Logo

मासु उत्पादन बढाउन कृषकलाई बाख्रा तथा बंगुर वितरण गरिने

घोराही उपमहानगरपालिकाले बाख्रा तथा बंगुरमा आत्मनिर्भर बनाउन कृषकहरूलाई बाख्रा र बंगुर वितरण गर्ने भएको छ ।
उपमहानगरपालिकाले संघीय सरकार तथा घोराही उपमहानगरपालिकाको सहयोगमा बाख्रा र बंगुर वितरण गर्न थालेको हो । यसमा कृषकको लागत सहभागिता समेत रहने भएको छ । जसले गर्दा कृषकको पनि अपनत्व हुने विश्वास उपमहानगरपालिकाले लिएको छ । बाख्रा, बोका तथा बंगुर वितरण गर्ने कार्यक्रम उपमहानगरपालिकाले पहिलो पटक सञ्चालन गर्न लागेकोे घोराही उपमहानगरपालिका पशु विकास शाखाका प्रमुख जीवराज पौडेलले जानकारी दिए । उपमहानगपालिकाले चालू आव ०७७/७८ बाट यस प्रकारको कार्यक्रम सुरु गर्दैछ । उपमहानगरपालिकाले यस प्रकारको सहयोग कृषक समूहलाई प्रदान गर्ने उनले बताए । “नगरको वडा नं १ मा रहेका ५ वटा कृषक समूहलाई बाख्रा तथा बोका वितरण गरिने छ,” पौडेलले भने । कृषकलाई बाख्रा वितरण गर्नका लागि अहिले घोराही उपमहानगरपालिकाले बाख्रा तथा बोका खरिदका लागि सार्वजनिक सूचना प्रकाशन गरेको छ । चालू आवमा कृषकलाई ५ वटा बोयर बोका र १ सय ७४ वटा बाख्रा वितरण गरिने भएको छ । “बाख्रा प्रवद्र्धन कार्यक्रमअन्तर्गत बाख्रा तथा बोयर बोका वितरण गर्न थालिएको हो,” पौडेलले भने । बाख्रा प्रवद्र्धन कार्यक्रमले घोराही उपमहानगरपालिकालाई खसी तथा बाख्राको मासुमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा लिएको छ । बाख्रा तथा खसीको मासुमा आत्मनिर्भर हुन नसक्दा अहिले बाहिरबाट ल्याउनु पर्ने बाध्यता छ । जसले गर्दा रकमसमेत बाहिर जाने गरेको छ । व्यावसायिक रूपमा बाख्रापालन भएमा धेरैले रोजगारसमेत पाउने छन् ।
बाख्रा तथा बोयर बोका खरिदका लागि घोराही उपमहानगरपालिकाले १९ लाख ९० हजारको ठेक्कासमेत आह्वान गरिसकेको छ भने कृषकको ३ लाख बढी रकम खर्च हुने उनको भनाइ छ । यसरी खरिद गरिने बाख्रा तथा बोका २० केजीभन्दा माथि ३५ केजी निरोगी हुनुपर्ने पशु विकास शाखाका प्रमुख पौडेल बताए ।

४८० वटा बंगुर वितरण गरिँदै
यसैगरी घोराही उपमहानगरपालिकाले बंगुर प्रवद्र्धन कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा ४ सय ८० वटा बंगुर वितरण गर्ने भएको छ । उप महानगरपालिकाका वडा नं २, ३, ४, १३, १६ र १७ नम्बर वडामा वितरण गरिने पशु विकास शाखाका प्रमुख पौडेलले जानकारी दिए । यसका लागि करिब २४ लाख खर्च हुने उनको भनाइ छ । यसमा कृषकको लागत पनि रहने छ । “उपमहानगपालिका र कृषकको लागत साझेदारीमा वितरण गरिने छ,” प्रमुख पौडेलले भने । अहिले कुखुराको मासु र अण्डामा घोराही उपमहानगरपालिका आत्मनिर्भर रहेको उपमहानगरपालिकाले जनाएको छ । अन्य क्षेत्रमा पनि आत्मनिर्भर बनाउन उपमहानगरपालिका लागिपरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्