सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टीको हेलिकप्टरको अवशेष पन्ध्र वर्षपछि सेनाले बुधबार फेला पार्यो
सेनाले फेला पार्यो १५ वर्षपहिले दुर्घटनामा परेको हेलिकप्टर
नेपाली सेनाले धौलागिरी हिमालमा १५ वर्ष पहिले दुर्घटनामा परेको हेलिकप्टर र दुई वटा शव फेला पारेको छ।
धौलागिरी बेस क्याम्पदेखि २ हजार मिटर दक्षिणतर्फ माउण्टेन उपकरणसहितका २ वटा मानव अवशेष र सोही बेस क्याम्पबाट करिव १ किलोमिटर इटाली बेस क्याम्पतर्फ ९एन–एसीआर लेखेको हेलिकप्टरको अवशेष फेला परेको नेपाली सेनाले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । मृतकको पहिचान खुलेको छैन र यस सम्बन्धमा अनुसन्धान भइरहेको जंगी अड्डाले जनाएको छ।
३ सेप्टेम्बर २००६ मा बिरामी लिन धौलागिरि आधार शिविरमा पुगेको एयर डाइनेस्टी हेली सर्भिसको हेलिकोप्टर मौसम खराबीका कारण फोर्स ल्याण्डिङ गरेको थियो । हेलिकोप्टर उडाइरहेका पाइलटलाई दोस्रो हेलिकोप्टर पठाएर उद्धार गरियो । दुर्घटनामा मानवीय क्षति शून्य र एक जनाको उद्धार भएको थियो । कम्पनीले बिमा दाबी गर्यो र हेलिकोप्टर बिमा कम्पनीले जिम्मा लियो । हिमालबाट उठाएर ल्याउन नसक्ने वस्तुहरु सहित हेलिकोप्टर त्यही छाडियो । सोहि अवशेष सेनाले फेला पारेको हो ।
मानव अवशेषहरु व्यवस्थापनका लागि सम्बन्धित निकायहरुसँग समन्वय थालिएको पनि सेनाले जनाएको छ। नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलनका क्रममा फेला पारेको हो। नेपाली सेनाले सगरमाथासहित ६ वटा हिमालको सरसफाई गरिरहेको छ। वैशाख १२ गतेदेखि १६ गतेसम्ममा कुहिने १५५ केजी र नकुहिने ४ हजार ६९९ केजी फोहोर संकलन गरेको छ।