Logo

मध्यनेपालको प्राथमिकता कृषि र स्वरोजगार

लमजुङको मध्यनेपाल नगरपालिकाले समृद्ध नगरपालिकाका लागि कृषि र स्वरोजगारलाई विशेष प्राथमिकतामा राखेको छ । भौगोलिक रूपमा विकट, अधिकांश ग्रामीण भू–भाग रहेको नगरपालिकाले स्थानीय स्रोत र सम्भाव्यताअनुसार नगरपालिकाको समृद्धि र विकासका लागि कृषिलाई विशेष प्राथमिकतामा राखेको नगर प्रमुख रमेश कुमार पाण्डेले बताए ।

दीर्घकालीन आत्मनिर्भरता, व्यावसायिकता कृषिमा मात्रै सम्भव भएको नगरप्रमुख पाण्डेको भनाइ छ । व्यावसायिक कृषिको प्रवद्र्धन गर्न सके स्वरोजगार सिर्जना हुने भन्दै युवाहरू विदेश पलायन हुने क्रमलाई रोक्न पनि व्यावसायिक कृषि अति आवश्यक भएको नगर प्रमूख पाण्डेले बताए ।

नगरपालिकाले स्थानीय उत्पादन र उत्पादकत्व वृद्धि गरी आयआर्जन र स्वरोजगारका अवसर वृद्धि गर्दै मध्यनेपाल समृद्धिको मुख्य आधार नै व्यावसायिक कृषिलाई मान्यता दिएको छ । कोरोना भाइरसको विश्वव्यापी संक्रमण प्रभावसँगै विदेशबाट फर्किएकाहरूलाई लक्षित गरी व्यावसायिक कृषि उत्पादन र स्वरोजगारलाई प्राथमिकतामा राखेको नगर प्रमुख पाण्डेले बताए ।

नगरपालिकाले व्यावसायिक कृषि प्रवद्र्धनका लागि सम्भाव्यताअनुसार एक वडा एक उत्पादन, पशु पकेट क्षेत्रमा बाख्रापालन कार्यक्रमका लागि विशेष सहयोग, वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक कृषि उत्पादन गर्न चाहनेहरूका लागि विशेष प्रोत्साहन कार्यक्रम लागू गरेको छ । जमिन बाँझो नहोस् भन्नका लागि बाँझो जमिनमा खेती गर्न चाहनेहरूलाई विशेष अनुदान कार्यक्रमसमेत मध्यनेपाल नगरपालिकाले सञ्चालन गरेको छ ।

मध्यनेपाल नगरपालिकाले कृषि कार्यक्रम प्रवद्र्धनका लागि कुल बजेटको २५ प्रतिशत कृषिमा लगानी गर्ने, कृषिलाई परिणाममुखी बनाउने, पालिकावासीलाई आत्मनिर्भर मात्रै नभई व्यावसायिक बनाउने कार्ययोजना तयार गरेको छ । नगरपालिकाको तीनवटा वडाबाहेक सबै वडा ग्रामीण भाग भएकाले व्यावसायिक पशुपालन, तरकारी र फलफूल उत्पादनका लागि दीर्घकालिन योजना बनाएर अघि बढेको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत वैकुण्ठप्रसाद सापकोटाले बताए ।

नगरपालिकाले शैक्षिक विकासका लागि पनि विशेष प्राथमिकता दिएको छ । ग्रामीण भेगमा विद्यार्थी नभएका विद्यालयहरूलाई मर्ज गरी विद्यार्थी धेरै भएका विद्यालयहरूमा शिक्षक व्यवस्थापन गर्ने, शिक्षक दरबन्दी नभएका सामुदायिक माध्यमिक विद्यालयहरूमा विद्यार्थीअनुसार शिक्षक व्यवस्थापन गर्ने काम पनि नगरपालिकाले गरेको छ ।

प्राविधिक शिक्षालाई विशेष प्राथमिकतामा राखी विभिन्न विद्यालयमा कृषि तथा बाली विज्ञानसम्बन्धी कक्षा सञ्चालन गरेको नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि डिप्लोमा तहको सिभिल इन्जिनियरिङ कक्षासमेत सञ्चालन गर्ने तयारी गरेको छ । शिक्षकलाई पेसाप्रति इमानदार र बफादार बनाउन वार्षिक शिक्षक सम्मान, विद्यालय तहदेखि क्याम्पस तहसम्म अध्ययन गर्ने गरिब तथा जेहनदार विद्यार्थीहरूलाई विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

मध्यनेपाल नगरपालिकाले स्थानीय विषयवस्तुलाई समेटेर स्थानीय पाठ्यक्रमसमेत अध्यापन सुरु गरेको छ । गत शैक्षिक सत्रबाट सुरु भएको स्थानीय पाठ्यक्रम कक्षा आगामी शैक्षिक सत्रमा कक्षा ६ सम्म अध्यापन गराउने नगरपालिकाले तयारी गरेको छ ।

सुरुका वर्षहरूमा सडक, संरचनालगायतका विकास निर्माणलाई पहिलो प्राथमकिता दिएको नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पनि प्राथमिकता राखेको छ । अहिलेसम्म एउटा सरकारी अस्पतालसमेत नरहेको नगरपालिकामा कम्तीमा १५ शय्याको अस्पताल बनाउने काम अघि बढिसकेको छ । भौगोलिक विकटतासँगै सुरुका वर्षदेखि नै नगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिलाहरूलाई घरदैलोमै चिकित्सकसहित निःशुल्क स्वास्थ्य परीक्षण, दीर्घरोगीहरूलाई निःशुल्क औषधिको व्यवस्था, सुत्केरी महिला प्रेषण गर्नुपरेमा निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको छ । नगरपालिकाले आफ्नै लगानीमा विभिन्न रोग परीक्षणका निम्ति स्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ भने १५ शय्याको आधारभूत अस्पताल निर्माणका निम्ति चालू आर्थिक वर्षमा शिलान्याससमेत भइसकेको छ ।

१० वटा वडा रहेको मध्यनेपाल नगरपालिकाको प्रत्येक वडा र गाउँहरूमा कच्ची सडक पुगिसकेको छ । भौगोलिक रूपमा विकट भएकै कारण नगरपालिकाभित्र कालोपत्रे सडक भने न्यून नै छ । यद्यपि चालू आर्थिक वर्षमा मात्रै पाँचवटा छोटा सडक कालोपत्रेको क्रममा रहेका छन् । नगरपालिकाअन्तर्गत नै मध्यपहाडी राष्ट्रिय राजमार्ग पनि निर्माणाधीन अवस्थामा रहेको छ ।

नगरपालिकाअन्तर्गतका प्रायः सबै बस्तीमा खानेपानीको सुविधा छ । पालिकाका केही वडामा एक घर एक धारा कार्यक्रम कार्यान्वयनकै चरणमा छन् । सोबाहेक पनि नगरपालिकाले खानेपानीका पुराना मुहान, परम्परागत धारा, कुवा संरक्षणमा पनि विशेष चासो दिएको छ । सार्वजनिक स्थल एवं पुरानो समयमा समुदायले प्रयोग गरेको साझा खानेपानीका स्रोतहरूलाई संरक्षण र संवद्र्धन गर्दै आएको नगरपालिकाले जनाएको छ ।

मध्यनेपाल नगरपालिकाको आफ्नो प्रशासकीय भवन छैन । यद्यपि चालू आर्थिक वर्षबाट नै प्रशासकीय भवन निर्माणको काम सुरु भएको छ । नगरपालिकाअन्तर्गत १० वटा वडामध्ये अघिल्लो वर्ष तीनवटा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको थियो भने चालू आर्थिक वर्षमा तीनवटा वडा कार्यालय निर्माण सम्पन्नको चरणमा रहेका छन् । अन्य केही वडा कार्यालयहरूले भने साविक गाविस भवनबाट सेवा प्रवाह गर्दै आएका छन् ।

मध्यनेपाल–७, करापुटारमा रहेको इशानेश्वर महादेव मन्दिर यहाँको प्रमूख धार्मिक सम्पदा हो । विशेष गरी महाशिवरात्रिका दिन काठमाडौँको पशुपतिनाथभन्दा दोस्रो ठूलो मेला लाग्ने ठाउँका रूपमा पनि इशानेश्वर मन्दिरलाई लिइन्छ । सन्तानेश्वर महादेवका रूपमा भक्ति आरधाना गरिने इशानेश्वर मन्दिर वर्षमा एक पटक मात्रै नभई वर्षभरि नै भक्तजनहरू आउने गरी प्रवद्र्धनमा नगरपालिका लागिपरेको छ । सोबाहेक मध्यनेपाल–१०, नेटामा रहेको मालिका देवी मन्दिर जुन नेपाली राजनीतिका हस्ती कोइराला परिवारसँग जोडिएको छ । उक्त मालिका मन्दिर संरक्षण र पर्यटन प्रवद्र्धनका लागि पनि बृहत् गुरुयोजना बनाएको नगरपालिकाले जनाएको छ । यसैगरी मध्यनेपाल–२, नागभैरव, मध्यनेपाल–१ को राक्से कालिका मन्दिरसँगै ऐतिहासिक सप्तधारा पनि मध्यनेपालका पर्यटकीय सम्पदा हुन् ।

समृद्धिको अर्को आधार पर्यटन मानेको मध्यनेपाल नगरपालिकाले धार्मिक सम्पदा र स्थानीय कला–संस्कृतिलाई पर्यटनसँग जोड्दै ग्रामीण पर्यटन प्रवद्र्धनका काम सुरु गरिसकेको छ । नगरपालिकाले मध्यनेपालका दुईवटा गाउँ डढुवा र हाँडीगाउँमा होमस्टे प्रवद्र्धनको कार्यक्रम गरेको छ भने मध्यनेपाल–१०, नेटा हाँडीगाउँमा लोपोन्मुख दुरा जातिको संस्कृति संरक्षणका निम्ति संग्रहालय नै निर्माण गरेको छ ।

नगरपालिकाले आर्थिक, सामाजिक र पूर्वाधार विकाससँगै वन वातावरण र विपत् व्यवस्थापन, संस्थागत विकास र सेवा प्रवाह, वित्तीय व्यवस्थापन र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । नगरपालिकाले खेलकुद विकासका निम्ति सातवटा वडामा खेल मैदान निर्माण गरेको जनाएको छ ।

विशेष गरी दिगो विकास र विकासको अनुभूतिका लागि आगामी आर्थिक वर्षदेखि प्रोजेक्ट बैंकको अवधारणासहित अघि बढ्ने नगरपालिकाको योजना छ । साना तर नदेखिने योजनाहरूमा रकम खर्च गर्नुभन्दा उत्पादन र परिणाममुखी योजना छनोट गरी काम गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताए ।

ग्रामीण क्षेत्रमा उत्पादनमुखी र बजार क्षेत्रमा सहरी विकासमुखी योजना छनोट गर्ने र नतिजामुखी काम गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाको भनाइ छ । सहरी क्षेत्रमा ढल निकास, खानेपानी, खेलकुद संरचना, पार्कलगायतका संरचना निर्माण गर्ने भने ग्रामीण क्षेत्रमा उत्पादन र आम्दानीसँग जोडिएर व्यावसायिक कृषि प्रवद्र्धनका कार्यक्रम सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्