाट सम्झौता सकिएको गरिबी निवारण कार्यक्रम पाँचथरका फोकलपर्सन भीम कार्कीले जानकारी दिए ।
घुम्ती कोष प्राप्त गरेका सामुदायिक संस्थामा प्रत्येक महिना सामाजिक परिचालक उपस्थित भई हिसाबकिताब राख्न सहयोग हुनुपर्नेमा चार महिना भइसक्दा पनि घुम्ती कोष परिचालन ठप्प भएको छ, जसले घुम्ती कोष सञ्चालनमा बाधा आएको सिरिजंगा ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक त्रिभुवन शेर्माले बताए । सामुदायिक संस्थाहरूसमेत स्वयं उक्त रेकर्ड व्यवस्थापन गर्न सक्षम भइनसकेको अवस्थामा कार्यक्रम सञ्चालनमा बढेको अन्योलले प्रत्येक गाविसमा लगानीमा रहेको करिब १÷१ करोड रकम घुम्ती कोष दुरुपयोग हुने जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्