कोभिड संक्रमण न्यूनीकरणका लागि भक्तपुर नगरपालिकास्तरीय सीएमसी बैठक
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्र (सीएमसी) को बैठक बुधबार नपाको सभाकक्षमा बस्यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले कोभिड–१९ संक्रमण न्यूनीकरण प्रयासको क्रममा नगरपालिकाको तर्फबाट सामान्य संक्रमितहरूका लागि ५० बेडको आइसोलेसन केन्द्र र जटिल बिरामीहरूको उपचारका लागि २५ बेडको एचडीयू सञ्चालनका लागि तयारी अवस्थामा रहेको जानकारी गराए ।उक्त बैठकले विश्वव्यापी रूपमा नयाँ भेरियन्टसहित कोभिड–१९ को महामारी फैलिरहेको संवेदनशील अवस्थामा कोभिड संक्रमण रोकथामको लागि नगरभित्र क्रियाशील राजनीतिक दलहरू, विभिन्न संघ–संस्था, व्यावसायिक तथा सामाजिक संगठनहरू, टिम÷क्लब, पुस्तकालय, सहकारी तथा वित्तीय संस्थालगायत सरोकारवाला सबैमा जनचेतनामूलक गतिविधि गरी सहयोग गर्न आह्वान गर्ने निर्णय ग¥यो ।
साथै नगरभित्र रहेका सबै पार्टी प्यालेसहरू, संग्रहालय, सिनेमा हल, प्रशिक्षण केन्द्रहरू, जिमखाना, मनोरञ्जन स्थलहरूलगायत बन्द गर्ने र कुनै पनि किसिमको भीडभाड हुने भोजभतेर, चाड, पर्व वा मेला नगर्न तथा विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर मात्र र यस्ता कार्यमा १५ जनाभन्दा बढी नहुने सहभागिता नहुने गरी कार्य सम्पन्न गर्न सम्पूर्ण नगरवासीहरूमा आग्रह गर्ने निर्णय पनि उक्त बैठकले ग¥यो ।
बैठकले कोभिड संक्रमणबाट जनतालाई सुरक्षित गर्न प्रत्येक नागरिक घरबाट बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन र सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्न माइकिङलगायत संचार माध्यमबाट सम्पूर्ण नागरिकहरूलाई आग्रह गर्ने निर्णय ग¥यो ।
कोभिड नियन्त्रण र रोकथामका लागि आवश्यक आर्थिक एवं भौतिक सहयोगको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा बागमती प्रदेश सरकारसँग माग गर्ने निर्णय बैठकले ग¥यो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित जनस्वास्थ्य केन्द्रबाट कोभिड–१९ विरुद्धको भेरोसेल खोप १७ हजार ७ सय ८ जनाले र कोभिसिल्ड दोस्रो डोज ७ सय १ जनालाई दिइसकेको बैठकमा जानकारी गराए ।
बैठकपश्चात भक्तपुर नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्रका पदाधिकारीहरूले भक्तपुर नपा–९ ब्रम्हायणीस्थित आइसोलेसन केन्द्र र एचडीयूको स्थलगत निरीक्षण पनि गरे ।