Logo

सांसद शाहीको पीसीआर रिपोर्ट छानबिन गर्न तीन दलको माग


गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीको पीसीआर रिपोर्टको छानबिन गरी प्रयोगशालाहरुको विश्वसनीयताको जाँच गर्न प्रदेश सभाका तीन दलले माग गरेका छन् ।
गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सांसद शाहीको पिसिआर रिपोर्टहरुको छानबिन गरी प्रयोगशालाहरुको विश्वसनीयताको जाँच गर्न माग गरेका हुन् ।
चरक अस्पतालको सिसिटिभी हार्डवेयरको जाँच गरी सम्पूर्ण फुटेजहरु सार्वजनिक गर्नुपर्ने र प्रदेश सभा सदस्यहरुलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानुनको कठघरामा ल्याई सभामुख र प्रदेश सभामा अविश्वास प्रस्तावका पक्षधर सांसदहरुको सुरक्षाको सुनिश्चितता गर्न तीन दलले माग गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यले संयुक्त रुपमा हस्ताक्षर गरिएको विज्ञप्तिमा उल्लेख छ । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री माथि अविश्वासको प्रस्ताव पेस हुने भएपछि विधेयक अधिवेशन हठात् अन्त्य गर्नु, कोरोना परीक्षणको माग उठाएर सत्तापक्षले असंसदीय तरिकाले सदन अवरुद्ध गर्नु र प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने दिन शृंखलाबद्ध घटनाक्रमले षड्यन्त्र भएको तीन दलले जनाएका छन् ।
लाइफकेयर डाइग्नोस्टिक प्रयोगशालामा २०७८ वैशाख १४ गते साँझ ४ बजे स्वाब दिएको भनेर रिपोर्ट आएको छ जबकि त्यही समय सांसद खिमविक्रम शाही प्रदेश सभा परिसर नदीपुरमा स्वाब दिइरहेको अवस्था भएको तीन दलले प्रश्न उठाएका छन् ।
पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार अन्तर्गत रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पिसिआर रिपोर्ट नेगेटिभ देखाउनु, तर करिब आधा घन्टाको फरकमा सार्वजनिक गरिएको रिपोर्टमा निजी ल्याबले पोजेटिभ देखाउनु अत्यन्त रहस्यमय र अस्वभाविक भएको तीन दलको दाबी छ ।
स्वास्थ्यजस्तो मर्यादित क्षेत्रमा पनि आपराधिक प्रवृत्ति मौलाएको सर्वत्र आशंका गरिएको र चरक मेमोरियल अस्पताल र त्यहाँका जिम्मेवार चिकित्सकको व्यवहार गैरजिम्मेवार एवं अविश्वसनीय रहेको कांग्रेस संसदीय दलका नेता नेपालीले जनाए । सांसद शाही भर्ना भएको भनिएको चरक अस्पताल परिसरमा ठूलो संख्यामा सादा पोसाकमा सुरक्षाकर्मी परिचालित गर्नुको कारण रहस्यमय रहेको, सरकारका जिम्मेवार व्यक्तिहरुले सभामुखप्रति गरेको दुव्र्यवहार र धम्कीपूर्ण अभिव्यक्ति निन्दनीय र भत्र्सना योग्य भएको तीन पार्टीले जनाएका छन् ।
यसैबीच, राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद खिमविक्रम शाहीले आफ्नो पार्टी प्रति प्रतिबद्ध रहेको प्रष्ट पारेका छन् । मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव माथि मतदान गर्ने दिन बुधबार सदनमा अनुपस्थित भएका सांसद शाहीले अस्पतालको वेडबाटै प्रेस विज्ञप्ति जारी गर्दै अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगरी दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्