सेनाले जोगायो मोबाइल र रेडियोको टावर «

सेनाले जोगायो मोबाइल र रेडियोको टावर


लमजुङ । नेपाली सेनाले लमजुङका दुईवटा सामुदायिक रेडियो र टेलिफोन टावरमा आगलागी हुनबाट बचाएको छ । बेंसीसहर–१, उदिपुरस्थित श्रीजङ गणको टोलिले स्थानीय कालिका सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिएर रेडियो र टेलिफोन टावरमा क्षति हुनबाट जोगाएको हो ।
सेनाको सक्रियतामा सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएपछि सुन्दरबजार–५, तार्कु गहते डाँडामा रहेको टावरहरुमा सुरक्षित भएका हुन् । बिहीबार बिहान ६ः१५ बजेदेखि सामुदायिक बनमा लागेको डढेलो लागेको खवर पाएसँगै सह सेनानी ऋषिराम न्यौपानेको नेतृत्वमा ४० जना सेना डढेलो नियन्त्रणका लागि खटिएका थिए । सेना सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियले डढेलो निभाउने प्रयास गरेका थिए । डढेलो नियन्त्रणका लागि पाँच घण्टा बढी समय लागेको नेपाली सेनाले जनाएको छ ।
डढेलो लाग्नबाट सदरमुकाम बेसीशहरमा रहेका सामुदायिक रेडियोहरु रेडियो मस्र्याङ्दी ९५ मेगाहर्ज र रेडियो चौतारी ९१.४ को टावर, नेपाल टेलिकमको टावर, एनसेल टावर सुरक्षित भएका छन् । जंगलमा लागेको डढेलोले सामूदायिक बनमा पुगेको क्षतिबारे एकिन तथ्याँक आउन बाँकी रहेको डिभिजन बन कार्यालय लमजुङले जनाएको छ ।
गर्मी मौसम सुरुभएसँगै लमजुङमा पनि जङ्गलमा डढेलो लाग्ने क्रम बढेको छ । डिभिजन बन कार्यालय लमजुङका अनुसार जिल्लामा फागुन महिनायता मात्रै ३७ वटा सामुदायिक बनमा डढेलो लागेको पाइएको छ ।
लामो समय खडेरी पर्नु र हावाहुरी लगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । जिल्लामा फागुन महिनायता मात्रै ४ सय ७९ दशमलव ५० हेक्टर क्षेत्रफलको वनमा आगलागी भएको डिभिजन बन कार्यालयले जनाएको छ । आगलागीका कारण बर्सेनि वन क्षेत्र मासिँदै जान थालेको छ भने जनधनको पनि उत्तिकै क्षति हुने गरेको छ ।
डिभिजन बन कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार जिल्लाका ६ वटा सव डिभिजन वन कार्यालय अन्तर्गत सवैभन्दा धेरै बेंसीसहर, मध्यनेपाल र मस्र्याङ्दीका आठ÷आठ वटा सामूदायिक बनमा डढेलो लागेको हो । क्षेत्रफलका आधारमा सबैभन्दा धेरै बेसीशहर नगरपालिका अन्तर्गत आठवटा सामुदायिक बनको ३ सय ३ हेक्टर बन डढेलोले क्षति पु¥याएको छ ।
सो बाहेक मध्यनेपाल नगरपालिकामा ६३ दशमलव ५ हेक्टर बन डढेलोले खाएको छ भने राइनास–दूधपोखरी सव डिभिजन बन कार्यालय अन्तर्गत सातवटा सामुदायिक बनको ५० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । त्यस्तै दोर्दी गाउँपालिकाअन्तर्गत तिनवटा सामूदायिक बनको २९ हेक्टर, मस्र्याङ्दी गाउँपालिका अन्तर्गत आठवटा सामुदायिक वनको २२ हेक्टर र सुन्दरवजार नगरपालिकाअन्तर्गत तीनवटा सामूदायिक बनको १२ हेक्टर क्षेत्र डढेलोले क्षति पु¥याएको डिभिजन वन कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्