Logo

स्थानीय तहसँग समझदारी पत्रमा हस्ताक्षर

ललितपुर-जिल्ला पुनर्निर्माण समन्वय समिति ललितपुरको सोमबार सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ । समितिले पुनर्निर्माणलाई समन्वय एवं सहजीकरण गर्न प्रत्येक स्थानीय तहमा पुनर्निर्माण समन्वय समिति गठन गरीप्रत्येक महिना आआफ्नो तहको पुनर्निर्माण सम्बन्धी गतिविधिको प्रगति पठाउन निर्देशन दिएको छ ।
पालिकास्तरका यस्ता समितिमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाका प्रमुख अध्यक्ष, उपप्रमुखहरु उपाध्यक्ष रहने छन् भने प्रमुख प्रशासकीय अधिकृतले सदस्य सचिवको भूमिका निर्वाह गर्नेछन् । समितिमा सम्बन्धित पालिकाका तीनजना वडाध्यक्ष, स्थानीय समाजसेवी दुई जना र पुनर्निर्माण हेर्ने इञ्जिनियर (फोकल पर्सन) सदस्य रहने छन् । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दल तथा अन्य व्यक्तिहरुलाई पनि आवश्यकता अनुसार बैठकमा आमन्त्रण गर्न सक्ने अधिकार दिइएको छ ।
बैठकले विभिन्न स्थानीय तहमा पहिलो किस्ता आवास अनुदान लिई घर नबनाएका लाभग्राहीको विवरण प्रत्येक स्थानीय तहले तयार गरी घर निर्माण नगर्नुको कारण पत्ता लगाई घर बनाउन लगाउने र झुठा विवरण दिई अनुदान लिएको भए फिर्ता गर्न लगाउने निर्णय पनि गरेको छ ।
समितिले जिल्लास्थित केही बंैकबाट समयमा भुक्तानी नभएकाले केन्द्रबाट वडासँग समन्वय गरी स्पष्ट निर्देशन दिन पुनर्निर्माण प्राधिकरणमा अनुरोध पनि गरेको छ ।
समितिको बैठकले पुनर्निर्माणलाई गति प्रदान गर्न स्थानीय तहसँग राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ । सोहीअनुसार ललितपुर जिल्लाका स्थानीय तहसँग समझदारी पत्रमा हस्ताक्षर पनि भएको छ ।
बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, संघीय संसद सदस्यहरु पम्फा भुसाल, कृष्ण लाल महर्जन र नवराज सिलवाल, प्रदेशसभा सदस्यहरु, स्थानीय तहका प्रमुख, उपप्रमुखहरु, प्राधिकरणका कार्यकारी सदस्य डा.चन्द्रबहादुर श्रेष्ठलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्