तामाकोशीको डिस्यान्डरमा पानी हालेर फर्किए दुई मन्त्री «

तामाकोशीको डिस्यान्डरमा पानी हालेर फर्किए दुई मन्त्री

बहुचर्चित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सुरुङमा पानी हाल्न हेलिकप्टरमार्फत आयोजनास्थल पुगेका दुई मन्त्री गत चैतमै परीक्षण गरिएको बाँध र बालुवा थिग्य्राउने पोखरी (डिस्यान्डर)मा पानी हालेर फर्किएका छन् ।
सुरुङमा पानी हाल्ने भनेर कार्यक्रम तय गरिए पनि अझै केही काम बाँकी रहेपछि यसका लागि बिहीबार आयोजनास्थल दोलखाको लामाबगर पुगेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ डिस्यान्डरमा स्वीच थिचेर पानी हाली फर्केका थिए । आयोजनाका अनुसार, गत चैतमा परीक्षण गरिएको डिस्यान्डरमा बिहीबारदेखि पानी भर्न सुरु गरिएको छ भने यो भरिन तीनदेखि चार दिन लाग्नेछ । डिस्यान्डर भरिएपछि मात्र सुरुङमा पानी हाल्न सुरु हुने आयोजनाले जनाएको छ ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना हालसम्मकै स्वदेशी लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो तथा राष्ट्रिय गौरवको आयोजना भएकाले यो आयोजनाप्रति चौतर्फी चासो रहेको छ । सुरुङमा पानी हालेर परीक्षण सुरु हुनुलाई आयोजनाको काम अन्तिम चरणमा पुगेको मानिने भएकोले यसलाई विशेष मानिन्छ । विशेष कार्यक्रममा दुई मन्त्रीसहित ऊर्जा जलस्रोत सचिव देवेन्द्र कार्की, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि लामा बगर पुगेका थिए । तर सुरुङमा पानी हाल्नुको सट्टा डिस्यान्डरमा पानी हालेर फर्कनु परेको हो । कोरोनाको कारण निशेधाज्ञा जारी गरेर भयावह अवस्था भए पनि सुरुङ परीक्षणको लागि पुगेका मन्त्री नेम्वाङले भने प्रधानमन्त्रीले उद्घाटन गर्ने भएकोले यसको अनुगमन गर्न आएको बताएका थिए । कोरोनाको भयावह अवस्थाको बेला यसको रोकथाम र उपचारको बारेमा वेवास्ता गरी हेलिकप्टरमा तामाकोशी आउनु गलत भएको भन्दै बिहीबार नै नेपाली कांग्रेस दोलखाले विरोध जनाएको पनि थियो । सुरुङमा पानी पठाएपछि मुख्य सुरुङ र पेनस्टक पाइपको प्राविधिक परीक्षण हुने छ । प्राविधिक परीक्षणका क्रममा कुनै जटिल समस्या नआए सुरुङमा पानी हालेको १० देखि १२ दिनमा पूरा हुने आयोजना प्रमुख दिनेशजंग राणाले बताए ।

यसअघि वैशाख ३१ गतेसम्म आयोजनाको एउटा युनिट सञ्चालनको तयारी भइरहेको आयोजनाले जनाउँदै आएको थियो । तर कुनै प्राविधिक समस्या नआएमा सुरुङको परीक्षण सकेर एक युनिटबाट उत्पादन भने जेठको दोस्रो साताबाट हुने देखिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठका अनुसार, परीक्षण सफल भएमा जेठ १५ गतेसम्ममा पहिलो युनिटबाट बिजुली उत्पादन हुनेछ ।
आयोजनाका अनुसार, माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बीच भागमा राखिएको पेनस्टक पाइप जडान करिब पूरा भएको छ । मुख्य निर्माणअन्तर्गत बाँध र इन्टेक, मुख्य सुरुङ, विद्युत्गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको काम सकिएको छ । जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।
आयोजनाको ८ किलोमिटर मुख्य सुरुङ र ३७२ मिटर र ३१० मिटरका २ वटा ठाडो पेनस्टक पाइपको सुरुङ छन् । ठाडो पेनस्टक पाइप जडान भएको बीचमा २ सय मिटर र मुख्य सुरुङमा समेत ठाडो सुरुङसँग जोडिएको ठाउँमा पेनस्टक पाइप नै रहेको छ । सुरुङ र पेनस्टक पाइपमा चुहावटका कुनै प्राविधिक समस्या देखिए पुर्न पानी खाली गराएर मर्मत गर्नुपर्दा लक्षित मितिमा विद्युत् उत्पादन नहुन पनि सक्छ । आयोजना सम्बन्ध अधिकारीहरु भने प्राविधिक गुणस्तरमा अन्तर्राष्ट्रिय परामर्शतादा र आयोजना व्यवस्थापन पक्षबाट समेत निरन्तर अनुगमन भएकाले समस्या नआउनेमा आफूहरु विश्वस्त रहेको बताउँछन् ।
आयोजनाको पेनस्टक पाइप र विद्युत् गृहमा जडान भएका मेसिनहरुको यसअघि नै सुख्खा परीक्षण सफल भइसकेको छ । विद्युत् गृहको भने डेढ वर्ष अघि नै पूरा भएकाले नियमित तताउने र मर्मत संभार जारी छ । आयोजनाको बाँध एक वर्ष अघि र बालुवा थिग्राउने पाखेरी एक महिना अघि परीक्षण पूरा भइसकेको छ ।
आयोजना पूरा भएपछि २२ मेगावाटको रोल्वालिङ डाइभर्सनबाट अर्को आयोजना निर्माण गर्ने गरी आयोजनाले तयारी थालेको छ । यो आयोजना पूरा हुनेबित्तिकै वित्तीय व्यवस्थापन गरेर रोल्वालिङ सुरु हुने आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
आयोजनामा ७६÷७६ मेगावाटका ६ वटा युनिट छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमशः विद्युत् उत्पादन हुनेछ । २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढी पहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकलको ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।
आयोजना निर्माणमा ढिलाइ भएपछि प्रधानमन्त्री स्तरबाटै छिटो उद्घाटनका लागि केही महिनादेखि लगातार दबाब दिएपछि अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ, आयोजना प्रमुख राणा लगायतका वैशाख लागेदेखि आयोजनाका उच्च तहका अधिकारीहरु लगातार आयोजना स्थलमै खटिँदै आएका छन् । आयोजनाको काम ढिला भएकोमा प्रधानमन्त्री तहबाटै चर्को दबाब आउन थालेपछि नेपाल विद्युत् प्राधिकरण र ओजना व्यवस्थापन अपर तामाकोसी हाइड्रोपावर कम्पनीले फाष्ट ट्रयाक विधिबाट प्राविधिक परीक्षण र विद्युत् उत्पादन अघि बढाएको छ ।
आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ । आयोजना बनाउन निर्माण अवधिको ब्याज बाहेक ५३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । डलरको मूल्य वृद्धि, लम्बिएको समयको प्रशासनिक खर्च र ब्याजसमेत पुँजीकरण गर्दा आयोजना बनाउन कुल लागत ८० अर्ब रुपैयाँ पुग्ने सम्भावना छ ।
लामाबगर सुरुङमार्ग माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयको दायाँतर्फ पर्छ । कठिन भीर भएकाले आयोजनाले नै ७ वर्ष अघि सुरुङमार्गको परिकल्पना गरेर डिजाइन तयार गरेको थियो । सुरुङमार्ग तयार भएपछि सबैभन्दा छोटो चीन–नेपाल र भारत जोड्ने त्रिदेशीय राजमार्ग तयार हुने छ । भारतीय सिमानादेखि लामाबगरसम्मको सडक तयार भए पनि थप १३ किलोमिटर सडक निर्माण गर्दा चीनको सिमाना पुगिन्छ । त्रिदेशीय सडकको दुरी २५० किलोमिटर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्