बल्ल सक्रिय हुँदै प्रि–मनसुन «

बल्ल सक्रिय हुँदै प्रि–मनसुन


बिहीबार देशभर भएको मौसम बदली र हल्का वर्षासँगै प्रि–मनसुन सक्रिय भएको छ । मनसुनको समय १ महिनाअघि देखि नै सुरु भए पनि प्रि–मनसुन सक्रिय नहुँदा राम्रोसँग वर्षा हुन सकेको थिएन ।
चैत महिनादेखि असार पहिलो सातासम्मको अवधिलाई प्रि–मनसुन मानिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि मुलुकभर मौसम बदली हुनुका साथै अधिकांश स्थानमा मेघ गर्जनसहित हावा हुरी चलेको छ । यो क्रम कम्तीमा पनि ३ दिनसम्म चल्ने महाशाखाको भनाइ छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण नेपालको सबै प्रदेशको पहाडी क्षेत्रमा वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बिहीवारदेखि पहाडी क्षेत्र तथा हिमाली र तराईका पनि अधिकांश स्थानमा हल्का र मध्यम वर्षा हुने भएसँगै प्रि–मनसुन सक्रिय हुँदै गएको बताए । “प्रि–मनसुनको अवधि त सुरु भइसकेको तर सक्रिय नहुँदा लामो समयसम्म पानी पर्न सकेन,” उनले भने, “तराई क्षेत्रमा भने सामान्य मौसम बदली देखिए र बिहीबार साँझदेखि पानी पर्न थालेको छ भने पहाडी क्षेत्रमा शनिवारसम्म नै पानी पर्न सक्छ । तराईमा भने मौसम बदली र सामान्य वर्षा भए पनि ठूलो पानी पर्दैन ।”
महाशाखाका अनुसार हिमाली क्षेत्रमा साताभरि आंशिकदेखि सामान्य बदली रही साताको मध्य र अन्ततिर केही स्थानहरुमा हल्का वर्षा÷हिमपातको सम्भावना देखिन्छ । पहाडी क्षेत्रमा भने साताभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ । तराईमा साताको शुरुमा आंशिक बदली रहने र मध्य तथा अन्त्यतिर आंशिक देखि सामान्य बदली रहि केही स्थानहरुमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ।
देशभर अधिकतम र न्यूनतम तापक्रममा वृद्धि भइरहेकोले गर्मी बढ्ने र त्यसबाट सृजना हुन सक्ने सम्भावित असरहरुबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्